नागरिकको रक्षा नै सरकारको पहिलो प्राथमिकता :अर्थमन्त्री पौडेल – Nepal Press

नागरिकको रक्षा नै सरकारको पहिलो प्राथमिकता :अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।
सोमबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताएका हुन् ।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताए ।

उनले भने,‘कोभिडको दोस्रो लहर दुनियाकै सामुन्नेमा चुनौतिको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ । हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको÷सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई परानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही नगर्न समेत आग्रह गरे । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए । संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको बताए ।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्र्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर