कोरोना अस्पताललाई प्रदेश सरकारले बजेट दिँदै – Nepal Press

कोरोना अस्पताललाई प्रदेश सरकारले बजेट दिँदै

अक्सिजन र बेड व्यवस्थापन गर्न एक करोड ७५ लाख उपलब्ध गराउने

रुपन्देही । कोरोना विशेष अस्पतालमा अक्सिजनसहितको बेड व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताललाई तत्काल एक करोड ७५ लाख रकम उपलब्ध गराउने भएको छ ।

रुपन्देहीको बुटवलस्थित लुम्बिनी कोरोना विशेष अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङ र बाँकेमा रहेका कोरोना विशेष अस्पतालका लागि आवश्यक अक्सिजन बेड व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैंया र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउन लागिएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको कोरोना रोकथाम, उपचार तथा निर्देशन समितिको बैठकले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको बेड व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो ।

बैठकले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको सल्लाहकार केसीले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *