बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्युः जिल्लाभर लकडाउनको तयारी, नेपालगञ्जमा निषेधाज्ञा – Nepal Press

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्युः जिल्लाभर लकडाउनको तयारी, नेपालगञ्जमा निषेधाज्ञा

रुपन्देही । कोरोना संक्रमणबाट बाँकेमा आइतबार थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक पुरुष र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एक पुरूषको उपचारकै क्रममा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत गुलरिया ४ बर्दियाका ५६ वर्षिय पुरुषको आइतबार मृत्यु भएको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

योसंगै बाँके बाहिरी जिल्लाको मृत्यु हुनेको संख्या १०३ पुगेको छ । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षिय पुरुषको मृत्यु भएको छ ।

उनको आज दिउँसो १ः४० बजे मृत्यु भएको फोकलपर्शन ओलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

जिल्लाभर लकडाउनको तयारी, नेपालगञ्जमा निषेधाज्ञा

कोरोना संक्रमणको हटस्पट बनेको लुम्बिनी प्रदेशको बाँकेमा जिल्लाभर नै लकडाउनको तयारी गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र गरिएको लकडाउन प्रभावकारी नभएपछि बाँके जिल्लाभर एक साताका लागि लकडाउनको तयारी गरिएको हो ।

कोरोना संंक्रमण तीव्र गतिमा फैलिरहेकाले यसलाई रोक्न वैशाख गते राति १२ बजेदेखि वैशाख २० गतसम्म लागू हुने गरी निधेषाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । तर, कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएपछि बाँके जिल्लाभर एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको गेलालले बताए ।

यस्तै, निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारीसाधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम सेवाजस्ता अत्याश्वयक सेवा तथा सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा भने सञ्चालन गर्न पाइनेछ ।

स्वास्थ्यकर्मीले पहिलेदेखि नै लकडाउन गर्न अनुरोध गरेपनि समयमै निर्णय गर्न नसकिएका कारण यस्तो अवस्था आएकाले अब कडाई गर्न प्रशासनलाई निर्देशन गरेको सोही जिल्लाबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका विजय यादवले बताए । उनले संक्रमितको संख्या बढ्दै गएको र उपचार अभाव भएको विषयमा सरकारको ध्यान गएको बताउँदै केही दिनभित्र सबै व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर