कोरोना नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न सांसदहरूको माग – Nepal Press

कोरोना नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्न सांसदहरूको माग

काठमाडौं । बजेट रकमान्तर गरेर भए पनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागी सांसदहरूले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उनको भनाइ थियो ।

नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरूमा भयावह स्थिति आइसकेकोतर्फ संकेत गरे । सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको भन्दै सरकारलाई आफैंले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए । यस्तै कोभिडलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने उनको माग थियो ।

जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहायप्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरिरहेको आरोप लगाए । सरकार आफैंले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने गरेको यादवको टिप्पणी छ ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारको मातहतमा रहको अक्सिजन प्लान्टहरूलाई मर्मत गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको औंल्याए ।

बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि भइरहेका कामको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर