यमलाल कँडेलको आरोप : फ्लोर क्रस गर्नेहरु राजनीतिक अपराधी र भगौडा हुन् – Nepal Press

यमलाल कँडेलको आरोप : फ्लोर क्रस गर्नेहरु राजनीतिक अपराधी र भगौडा हुन्

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै यस्ता प्रवृतिले व्यवस्थाप्रति प्रश्न उठेको बताएका छन् ।

सोमवार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले कर्णालीमा फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए ।

कँडेलले भने- ‘त्यो काम राजनीतिक अपराध हो । भगौडा जस्तो भागेर जाने कुरा कसैका निम्ति रमाइलो होला । त्यसले यो व्यवस्थाप्रति नै जनताप्रति नकारात्मक धारणा बनाउन सहयोग गरेको छ । राजनीतिक निर्णय गरेर जानुको साटो राजनीतिक अपराध गरेर भागेका एमालेका भगौडालाई पुरस्कार दिने सरकार पनि कर्णालीमा देखिएको छ ।

कँडेलले भगौडालाई लिएर हिडयेको सरकारले केही पनि गर्न नसक्ने बताए । उनले भगौडाका कमाण्डरलाई केहि भन्न नचाहने बताए । कँडेलले भगौडा र राजनीतिक अपराधी भनेका चारैजना एमाले सांसदको पद रिक्त भइसकेको छ ।

प्रदेशसभामा सम्बोधन गर्दै माओवादीका कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सरकार बनाउन मात्रै हतार गरिएको भन्दै काम गर्न हतारो गर्न सरकारलाई सुझाव दिए ।

दलको संयन्त्र बनाउन माग

कांग्रेस नेता तथा प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले प्रदेश सभामा रहेका दलहरुबाट एक एक जना प्रतिनिधि छानेर कोरोनाको अनुगमन गर्ने व्यवस्था मिलाउन सभामुखसँग आग्रह गरेका छन् ।

‘अहिले कोरोनाले समस्या ल्याएको छ । यसलाई समाधानका लागि सरकार जिम्मेवार बनोस ।’ उनले भने, ‘अनुगमन गर्नका लागि एक संयन्त्र निर्माण गरियोस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर