सक्रिय कोरोना संक्रमित घरमैः न आइसोलेशन, न उपचार – Nepal Press

सक्रिय कोरोना संक्रमित घरमैः न आइसोलेशन, न उपचार

जनकपुरधाम । आइसोलेशन अभावका कारण प्रदेश २ का कोरोनाका सक्रिय संक्रमित घरमै बस्न वाध्य भएका छन् । सक्रिय संक्रमित घरमै बस्दा समुदायमा कोरोना झन् धेरै फैलने त्रास बढेको छ ।

घरमै बसेका संक्रमितले पनि आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेका छैनन् । संक्रमितहरु खुलेयाम घरबाहिर पनि हिँडडुल गरिरहेका छन् । सरकारले व्यवस्था गरेको आइसोलेशन नभए पनि होम क्वारिन्टिनमा बसेकाले पनि लापरबाही गरिएको एक स्वास्थ्यकर्मीले बताए । खेलाँची गर्दा कोरोनाले भयावह रुप लिने खतरा बढेको उनको भनाइ छ ।

उनका अनुसार कतिपय ठाउँमा आइसोलेशन सेन्टर नै छैन । जहाँ आइसोलेशन सेन्टर छ, त्यहाँ पनि संक्रमितलाई राख्ने गरिएको छैन । प्रादेशिक अस्पताल जनकपुर र यस प्रदेशका अधिकांश जिल्ला अस्पतालमा आइसोलेशन सेन्टर छैन ।

प्रदेश सरकारले रकम नपठाएसम्म आइसोलेशन सेन्टर निर्माण नगर्ने मडिकल सुपरिटेन्डेटहरु बताउँछन् ।

सिरहा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादव भन्छन्, ‘प्रदेश सरकारले विगतको भुक्तानी हालसम्म दिएको छैन । फेरि लगानी गरेर किन फस्ने ?’ रकम पठाएपछि मात्र आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

कोभिड–१९ धनुषा संयोजक डा. जामुन सिंहले घरमा बसेका सक्रिय संक्रमितहरुको निगरानीमा स्वास्थ्यकर्मी परिचालन हुनुपर्ने बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘वास्तावमा अहिले निगरानी भइरहेको छैन । तर हरेक वडामा स्वास्थ्यकर्मीको टोली बनाएर होम आइसोलेशनमा बसेका सक्रिय संक्रमितको निगरानी गर्न जरुरी छ ।’

बढ्दै सक्रिय संक्रमित

यस प्रदेशमा वैशाख १ मा मात्र २२४ जना सक्रिय संक्रमित थिए । वैशााख ८ मा सक्रिय संक्रमितको संख्या ५५९ जना पुग्यो । वैशाख ११ गतेसम्म सक्रिय संक्रमितको संख्या बढेर १ हजार ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशमा हाल ५४१ संस्थागत आइसोलेशन बेड छन् । जसमा ४४ जना बसेका छन् । अन्य सक्रिय संक्रमित होम आइसोलेशनमा छन् ।

कोभिड अस्पताल सञ्चालनमा ढिलाइ

प्रदेश २ मा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । विगत एक सातादेखि ९० देखि १३३ जनासम्म हरेक दिन संक्रमित थपिन्छ । कोरोना संक्रमितले वीरगञ्जका अस्पतालमा ठाउँ छैन । यसरी संक्रमित बढ्दै गयो भने प्रदेश २ मा संक्रमितले अस्पतालमा उपचारमा समेत गराउन नपाउने अवस्था आउनेछ ।

यसअघि प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको जनकपुर नर्सिङ क्याम्पसमा आइसोलेशन सेन्टर सञ्चालन गरिएको थियो । अब सो क्याम्पसमा ५० बेडको कोभिड अस्पताल नै सञ्चालन गर्ने तयारी छ । तर जनशक्ति अभावका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ ।

प्रादेशिक अस्पतालले कोभिड अस्पताल सञ्चालनका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयसँग कर्मचारी आपूर्तिको माग गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कर्मचारी आपूर्तिका लागि मन्त्रालयमा पत्राचार गरेको चार दिन वितिसक्दा पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर