लोकसेवा आयोग पदाधिकारीविहीन, सचिव बढुवा अवरुद्ध – Nepal Press

लोकसेवा आयोग पदाधिकारीविहीन, सचिव बढुवा अवरुद्ध

काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन हुँदा सचिव बढुवा रोकिएको छ । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा ७० जनाको दरबन्दी छ ।

कुनै एक पद मात्र रिक्त हुने बित्तिकै सरकारले रिक्त रहेको पदमा सहसचिवबाट बढुवा गरेर पदपूर्ती गर्दै आएको छ । तर अहिले भने विशिष्ट श्रेणीमा दुई पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।

२०७७ चैत १० गते लोक सेवा आयोगका सबै पदाधिकारीले अवकाश पाएका थिए । यसबीचमा दुई सचिवले अनिवार्य अवकाश पाएका छन् ।

चैत २ गते गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाए । त्यतिबेला आयोगका तत्कालीन आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिले ३ जना सहसचिवको नाम सिफारिस गरेपछि सरकिारले डा.मुकुन्द प्रसाद पौड्याललाई सचिवमा बढुवा गर्यो ।

उनी बढुवा हुने बित्तिकै सबैले उनलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्छ भन्ने अनुमान गरेका थिए, तर त्यसो भएन । सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवमा हाजिर गरायो ।

चैत्र १२ गतेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई बढुवा गरे पनि पदस्थापन भने करिव एक महिना पुग्न लाग्दा मात्रै भएको छ, बागमती प्रदेशमा ।

वैशाख ६ गते बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बिकले अनिवार्य अवकाश पाएपछि उनको ठाउँमा पौड्यालको पदस्थापन भएको हो ।

अहिले गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम बैठक तथा प्रशासन महाशाखा प्रमुख रामचन्द्र ढकालले प्रमुख सचिवको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव विकले अनिवार्य अवकाश पाएको दोस्रो दिन वैशाख ७ गते वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले पनि अनिवार्य अवकाश पाएका छन् । उनको ठाउँमा कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कडेललाई सरुवा गरेर ल्याएको छ ।

वैैशाख २४ गते उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सिंचाई सचिव मधुसुधन अधिकारीले अनिवार्य अवकाश पाउदैँछन् । उनले अवकाश पाएपछि ३ जना सचिवको पद रिक्त हुनेछ ।

आयोग पदाधिकारीविहीन हुँदा सचिव बढुवा मात्र नभइ सबै काम प्रभावित भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सचिव बढुवासँगै सहसचिव तथा उपसविचको पीक्षा सञ्चालनदेखि तल्लो तहमा कर्मचारी भर्नाका लागि परिक्षाको अन्तिम नजिता निकाल्ने काम पनि प्रभावित भएको उनले बताए ।

‘बढुवा गर्ने मात्र होइन, लिखित परीक्षा सञ्चालन, विज्ञापन निकाल्ने कामसमेत पदाधिकारीविना आयोगले गर्न सक्दैन । त्यसैले सबै काम प्रभावित भएको छ’, उनले भने ।

लोक सेवा आयोगका अध्यक्ष एवम अध्यक्षले तोकेको सदस्य बढुवा समितिको संयोजक रहने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको बढुवा शाखा पनि अहिले कामविहीन भएको छ ।

बढुवा शाखाका उपसचिव पर्वप्रसाद सापकोटाले भने, ‘हाम्रो शाखा त बढुवा समितिको सचिवालय मात्रै हो । समिति नै नभएको बेला सचिवालयले केही पनि काम र निर्णय गर्न सक्दैन । त्यसैले जब समिति सक्रिय हुन्छ, त्यसपछि हाम्रो शाखा पनि सक्रिय हुन्छ ।’

मन्त्रालयका सहसचिव एवम प्रशासन महाशाखा प्रमुख राजिव पोखरेलका अनुसार २ सचिवको पद रिक्त भए पनि बढुवामा कसको नाम सिफारिस हुने भन्नेबारे तय भइसकेको छैन । तर यस अघि डा. मुकुन्द पौडेल सचिवमा बढुवा हुँदा बढुवा समितिले स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मी र उद्योग, बाणिज्य तथा आपूर्तिी मन्त्रालयका सहसविच गणेशप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।

एक सचिवको पदमा बढुवा गर्दा ३ जना सहसचिवको नाम सिफारिस हुने गरेको छ । अब सचिवको बढुवा हुँदा रेग्मी र पाण्डेको नाम त सिफारिस हुन्छ नै, थप एक जना कुन सहसचिवको नाम सिफारिस हुने हो भन्ने बारेमा तय भएको छैन ।

सहसचिव रेग्मी र पाण्डेको यसअघि नै सचिवमा बढुवाका लागि नाम सिफारिस भइसकेको थियो ।

लोक सेवा आयोगको अध्यक्षबाट भर्खरै अवकाश पाएका उमेश मैनाली जतीसक्दो चाँडो सरकारले आयोगमा पदाधिकारी नियुक्त गर्नुपर्ने बताउँछन् । यसअघि आफ्नो पाला भन्दा अघिल्लो पदाधिकारीको टिम आउँदा ११ महिनामसम्म आयोग पदाधिकारीविहीन भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर