कर्णालीमा सम्भावना खोज्दै ‘गरिखाने अभियान’ – Nepal Press

कर्णालीमा सम्भावना खोज्दै ‘गरिखाने अभियान’

काठमाडौं। नेपाली कांग्रेसको लगानी, पूर्वाधार तथा रोजगार सम्वन्धि दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले कर्णाली प्रदेशसँग भर्चुअल अन्तर्क्रिया गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले देशमै उद्यमशीलता विकास गरेर युवा विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा कुरामा जोड दिए । उनले कर्णाली प्रदेशमा उद्यमशीलता विकासका लागि अन्य प्रदेशको भन्दा फरक विधि र व्यवहार अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

उनले कर्णालीमा जडिबुटी, उच्च मूल्यका फलफूल तथा अर्ग्यानिक उत्पादनको सम्भावना रहेको चर्चा गर्दै कर्णालीमा अपार पर्यटकीय सम्भावना रहेको बताए। ‘स्वदेशी पर्यटक रारा पुर्‍याएरमात्र यहाँको पर्यटकीय सम्भावनाको विकास हुँदैन, विदेशी पर्यटक पनि ल्याउनुपर्छ’, उनले भने ‘भौतिक पूर्वाधारको न्यूनता र भौगोलिक जटिलता कारण कर्णालीले विकासको समानुपातिक लाभ हासिल गर्न पाएको छैन ।’

समितिका संयोजक एवं सांसद विनोद चौधरीले कर्णाली प्रदेशको भौतिक कनेक्टिभिटीका हिसाबले पछि परेपनि राष्ट्रिय विकासको मूलप्रवाहीकरणमा समावेश गर्न यहाँका अपार सम्भावनाहरूको परिचालन गर्नुपर्नेमा जोड दिए ।

२०७७ जेठ ४ मा समिति स्थापना भएपछि उद्यमशीलता विकासका लागि इकोसिस्टम निर्माण गर्ने संयन्त्र तयार गरी प्रदेश १ र २ तथा वागमती र गण्डकी प्रदेशमा ८०० भन्दा बढी परियोजनाले कर्जा सुविधा प्राप्त गर्न आवेदन दिएकोमा १०० जनाले बैंकबाट सहुलियत कर्जा प्राप्त गर्ने क्रममा छन् ।

साझेदार संस्थाहरूले जिल्ला-जिल्लामा उद्योग, व्यवसाय गर्ने आकांक्षीहरूको पहिचान, परियोजना निर्माणदेखि उद्यमशीलताको सम्पूर्ण चक्रमा ह्याण्डहोल्डिङ गरिरहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले कर्णाली प्रदेश हरेक आर्थिक, राजनीतिक लगायत हरेक पहुँचका हिसाबले कर्णाली पछाडि परेको हुँदा उद्यमशीलता विकासका कार्यक्रममा कर्णालीलाई फरक व्यवहार गर्नुपर्ने बताए ।

सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले गरिखाने अभियानको महत्व र यसले सिर्जना गर्ने रूपान्तरणका गर्ने बताएका थिए ।

कार्यक्रममा समितिका सहसंयोजकहरू इन्द्र बानियाँ र उमेश श्रेष्ठले गरिखाने अभियानले मुलुकमा उद्यमशीलता विकास गरी उत्पादन र रोजगारीका क्षेत्रमा ठूलो रूपान्तरण ल्याउने भन्दै यसलाई नेपाली कांग्रेसका हरेक संयन्त्रले राष्ट्रिय एजेण्डा निर्माण गरी देशव्यापी रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर