मनमोहनलाई सम्झदै मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसको अविश्वास प्रस्ताव – Nepal Press
गण्डकी प्रदेश

मनमोहनलाई सम्झदै मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसको अविश्वास प्रस्ताव

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ ।

अविश्वास प्रस्तावका प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्ताव टेबल गरेका हुन् । प्रस्ताव टेबल गर्ने क्रममा पोखरेलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई स्मरण गरेका थिए ।

‘नेपालको लोकतान्त्रिक र वाम आन्दोलनका हस्ती, प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवस हो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु’, आफ्नो मन्तव्यको शुरूमै पोखरेलले भने ।

संविधानको मान्यता जननिर्वाचित संसद र सरकार दुवै ५ वर्ष चल्नुपर्छ भन्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रयास गरेर संवैधानिक मान्यता उल्लघंन गरेको आरोप लगाउँदै नेपालीले त्यसकै प्रतिक्रिया प्रदेश सरकारमा देखिएको बताए ।

‘संविधान उल्लघंन गर्ने संघीय सरकारको मतियार गण्डकी प्रदेश सरकार बन्यो । यो गण्डकीका जनताको भावना विपरीत छ । त्यसैले हामीले अविश्वास प्रस्ताव ल्याएका हौं’, उनले भने ।

प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका नेपालीले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएपछि विश्वासको मत लिनुपर्नेमा अनावश्यक चलखेल गरेको आरोप लगाए ।

‘दल विभाजन हुँदा विश्वासको मत लिनुभएन । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिदा पनि मुख्यमन्त्रीजी सत्तामा टाँस्सिन खोज्नुभयो । त्यसैले उहाँको विकल्प खोजेका छौं’, नेपालीले भने ।

प्रदेशसभाको हिउँदे अधिवेशन हठात् रूपमा अन्त्य गरेर मुख्यमन्त्री गुरुङले अराजनीतिक कदम चालेको आरोपसमेत नेपालीले लगाए ।

सरकारमा संसद र जनतालाई छल्ने प्रवृत्ति देखिएकोले अविश्वास प्रस्ताव ल्याउनुपरेको नेपालीको भनाइ थियो । सरकारले यो अवधिमा योजना घोषणा गर्ने तर काम गर्न नसक्ने अवस्था देखिएको नेपालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर