गरिखाने अभियान र उपलब्धिबारे कांग्रेसको भर्चुअल अन्तर्क्रिया – Nepal Press

गरिखाने अभियान र उपलब्धिबारे कांग्रेसको भर्चुअल अन्तर्क्रिया

काठमाडौं । नेपाली कांग्रेसले भर्चुअल अन्तर्क्रियामार्फत गरिखाने अभियान, यसका उपलब्धि तथा राष्ट्रव्यापी उद्यमशीलता विकास अभियानको नेतृत्व नेपालीले नै गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले गरिखाने वर्गको निर्माणले मात्र मुलुकको आर्थिक रूपान्तरण सम्भव भएको भन्दै राजनीतिक उपलब्धिहरू उपभोग गर्न पनि आम जनतालाई आर्थिक रूपले सबल बनाउनुपर्ने बताए । उनले राजनीतिमा पनि गरिखाने वर्गलाई स्थापित गर्दै लैजानुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, हरिप्रसाद नेपाललगायतले अर्थतन्त्र, उद्यमशीलता, रोजगारी र पूर्वाधार विकासलाई नेपाली कांग्रेसले प्रमुख एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए । जनताका व्यवहारिक समस्यालाई सम्बोधन गर्नु नै जनमुखी राजनीतिको ध्येय रहेको सांसद एवं उद्योगपति विनोद चौधरीले बताए ।

उक्त समितिले गरिखाने अभियानमार्फत् हेटौंडा, झापा, वीरगञ्ज, धनकुटा, संखुवासभा, पोखरा, चितवनलगायत विभिन्न स्थानमा सम्भावित उद्यमीहरू पहिचान गरी उनीहरूलाई उद्यमशीलता विकासका लागि सघाइरहेको छ ।

सीप, पुँजी, प्रविधि तथा बजारसँगको पहुँच स्थापित गरी आकांक्षी युवाहरू र विदेशबाट फर्केकाहरूलाई समेत स्वदेशमै गरिखाने बनाउन यस अभियानको काम गर्दै आएको छ ।

कार्यक्रममा समितिका सल्लाहकार डा. प्रभु बुढाथोकीले गरिखाने अभियानको महत्व र यसले सिर्जना गर्ने रूपान्तरणका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै, कर्मभूमि समाजका सीईओ योगराज शर्मा कँडेलले गरिखाने अभियान र कर्मभूमि समाजबाट हालसम्म भएका उपलब्धिबारे जानकारीमूलक प्रस्तुति दिए ।

कार्यक्रममा समितिका सहसंयोजकहरू दीपक खड्का, इन्द्र बानियाँ, उमेश श्रेष्ठ र अनिल रूंगटाले गरिखाने अभियानको प्रारूप तयार गर्दादेखि यसको शुरुवातमा देशका विभिन्न भागमा उद्यमीहरूको बीचमा ‘रोड शो’ आयोजना लगायतका अनुभव सुनाउँदै आगामी दिनमा यसलाई पार्टीले आत्मसात् गरी अभियानको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

कोभिड-१९ को दोस्रो लहर देखापरेसँगै समितिले आफ्ना स्थलगत कार्यक्रमहरू रोकेर भर्चुअल माध्यमबाट अन्तर्क्रिया गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर