गम्भीर प्रकृतिका संक्रमित बढेको बढ्यै, अस्पतालमा अक्सिजन र बेड अभाव – Nepal Press
झन् भयाबह बन्दै बाँके

गम्भीर प्रकृतिका संक्रमित बढेको बढ्यै, अस्पतालमा अक्सिजन र बेड अभाव

९० प्रतिशत चिकित्सक संक्रमित भएपछि अस्पताल बन्द

रुपन्देही । कोरोनाको हटस्पट बनेको बाँकेको स्थिति झन्पछि झन् भयाबह बन्दैछ । सोमबार बिहानसम्म बाँकेमा सक्रिय संक्रमितको सङ्ख्या २४०८ पुगेको छ । संक्रमितमध्ये अधिकांशको स्थिति गम्भीर प्रकारको छ ।

बाँकेमा कोरोना संक्रमणबाट जिल्लाभित्रका ८६ र बाहिरका १०४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ । जसमध्ये सबैभन्दा धेरै नेपालगन्जमा १४३१ सक्रिय संक्रमित छन् भने ४५ जनाको मृत्यु भइसकेको छ ।

स्थिति झन्पछि झन् जटिल भएपछि स्वास्थ्यकर्मी पनि आत्तिन थालेका छन् । उनीहरुले जिल्लामा अक्सिजनसहित अस्पतालमा बेड थप्न सरकारसँग माग गरेका छन् ।

उपचार गराइरहेका भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज संक्रमितले भरिएका छन् । संक्रमित बढ्दै जाँदा अक्सिजन र बेडको अभाव हु्न थालेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । ‘अस्पताल भरिएको छ, बिरामी कहाँ राखौं भनेर फोन आइरहेका छन्, हामीलाई तत्काल अक्सिजनसहितको बेड व्यवस्थान आवश्यक छ,’ उनले भने ।
वलीले सबै पालिकास्तरमा गम्भीर खालका बिरामी बढ्दै गएकाले अक्सिजनसहितको बेड आवश्यक भएको बताए ।

‘प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको छ तर आश्वासन मात्र भएर पुगेन जतिसक्दो छिटो व्यवस्थान गर्नुपर्यो’, वलीले भने ।

अहिले बाँकेमा तत्कालको अवस्थामा ५ सयदेखि १ हजार बेडको अक्सिनसहितको अस्थायी अस्पताल आवश्यक रहेको वलीले बताए ।

भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले अस्पतालमा सबै बेड भरिएर बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपरेको बताए ।

‘जनशक्तिको पनि अभाव भयो, हामीले यो अवस्थाको जानकारी पहिले नै संकेत गरेका थियौं तर समयमै सम्बोधन हुन सकेन, अहिले भयावह आयो’, उनले भने, ‘दुई सय बेड भएको अस्पतालमा दोब्बर संख्यामा बिरामीको उपचार गर्नुपरेको छ, कसरी बिरामीलाई हेर्न सकिन्छ ? जनशक्तिको उस्तै अभाव छ, जतिसक्यो छिटो अक्सिजनसहितको बेड र जनशक्ति थप गर्नुपर्यो, हाम्रो अनुरोध हो हामीले सकेजति त गरेकै छौं तर अवस्था धेरै भयावह भएको छ’, डा थापाले भने ।

आवश्यक बजेट पठायौं, जनशक्तिको पहल भएको छ: प्रदेश सरकार

लुम्बिनी प्रदेशकास्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीले बाँकेको भयावह स्थितिलाई ध्यान दिँदै आवश्यक बजेट विनियोजन गरी पठाएको बताए । उनले आवश्यक जनशक्तिको व्यवस्थापनका लागि केन्द्रसँग समन्यव गरिसकेको बताए ।
‘कोभिड विशेष अस्पतालले मात्र धान्नसक्ने अवस्था आएन, सबै मेडिकल कलेजलाई व्यवस्थापनका लागि आग्रह गरिसकेका छौं, निजी मेडिकल कलेजले कति प्रतिशत बिरामी राख्नसक्ने भनेर सोधेका छौं छिटै नै यसको व्यस्थापनका लागि अगाडि बढ्छौं’, मन्त्री गिरीले भने । उनले सीमा क्षेत्रमा होल्डिङ सेन्टर राखेर भारतबाट आउने सबै नेपालीलाई सम्बन्धित पालिकामा लैजाने व्यवस्था मिलाएको जानकारी दिए ।

९० प्रतिशत चिकित्सक संक्रमित भएपछि अस्पताल बन्द 

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको उपचार सेवा बन्द एक हप्ताको लागि बन्द गरिएको छ ।
अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गर्दा ९० प्रतिशतमा संक्रमण पुष्टि भएसंगै उपचार सेवा बन्द गरिएको हो ।

कर्मचारी तथा चिकित्सकमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा एक साताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुनेछन् । कोरोना संक्रमित बढेसँगै बाँकेलगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको नेपालगन्ज उपमहानरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले बताए ।

उनले जनशक्ति र बेड अभाव भएको जानकारी प्रदेश र केन्द्रलाई दिए पनि सम्बोधन नभएको बताए । उनले बाँकेको आवाज छिटो सम्बोधन गर्न आग्रह गरे ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ । कोहलपुर नगरपालिकाले आइतबार राति १२ बजेदेखि वैशाख १९ गते मध्यरातिसम्म लकडाउन गरिएकोछ ।

यसैबीच, एकैदिन बाँकेमा ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा २ सय ८८ जनाको जाँच गर्दा २ सय ४ जना, मेडिकल कलेजमा १ सय ५८ जनाको जाँच गर्दा १ सय १८ जना, बागेश्वरी ल्याबमा एक सय ४० जनाको जाँच गर्दा ९३ जना र भारतबाट आएका ६९ जनालाई नाकामा जाँच गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो ।

खजुरामा अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा

बाँकेको खजुरा गाउँपालिकाले अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा ल्याएको जनाएको छ । ‘अक्सिजनसहितको वेडको व्यवस्थापन गरी संचालनमा ल्याएका छौं,’ खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आइतबारदेखि नै सुविधासहितको आइसोलेसन सञ्चालनमा ल्याइएको जानकारी दिंदै भने, ‘सुरुमा ४० बेड जनक शिक्षामा र वडा नं. १ मा १० बेड संचालनमा ल्याउने र त्यसलाई आवश्यकता अनुसार बढाएर लिने लक्ष्य छ ।’

खजुरामा रहेको जनक शिक्षा सामग्रीको भवनमा तयार गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख ओम रानालगयत सुरक्षा अधिकारीले आइतवार नै अवलोकन गरेका छन् ।

त्यस्तै, खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको छ । आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको निगरानी रहने उक्त आइसोलेसन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार अवलोकनपछि शुभारम्भ भएको बताएका छन् ।

‘अक्सिजन अभाव छैन’

अक्सिजन अभाव भैरहेको भन्ने खबर सार्वजनिक भैरहेका बेला वास्तविकता बुझ्न बाँके परसपुरमा रहेको र नेपालकै ठूलो मध्यको एक एच. ओ. अक्सिजन इन्डष्ट्रिजको अनुगमन गरिएको छ ।

अनुगमनकर्ता अधिवक्ता बसन्त गौतमले उद्योगका म्यानेजर दिपक केसीलाई उदृत गरी दिएको जानकारीअनुसार बजारमा हल्ला भए जस्तो उद्योगमा अक्सिजनकोको कमी छैन ।

नियमित बिद्युत् आपूर्ती भइरहे अक्सिजनको अभाव नहुने उनले बताए ।

संक्रमितलाई बाहिरै राखेर उपचार

अहिले बाँकेका सबै अस्पताल भरिएका छन् । गम्भीर प्रकृतिका बिरामी बढिरहेका छन् ।

नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ छ । भेरी अस्पतालमा अहिले एउटा बेड पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।

अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारको लागि तयार गरेको कोभिड वार्डका सबै १४२ बेड भरिएको थापाले बताए । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकोले आउँदा दिनहरु अझै भयावह हुने सम्भावना बढेकाले स्वास्थ्यकर्मी थप चिन्तित छन् ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका विरामीले भरीभराउ भएको र अक्सिजनको मात्रा कम भएका विरामीलाई घर पठाउनुपर्ने बाध्यता आइसकेको बताए । उनले संक्रमण रोकथाम र संक्रमित गम्भीर प्रकृतिका विरामीलाई उपचार व्यवस्था मिलाउन सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा.आसिम किदवाईले अस्पतालमा बेड अभाव भएकोले विरामीलाई भर्ना गर्न नसकिने अवस्था रहेको बताए ।

शिक्षण अस्पतालमा गम्भीर प्रकृतिका बिरामीले आइसियु पर्खेर बसेको बताउँदै संक्रमित विरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर जान लागेको बताए ।

भेरी अस्पतालका फिजिसियन डा.खगेन्द्रजंग शाहले अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरु बढी रहेको बताए । उनले परिवारका एक सदस्यलाई संक्रमण पुष्टि भए प्राय सबैमा संक्रमण देखिएको बताए ।

कोरोना संक्रमित बिरामीहरुको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरु स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित बन्न थालेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सबै पालिकाको समन्वयमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन समन्वय गरिरहेको बताए ।

‘यो महामारीको कसैले कल्पना गरेको थिएन, अब सबैको समन्वयमा लड्ने हो’, उनले भने, ‘सबै पालिकामा रहेका आइसोलेसन सेन्टरमा बिरामीको उपचार गर्ने, अक्सिजनसहितको बेड र जनशक्ति थपका लागि प्रदेश तथा केन्द्रसँग पहल गर्ने काम भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *