‘मरुभूमि’ मा पनि चम्किए नेपाली बलर, सन्दीपको यस्तो कीर्तिमान – Nepal Press
त्रिकोणात्मक टी-२० सिरिज रिभ्यू

‘मरुभूमि’ मा पनि चम्किए नेपाली बलर, सन्दीपको यस्तो कीर्तिमान

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पछिल्लो साता रनको वर्षात् भयो । तीन देश सहभागी टी-२० सिरिजमा नेपालका ब्याट्सम्यानहरूले अभुतपूर्व ब्याटीङको प्रदर्शन गर्दै किर्तिमानमाथि कीर्तिमान राखे ।

ब्याट्सम्यानहरू चम्किएको प्रतियोगितामा बलरहरूले भने खासै चर्चा पाएनन् । खासमा त्रिविको पीच यसपाली ब्याट्सम्यानको लागि स्वर्ग र बलरका लागि मरुभूमि बराबर थियो । थारो भैंसी दुहुनजस्तै कठिन थियो यो पीचमा बलिङ गरेर विकेट निकाल्न ।

तर, यस्तो ‘मरुभूमि’मा पनि नेपालका स्बलरहरूले आफ्नो उत्कृष्टता देखाउन चुकेनन् । नेदरल्यान्ड्स र मलेसियाका बलरहरूको तुलनामा नेपालका बलरहरूको अर्कै स्तर देखियो । प्रतियोगिताभर सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका बलरहरू हावी छन् ।

नेपालका सुपरस्टार बलर सन्दीप लामिछानेले प्रतियोगितामा कीर्तिमानी बलिङ गरे । पाँच खेलमा उनले १३ विकेट लिन सफल भए, जुन कुनै पनि टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली बलरको उच्च प्रदर्शन हो । प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बनेका छन् उनी ।

सन्दीपले कुल १९.५ ओभर बलिङ गर्दा ८.२१ को इकोनोमीमा १६३ रन खर्चिए । उनी केही महंगा अवश्य भएका हुन् । तर, आफ्नो ‘विकेट टेकर’ छविलाई कायम राख्न उनी सफल भए । उनले १२.५३ को औसत कायम गरेका छन् ।

विकेट लिनमा सन्दीप अगाडि भए पनि इकोनोमीमा नेपालका फास्ट बलरहरू अगाडि छन् । सामान्यतया स्पिनरभन्दा धेरै रन खाने गरेका फास्ट बलरहरूले यो प्रतियोगितामा निकै कसिलो बलिङ गरे । अग्रपंतिका दुई बलर सोमपाल कामी र करण केसीले विपक्षी ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् । करण फाइनलमा म्यान अफ दी म्याचसमेत बनेका थिए ।

सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहेका करणले ७ विकेट आफ्नो पोल्टामा पारे । उनले ६.५७ को इकोनोमी तथा १६.४२ को औसतमा बलिङ गरेका छन् ।

नेपालका प्रमुख फास्ट बलर सोमपाल कामीको प्रदर्शन पनि उल्लेख्य रह्यो । विकेट संख्या कम भए पनि उनले मितव्ययी बलिङ गरेका थिए । पाँच म्याचमा उनले पाँचै विकेट लिए । उनको इकोनोमी ५.३१ र औसत १७ छ ।

यही प्रतियोगिताबाट डेब्यू गरेका नेपाली बलर कमलसिंह ऐरीले पनि छाप छोड्न सफल भए । उनको डेब्यू स्मरणीय बनेको छ । अन्तिम दुईवटा म्याचमा मात्रै मौका पाए पनि उनले आफ्नो क्षमता देखाउन सफल भए ।

कमलले आफ्नो डेब्यू खेलमै ३ विकेट लिएका थिए । डेब्यू टी-२० म्याचमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान उनले बताएका छन् । फाइनलमा पनि २ विकेट लिएर उनले आफ्नो विकेट संख्या ५ पुर्‍याए ।

कमलको इकोनोमी र औसत दुवै उत्कृष्ट छ । उनले ५.३० को इकोनोमी र ७.६० को औसतमा बलिङ गरेका थिए ।

नेपालका अन्य दुई बलर अविनाश बोहोरा र सहाब आलम भने अपेक्षित सफल हुन सकेनन् । ३ म्याच खेलेका साहब र ४ म्याच खेलेका अविनाशले २-२ विकेट लिएका थिए ।

नेपालका बलरको तुलनामा अन्य दुई देशका बलरको आँकडा नाजुक छ । अरु कुन पनि देशका बलरले एउटा म्याचमा दुईभन्दा बढी विकेट लिन सकेनन् । सर्वाधिक विकेट लिने पाँच बलरको सूचीमा नेदरल्यान्ड्सका थोमस सेबास्यिान ब्राट मात्रै छन् । ५ विकेट लिएका उनी पाँचौ स्थानमा छन् । तर, उनले ११.५० को इकोनोमीमा खर्चिलो बलिङ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *