पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक – Nepal Press

पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला । भारतले पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक लगाएको छ । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

भारतमा कोरोनाको संक्रमणमा अध्याधिक बृद्धि भएपछि पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ ।

आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाट प्रहरीले जनाएको छ ।

भारतको उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ ।

सोही निर्देशिका अनुसार धार्चुला तहशिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्यक्तिको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो ।

दार्चुलामा पिसिआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतबारदेखि मार्कामा परेका छन् ।

मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ ।

धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो ।

भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन ।

भारतले धार्चुलामा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा गत बुधबार भएको बैठकले सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने, भौतिक दूरी व्यवस्थित गर्ने र क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरिएको छ । प्रजिअ जोशीका अनुसार बैठकमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ ।

यस्तै शिक्षण संस्थामा सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नसमेत नगरपालिकाले पुनः निर्देशन दिएको छ ।

विद्यालयले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गरी सञ्चालन गर्नुपर्ने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को पूर्णरूपमा कार्यान्वयन गर्न पनि भनिएको छ ।

रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर