नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनलाई किन सम्झिने ? – Nepal Press
मनमोहन स्मृति दिवस

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनलाई किन सम्झिने ?

काठमाडौं । दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको आज २३ औं स्मृति दिवस कोभिड महामारीका कारण विशेष कार्यक्रमबिना स्मरण गरिँदैछ ।

अहिलेको विषम परिस्थितिमा स्मृति दिवसमा सार्वजनिक कार्यक्रम आयोजना नगरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले नेपाल प्रेसलाई बताए ।

मनमोहन स्मृति दिवसका अवसरमा एमाले महासचिव तथा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले सानेपास्थित मनमोहनको शालिकमा माल्यार्पण गर्नेमात्र कार्यक्रम रहेको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

विसं १९७७ सालमा जन्मिएका कम्युनिष्ट नेता अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ र ३ नम्बर क्षेत्रबाट उम्मेदवार रहेका अधिकारीको चुनावी कार्यक्रमका शिलशिलामा गोठाटारमा हृदयघात भएको थियो ।

अधिकारीको उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो । अधिकारीको निधनपछि काठमाडौं-१ बाट प्रदीप नेपाल र ३ बाट ईश्वर पोखरेल एमालेको उम्मेदवार भई निर्वाचित भएका थिए ।

अधिकारी २०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव थिए । नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता अधिकारी लोकतान्त्रिक आन्दोलनका पनि शिखर व्यक्ति थिए ।

२०४७ सालमा मदन भण्डारी नेतृत्वको तत्कालीन नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको तत्कालिन नेकपा मार्क्सवादी बीच एकीकरण भएर अहिलेको नेकपा एमाले बनेको थियो ।

एमालेको पहिलो अध्यक्ष मनमोहन थिए । २०५१ सालको निर्वाचनमा एमाले ८८ सिट सहित सबैभन्दा ठूलो दल बनेपछि मनमोहन अधिकारी नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री भएका थिए ।

अधिकारी नेतृत्वको ९ महिने एमालेको सरकारले गरेका लोकप्रिय कामका कारण उनलाई सधैं सम्झिने गरिन्छ । कम्युनिस्ट सरकारमा आएमा ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन् भन्ने प्रचार जनस्तरमा भएका बेला अधिकारी नेतृत्वको सरकारले नेपालको इतिहासमै पहिलो पटक एक सय रुपैयाँबाट बृद्धभत्ता शुरु गरेको थियो ।

मनमोहन प्रधानमन्त्री र उनका भाइ भरतमोहन अर्थमन्त्री भएको बेला शुरु गरिएको जेष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षा र लोककल्याणकारी कार्यक्रम त्यसयताका कुनै पनि सरकारले हटाउन सकेनन्, बढाउन बाध्य भए ।

एमालेले १ सय रुपैयाँबाट शुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको छ र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्र ५ हजार पुर्‍याउने घोषणा गरेका छन् ।

बृद्धभत्ता, ‘आफ्नो गाउँ आफैं बनाउँ’ शीर्षकमा हरेक गाउँमा ३ लाख रुपैयाँ बजेट व्यवस्था लगायतका लोककल्याणकारी कामको शुरुआत मनमोहन प्रधानमन्त्री भएका बेला भएका थिए ।

अधिकारी नेतृत्वको सरकारविरुद्ध तत्कालीन नेपाली कांग्रेस, राप्रपा र सद्भावना पार्टीले अविश्वास प्रस्ताव ल्याएपछि उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

तर २०५२ भदौ १२ मा सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । भदौ १२ को फैसला निकै पछिसम्म विवादित बनेको थियो ।

त्यसबीचमा हेलिकोप्टर दुर्घटनामा परेर अस्पतालको आइसियुमा रहेकै बेला अधिकारीले अविश्वास प्रस्तावको सामना गरेका थिए ।

अधिकारी नेपालको इतिहासमै सादगी, पारदर्शी र राजनीतिक नैतिकताको अगुवा नेताका रुपमा चिनिन्छन् । अधिकारी नेपालको मजदूर आन्दोलनका पनि संस्थापक हुन् ।अधिकारी नेपालको ट्रेड युनियन आन्दोलनका संस्थापक महासचिव थिए ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विपी कोइराला र अधिकारी मामाचेला फुपूचेला हुन् । कोइराला परिवारका तीन र अधिकारीसहित पिताजी कृष्णप्रसाद कोइरालाको पारिवारिक नाताबाट नेपालमा चारजना प्रधानमन्त्री भए ।

अधिकारी नेपालको पहिलो प्रधानमन्त्री हुन् जसले भारत भ्रमणका क्रममा भारतीय समकक्षी पिवी नरसिंह रावसमक्ष सन् १९५० को असमान सन्धी पुनरावलोकनको प्रस्ताव राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर