संक्रमित बढेपछि तिलोत्तमाले बनायो अत्याधनिक आइसोलेशन सेन्टर – Nepal Press

संक्रमित बढेपछि तिलोत्तमाले बनायो अत्याधनिक आइसोलेशन सेन्टर

रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । गतवर्षको कोरोना महामारीको समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरणहरु व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो । कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखाना स्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो ।

नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरको रुपमा तयार गरिएको जानकारी उनले बताए ।

बीस शैंयाको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले बताए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरबासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नैं आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो ।

बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ ।

शनिबारसम्मको तथ्यांकअनुसार नगर क्षेत्रमा १५३ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार मात्र तिलोत्तममा नयाँ ३५ जना संक्रमित थपिएको स्वास्थ्य शाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर