अविश्वासको प्रस्ताव सामना गर्न तयार छौं : सांसद थापा – Nepal Press

अविश्वासको प्रस्ताव सामना गर्न तयार छौं : सांसद थापा

पोखरा । गण्डकी प्रदेशका एमाले सांसद कृष्ण थापाले मुख्यमन्त्री पृथ्वीस्बुबा गुरुङविरुद्धको अविश्वासको प्रस्तावलाई सामना गर्न आफूहरू तयार रहेको बताएका छन् । सरकार चलाइरहेको जिम्मेवार पार्टी भएकाले सामना गर्न एमाले तयार रहेको उनले बताए ।

‘यत्रो सरकार चलाइराखेको जिम्मेवार पार्टी तयार नहुने कुरै भएन नि ! किन नहुने ?’ सांसद थापाले नेपाल प्रेससँग भने, ‘तै पनि के नै पो बिग्रेको छ र यहाँ ? २८ जना सांसद हामी छँदै छौं । १/२ जनाको कुरा हो । यहाँ धेरै ठूलो कुरा केही छैन नि !’

सरकारपक्षीय सांसद भएकाले तयार नहुनुपर्ने अवस्था नै रहेको सुनाउँदै थापाले भने, ‘सरकार तयार नहुनुपर्ने भन्ने के छ र ? त्यो त सरकारसँगै सोध्नुस् । तर, म सरकारपक्षीय सभासद भएका हिसाबले, सत्तारुढ पार्टीको सभासद भएकाले हामी तयार नहुनुपर्ने भन्ने विषय नै छैन ।’

सांसद थापाले आफैंले बनाएको संविधान र नियमावलीलाई पूरा पालना गर्ने बताए । ‘हामी आफैंले बनाएको संविधान, निययमावली त्यसलाई हामीले पूर्णरुपमा कार्यान्वयन गर्छौं । एकदम तयार छौं ।’

मुख्यमन्त्री गुरुङको विकल्पमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेर कांग्रेससहित माओवादी केन्द्र र जसपाले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर