नाकामा भारतबाट फर्कनेको लर्को, १२ हजार बढी परीक्षणबिनै घर पुगे (भिडियोसहित) – Nepal Press
नाकामा भारतबाट फर्कनेको लर्को, १२ हजार बढी परीक्षणबिनै घर पुगे (भिडियोसहित)
भानुभक्त आचार्य २०७८ वैशाख १३ गते १५:३०
२०७८ वैशाख १३ गते १५:३०

कैलाली । दुई महिनाअघि भारत गएकी कैलाली गोदावरीका तेज महरा सोमबार नेपाल फर्किए । रोजगारीका लागि भारतको बेङ्लोर गएका उनी कोरोना महामारी बढेपछि दुई महिनामै स्वदेश फर्किएका हुन् ।

‘उता महामारीले लैजाने डर भयो’, उनी भन्छन्, ‘विदेशमा खानै नपाइ मर्नु भन्दा स्वादेश आउनु ठीक लाग्यो ।’

आफू बसेको इलाकामै कयौंमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वदेश आउने निष्कर्षमा पुगेका हुन् ।

दिल्लीबाट आएका लम्की चुहाका दीपक शर्मालाई पनि घर पुग्न हतारो छ । रोजगारीका लागि सात महिनाअघि दिल्ली गएका शर्मा आफूसँगै काम गर्नेलाई पनि कोरोना पुष्टि भएपछि स्वदेश आएका हुन् । ‘सँगै काम गर्ने सबै बिरामी भएपछि घर फर्किएको हुँ’, उनले भने ‘१२ वर्षकी छोरीले फोन गरेर बुवा छिटो आउनु घर, त्या धेरै डर छ भनेपछि रातारात नेपाल फर्किएँ’

भिडियो

लम्की चुहाका धनराज न्यौपाने पनि सोमबार दिल्लीमा घर फर्किए । कोरोको अघिल्ला लहरका बेला दिल्लीमै बसेका उनी यसपटक ज्यान जोगाउन भन्दै नेपाल आएका छन् । ‘उता पहिलाको भन्दा त्रास झन् बढेको छ । ज्यान जोगाउन भए पनि नेपाल आउनै पर्यो’, उनले भने ।

यी त केही पात्रा मात्रै हुन् । भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि कञ्चनपुरको गौरिफन्टा नाकाहुँदै दैनिक हजार बढी नेपाली घर फर्किरहेका छन् । उनीहरूमध्ये अधिकांशले भारतमा असुरक्षा भएको भन्दै घर फर्किएको बताएका छन् ।

दार्चुलाकी बाग्मती ठगुन्ना पनि घर पुग्नै लाग्दा निकै खुसी देखिन्थिन् ।‘म धेरै खुसी छु । यहाँ सम्म पुगियो’ उनले संक्षिप्त जवाफ दिइन् ।

कञ्चनपुरका मानबहादुर बुढा भारतको हरीयानामा बस्छन् । त्यहाँ अत्यधिक कोरोना संक्रमण फैलिएपछि उनी घर फर्किएका हुन् । कयौँ सङ्क्रमितहरू अस्पतालमा भर्ना भएको र कयौँ अझै भर्ना हुन नपाएको दृश्य उनको आँखामा घुमिरहन्छ ।

‘अस्पतालमा भिडभाड छ । कयौँ भर्ना भएका छन् । कति अझै भर्ना हुन पाएका छैनन् । पिसिआर चेक गर्न पनि धेरै समय लाग्छ’ उनले भने ‘भारतमा धेरै समस्या भइरहेको छ ।’

सङ्कट छल्न र रोजगारी गुमाएर फर्किएका नेपालीहरूको स्वास्थ्य परीक्षणका लागि दिनेश ठकुल्ला, गणेश साउद लगायतका १५ जना स्वास्थ्यकर्मी त्रिनगर नाकामा महिना दिन देखि खटिएका छन् ।

उनीहरू दैनिक रूपमा भरतबाट फर्किनेहरूको सङ्ख्या बढीरहेको बताउँछन् । भारतमा सँगै रहेकाहरुमा पनि संक्रमण देखिन थालेपछि स्वदेश आएको उनीहरुको भनाइ छ ।

‘दिनप्रति दिन भारतबाट नेपाल आउनेको संख्या बढ्दो क्रममा छ’ गौरीफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मी भन्छन्, ‘कोरोना पोजेटिभ भएकाहरु पनि स्वदेश फर्किरहेका छन् ।’

‘विगतका भारतको उच्च जोखिमका क्षेत्रहरूबाट आएकामा मात्रै संक्रमण पुष्टि हुन्थ्यो । तर, अहिले सबै क्षेत्रबाट आएकाहरूमा संक्रमण पुष्टि भइरहेको छ’ उनी भन्छन् ‘महामारी आउँदै छ, होइन भित्रिसकेको छ ।’

संक्रमित बढेको बढ्यै

चैत्र ३ गतेबाट गौरिफन्टा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको थियो । हालसम्म उक्त नाकाबाट नेपाल भित्रिएका एक हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार ४० दिनमा एक हजार २०९ संक्रमित भारतबाट नेपाल भित्रिएका छन् ।

१४ हजार १ सय ५२ जनामा गरिएको परीक्षणमा १ हजार ३०१ संक्रमित भएको ठकुल्लाले बताए । पछिल्लो केही दिनयता भारतबाट आउनेहरूमा अझै बढी संक्रमित फेला पर्न थालेको उनी बताउँछन् ।

सोमबार दिउँसो २ बजेसम्म ६२८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट भित्रिएका सबैको कोरोना परीक्षण हुन सकेको छैन ।

४० दिनमा गौरीफन्टा नाकाहुँदै २६ हजार ३०५ जना नेपाली भित्रिएका छन् । तीमध्ये १४ हजार १ सय ५२ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।