त्रिकोणात्मक टी-२० सिरिज : नेपालका लागि कीर्तिमानको उत्सव – Nepal Press
त्रिकोणात्मक टी-२० सिरिज : नेपालका लागि कीर्तिमानको उत्सव
नेपाल प्रेस २०७८ वैशाख ११ गते १८:०२
२०७८ वैशाख ११ गते १८:०२

काठमाडौं । लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको नेपालले घरेलु मैदानमा पहिलो टी-२० उपाधि जित्दै नयाँ यात्राको सुखद आरम्भ गरेको छ । यो त्रिकोणात्मक सिरिज नेपालका लागि धेरै हिसाबले महत्वपूर्ण रह्यो ।

सिरिज अगाडि नेपालको ब्याटिङमा सबैभन्दा ठूलो संशय थियो । तर, ब्याटिङकै बलमा नेपालले उपाधि जितेको छ । नेपाली ब्याट्सम्यानहरुले विगतमा कहिल्यै नदेखाएको आक्रामकता यस सिरिजमा देखाएका छन् ।

यो सिरिज नेपालका लागि कीर्तिमान बनाउने र तोड्ने उत्सवजस्तै भयो । यी कीर्तिमानहरु बलिङबाट नभइ ब्याटिङबाट बनेका छन् । ब्याट्सम्यानहरुको यो प्रदर्शन नेपाली क्रिकेट फ्यानहरुले लामो समय भुल्ने छैनन् ।

आउनूस नेपालले त्रिकोणात्मक सिरिजमा बनाएका प्रमुख कीर्तिमानको चर्चा गरौं :

१) घरेलु मैदानमा पहिलो टी-२० उपाधि

नेपालले सन् २०१४ को टी-२० क्रिकेट विश्वकपसहित सात प्रतियोगिता खेलेको छ । त्यसमध्ये यूएई र सिंगापुरसँग दुई टी-२० सिरिज जितेको भए पनि घरेलु मैदानमा नेपाल उपाधिविहिन थियो । त्रिकोणात्मक सिरिज जितेर नेपालले घरेलु मैदानमा पहिलोपटक उपाधि उचालेको छ ।

२) इतिहासमै ठूलो जित (रनका आधारमा)

नेपालले आफ्नो टी-२० क्रिकेट इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित यो सिरिजमा निकालेको छ । आज भएको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध हासिल गरेको एक सय ४२ रनको जित रनका आधारमा नेपालको अहिलेसम्मकै ठूलो अन्तरालको जित हो ।

यसअघि सन् २०१९ को डिसेम्बरमा नेपालले कमजोर राष्ट्र भुटानविरुद्ध ठूलो जित हासिल गरेको थियो । त्यसबेला भुटानलाई नेपालले १३० रनले हराउँदा खासै आश्चर्य मानिएको थिएन । तर नेदरल्यान्ड्सजस्तो बलियो राष्ट्रमाथि एक सय ४२ रनको जित नेपालका लागि अभूतपूर्व हो । साथै नेदरल्यान्ड्को यो टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो अन्तरको हार पनि हो ।

३) सर्वाधिक ठूलो स्कोर

नेपालले आजको फाइनलमा बनाएको २ सय ३८ रनको स्कोर टी-२० मा नेपालले बनाएको सवैभन्दा उच्च स्कोर हो । यसअघि २०१९ को साग गेम्स अन्तरगत भुटानविरुद्ध हानेको २ सय ३६ रन नेपालको सबैभन्दा ठूलो स्कोर थियो ।

नेपालका सबैभन्दा ठूला चार स्कोरमध्ये तीनवटा यही प्रतियोगितामा बनेका छन् । प्रतियोगिताको समूह चरणमा नेपालले मलेसियाविरुद्ध २१७ रन र नेदरल्यान्ड्सविरुद्ध २०६. रनको स्कोर खडा गरेको थियो । नेदरल्यान्ड्ससँग भने नेपाल हारेको थियो ।

४) लगातार तीनपटक २०० को आँकडा पार

टी-२० मा २०० भन्दा माथिको स्कोरलाई भयानक मानिन्छ । नेपालले अहिलेसम्म एक पटक मात्रै टी-२० मा २०० माथिको स्कोर खडा गर्न सकेको थियो, त्यो पनि भुटानजस्तो निरिह टिमविरुद्ध ।

तर, यो प्रतियोगितामा नेपालले लगातार तीनवटा म्याचमा दुई सयमाथिको स्कोर खडा गरेको छ । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा यस्तो सफलता दुर्लभ मानिन्छ ।

५) सर्वाधिक १९ छक्का

      

नेपालका ब्याट्सम्यानहरु ठूला सट्का लागि कहलिएका छैनन् । तर, यो प्रतियोगिताले उनीहरुको भिन्नै रुप देखायो । प्रत्येक म्याचमा उनीहरुले छक्का र चौकाको वर्षा नै गरे ।

समूह चरणमा मेको दोस्रो म्याचमा नेपालका ब्याट्सम्यानले कुल १९ छक्का प्रहार गरे । यो कुनै पनि टी-२० मा नेपालले बनाएको सर्वाधिक छक्का हो । विश्वकै रेकर्डमा पनि यो पाचौं ठूलो संख्या हो । अन्तर्राष्ट्रिय टी-२० को एउटा इनिङमा सर्वाधिक २२ छक्का प्रहार भएको छ ।

नेपालका करण केसी सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान नजिक पुगे पनि सफल भएनन् । उनले एउटै म्याचमा ७ छक्कासहित १३ बलमा ४५ रन बनाएर आउट भएका थिए ।

६) डेब्यू व्वाइको लगातार अर्धशतक

यो प्रतियोगितामार्फत डेब्यू गरेका कुशल भुर्तेलले जादुमयी प्रदर्शन गरे । ५ वटा म्याच खेल्दा उनले ४ वटा अर्धशतक बनाउन सफल भएका छन् । आफ्नो टी-२० करिअरको पहिलो ३ म्याचमा उनले लगातार अर्धशतक प्रहार गरेका थिए । उनको यो विश्व कीर्तिमान हो ।

अहिलेसम्म एकै ब्याट्सम्यानले टी-२० मा लगातार ४ अर्धशतक बनाएको रेकर्ड छ । तर पहिलो तीन अन्तर्राष्ट्रिय म्याचमा लगातार अर्धशतक बनाउने कुशल एक मात्र क्रिकेटर हुन् । आज भएको फाइनलमा पनि उनले अर्धशतक यात्रा जारी राखे ।

७) सर्वाधिक ठूलो साझेदारी

      

टी-२० मा नेपालका लागि कुनै पनि विकेटका लागि सर्वाधिक ठूलो साझेदारी यो प्रतियोगितामा बनेको छ । त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालका लागि सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो । उनीहरुले सन् २०१९ मा भुटानविरुद्धको खेलमा एक सय ८ रनको साझेदारी गरेका थिए ।

८) डेब्यूमा सर्वाधिक स्कोर

नेपालका ओपनर कुशल भुर्तेलका लागि यो प्रतियोगिता निकै फलिफापपूर्ण भयो । उनले डेब्यू प्रतियोगितामा सनसनी नै मच्चाए ।

आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो टी-२० खेलमा कुशलले अर्धशतक प्रहार गरेका थियो । उनले नेदरल्यान्ड्सविरुद्ध बनाएको ६२ कुनै पनि नेपाली खेलाडीले डेब्यू टी-२० म्याचमा बनाएको सबैभन्दा ठूलो स्कोर हो ।