धमाधम उठ्दैछन् ढलेका सम्पदाहरू, ४९३ वटाको पुननिर्माण पूरा – Nepal Press
भूकम्पपछिको पुनर्निर्माण

धमाधम उठ्दैछन् ढलेका सम्पदाहरू, ४९३ वटाको पुननिर्माण पूरा

काठमाडौं । २०७२ सालको भूकम्पले देशका सम्पदा क्षेत्रहरूलाई क्षतिविक्षत बनाएको थियो । भूकम्पले भत्काएका सम्पदाहरूमध्ये आधाभन्दा बढीको पुननिर्माण सकिएको छ भने बाँकीको जारी छ ।

नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान जोडिएका सम्पदाहरूको पुनर्निर्माण सबैका लागि चासो र चिन्ताको विषय बन्दै आएको थियो । शुरूमा सरकारले निजी आवासलाई प्राथमिकतामा राखेकाले सम्पदाको पुनर्निमाणमा शुरू हुन ढिलाइ भयो । तर, पछिल्लो समय यसले तीव्रता पाएको छ । भूकम्प गएको ६ वर्षको अवधिमा सम्पदा पुनर्निर्माणको काममा सन्तोषजनक प्रगति देखिन्छ ।

२०७२ सालको भूकम्पले ९ सय २० वटा पुरातात्विक सम्पदाहरूमा क्षति पुगेको थियो । विश्व सम्पदा क्षेत्रका १ सय ७० वटा सम्पदा र उपत्यकाका ३ जिल्लाका सानाठूला गरेर ४ सय ६ वटा सम्पदामा पूर्ण क्षति भयो । यस्तै उपत्यका बाहिरका जिल्लामा रहेका ३ सय ४४ वटा सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

क्षति पुगेका ९ सय २० वटा सम्पदामध्ये ४ सय ९३ वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत १ सय ७० मध्ये १ सय १० वटा सम्पदाको पुनर्निर्माण भइसकेको छ । उपत्यकाका ३ जिल्लाका ४ सय ६ वटा सम्पदामध्ये २ सय ७ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । उपत्यका बाहिरका ३ सय ४४ वटा सम्पदामध्ये १ सय ७६ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् ।

चालु आर्थिक वर्षमा २ सय ८८ वटा सम्पदाहरू पुनर्निर्मााण भइरहेका छन् । त्यस्तै १ सय ३९ वटा सम्पदाहरूको पुनर्निर्माण सम्पन्न हुन बाँकी रहेका छन् । विश्व सम्पदा क्षेत्रका ४९ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । यस्तै विश्वसम्पदा सूचीमा रहेकामध्ये ११ वटा सम्पदाको पुनर्निर्माण हुन सकेको छैन ।

उपत्यकाभित्र यो वर्ष सबैभन्दा बढी १ सय ११ वटा सम्पदाको पुनर्निर्माण भइरहेको र ४० सम्पदाको पुनर्निर्माण हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । उपत्यका बाहिर १ सय २८ वटा सम्पदाहरू पुनर्निर्माणका क्रममा रहेका छन् भने अझै पनि ४० वटा सम्पदा पुनर्निर्माण हुन बाँकी छन् ।

प्राधिकरणका अुनसार यसै आर्थिक वर्षमा २ सय ८८ वटा सम्पदाको पुनर्निर्माण भइरहेका छन् । भूकम्पको ६ वर्ष बितिसक्दा पनि नबनेका १ सय ३९ सम्पदाहरूको पुननिर्माणलाई पनि प्राथमिकतामा राखेर छिट्टै काम थाल्ने प्राधिकरणको भनाइ छ ।

गुम्बा पुनर्निर्माण सुस्त

सम्पदा पुनर्निर्माणमा प्रगति भइरहेपनि भूकम्पबाट क्षतिग्रस्त बनेका गुम्बाहरूको पुनर्निर्माण भने छायाँमा परेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा १ हजार ३ सय २० सम्पदाहरूमा क्षति पुगेको थियो । जसमध्ये पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरू ९५ वटा छन् । तर भूकम्पले पूर्ण क्षति पुगेका कुनैपनि गुम्बाहरूको पुनर्निर्माण शुरू भएको छैन ।

४ सय २ वटा गुम्बाहरू मर्मत सभार गर्नुपर्ने अवस्थामा थियो । हाल २ सय ९४ वटा गुम्बाको मर्मत सम्भार भइसकेको छन् । १ सय ८ वटा गुम्बा अझैपनि मर्मत सम्भार गर्नुपर्ने अवस्थामा छन् । तर यो वर्ष आशिंक क्षति पुगेका सम्पदाहरूको मर्मत सम्भार भएको छैन ।

भूकम्पले एक सय वर्ष पुराना २ सय ५० वटा गुम्बामा क्षति पुगेको थियो । यस्ता ५ वटा गुम्बाको मात्रै पुनर्निर्माण शुरू गरिएको छ । यसैगरी दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका १४ वटा गुम्बामा क्षति पुगेको थियो । हाल ८ वटा गुम्बाका मात्रै पुनर्निर्माण सूरु भएको छ । स्थानीय तह र गुम्बा व्यवस्थापन समितिबाट पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरू ६ सय ३१ वटा रहेका छन् । तर, हालसम्म १ सय १ वटा गुम्बाको मात्रै पुनर्निर्माण शुरू भएको छ ।

बजेट अभावका कारण गुम्बाहरूको पुनर्निर्माण लक्ष्य अनुसार हुन नसकेको प्राधिकरणले जनाएको छ ।

अब सम्पदा पुनर्निर्माणले गति लिन्छ

निजी आवास पुनर्निर्माण पहिलो प्राथमिकतामा परेकाले सम्पदा पुनर्निर्माणमा केही ढिला भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले नेपाल प्रेसलाई बताए । उनले भने,‘बजेट अभावले पनि कतिपय सम्पदाहरूले पुर्णता पाएको सकिएको छैन ।

अब सम्पदाहरूले गति लिन्छ ।’

गुम्बा पुनर्निर्माणको काम सुस्त भएको भन्न नमिल्ने अर्यालको भनाइ छ ।

सम्पदा र गुम्बाहरू पनि पुनर्निर्माण कमै मात्रमा पुनर्निर्माण भइरहेको उनले बताए । सबै सम्पदा र गुम्बाहरू क्रमशः पुनर्निर्माण हुँदै गएको उनको दावी छ । सम्पदा पुनर्निर्माणका लागि प्राधिकरणको लगानी मात्र नभई विदेशी लगानी पनि परिचालन गरिएको छ । कतिपय स्थानमा स्थानीय आफै जुटेर पनि पुनर्निर्माण सम्पन्न गरेका छन् ।

पुनर्निमाण सकिएका चर्चित सम्पदा

भूकम्प गएका केही समयपछि निजी आवासको पुनर्निर्माण थालियो । तर, एक वर्षसम्म पनि सम्पदा पुनर्निर्माण गर्ने वा नगर्ने अन्योल कायमै रहेको थियो ।

सरकारको प्राथमिकतामै सम्पदा पुनर्निर्माणभन्दा निजी आवास प्राथमिकतामा रहेको थियो । निजी आवास पुनर्निर्माण गर्न जस्तो सजिलो नभएकाले २ वर्षपछि मात्रै विश्व सम्पदामा सूचीकृत सम्पदादेखि पुरातात्विक महत्व बोकेको सम्पदाहरू पुनर्निर्माण थालियो ।

पुरातात्विक सम्पदाहरूलाई पुरानै स्वरूप दिनुपर्ने र त्यसको महत्व मर्न दिननहुने भएकाले प्राधिकरणले पुरातत्व विभागको साथ लिएको थियो । हालसम्म पुनर्निर्माण सम्पन्न भएका चर्चित सम्पदाहरूको सूची यसप्रकार छ :

रानीपोखरी

भूकम्पको ५ वर्षपछि रानीपोखरीको पुनर्निर्माण पुरानै स्वरूपमा सम्पन्न भएको छ । यद्यपि पुनर्निर्माणका दौरान विभिन्न विवादहरू सिर्जना भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरीले पूर्णता पाउन ५ वर्ष लाग्यो ।

 

काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको रानीपोखरीमा कंक्रिट प्रयोग गरेको भन्दै विवाद भएपछि महानगर पछि हटेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएपछि रानीपोखरी मल्लकालीन शैली र सामाग्रीबाटै पुनर्निर्माण भयो । पुनर्निर्माण सम्पन्न भएपछि गत कात्तिक ५ गते राष्ट्रपति भण्डारीले रानीपोखरीको औपचारिक उद्घाटन गरिन् ।

बौद्धनाथ स्तुपा

भूकम्पपछि बिनाविवाद सम्पन्न भएको सम्पदामध्ये पहिलो नब्बरमा बौद्धनाथ स्तुपा पर्दछ । भूकम्प गएको वर्ष सर्वसाधरण निजी आवास पुनर्निर्माणमा जुटिरहँदा बौद्धनाथ स्तूपा विकास क्षेत्र समिति भने बौद्धनाथको पुनर्निर्माणमा जुटेको थियो ।

 

बौद्धनाथ स्तुपा सबैभन्दा पहिले नै पुननिर्माण भयो ।

धरहरा

भूकम्पको छैटौं वर्षमा ढलेको धरहरा पनि उठेको छ । धरहराको पुनर्निर्माण सम्पन्न भइसकेकाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । अहिले नयाँ बनेको धरहरा आधुनिक र भूकम्पप्रतिरोधी रहेको छ ।

 

 

बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।

बसन्तपुर

पुनर्निर्माण सम्पन्न भएपछि बसन्तपुर क्षेत्रले नयाँ स्वरूप पाएको छ । काठले टेको लगाएर राखिएका बसन्तपुर क्षेत्रमा सम्पदाहरू पुनर्निर्माण भइसकेपछि सर्वसाधारण खुसी देखिन्छन् । बसन्तपुरका केही मन्दिरहरूको पुनर्निर्माण भने अझै जारी छ ।

काष्ठमण्डप

काष्ठमण्डपको पुनर्निर्माण यतिबेला अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माणमा प्रारम्भदेखि नै विवाद देखिएको थियो । ठेकेदारले धोका दिएपछि स्थानीय आफैं पुनर्निर्माणमा जुटका थिए । अहिले पुनर्निर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपले नयाँ स्वरूप पाउँदैछ ।

त्रिपुरेश्वर महादेव मन्दिर

काठमाडौंको त्रिपुरेश्वर मन्दिरको पनि पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौं विश्वविद्यालयको सहयोगमा पुनर्निर्माण हुदै गरेको त्रिपुरेश्वर महादेव मन्दिर पनि केही समयपछि दर्शन गर्नको लागि खुल्ला हुँदैछ ।

पाटन दरबार

ललितपुरको पाटन दरबारभित्र रहेको सम्पदाहरूपनि भूकम्पले पूर्ण क्षति पुर्‍याएको थियो । तर, स्थानीयको सक्रियतामा पाटन दरबारभित्र रहेका ऐतिहासिक मन्दिरहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।

भक्तपुर दरबार स्क्वायर

भूकम्पले भक्तपुरका अधिकांश सम्पदाहरूमा क्षति पुयाएको थियो । तर, ढलेका सम्पदाहरू उठाउन भक्तपुरका स्थानीयले तदारुकता देखाउँदा निजी आवासभन्दा पनि पहिले सम्पदा पुनर्निर्माण भएको छ ।

भक्तपुर दरबार स्क्वायरलगायतका सम्पदाहरू पुनर्निर्माण भइसकेका छन् ।

तस्वीर : विजय गजमेर

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर