सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारवाहीमा – Nepal Press

सुदूरपश्चिममा ६४ हजार सवारी साधन कारवाहीमा

अत्तरिया । चालु आर्थिक वर्षको ९ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३०५ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४६० मोटरसाइकल, १४ हजार ७४० जिप र कार, ११ हजार ३०१ ट्रक, ९ हजार ५९० ट्र्याक्टर, २ हजार ८० बस र २ हजार १३४ अन्य सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट ३ करोड ७० लाख ८४ हजार ५०० रुपैँया राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । ‘यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्कलन भएको हो’, उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारवाहीमा परेका हुन् । हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाई गर्ने गरेका छौँ ।’

अघिल्लो आर्थिक वर्ष ५६ हजार १५३ सवारी साधन कारवाहीमा पर्दा ३ करोड ३१ लाख ९९ हजार ५०० रुपैँया राजस्व सङ्कलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आर्थिक वर्षको ९ महिनामा नै ८ हजार १५२ बढी सवारी साधन कारवाहीमा परेका छन् भने ३८ लाख ८५ हजार रुपैँया राजस्व बढी सङ्कलन भएको देखिन्छ । सवारी साधनको सङ्ख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारी साधन बढी कारवाहीमा परेका प्रहरी निरीक्षक सिंहको भनाइ छ । उनले भने, ‘सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौँ । सवारी दुर्घटना कम गर्न प्रहरीमात्र होइन, नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ ।’

यस वर्षको ९ महिनामा ४८१ सवारी दुर्घटना हुँदा ६७४ सवारी साधनमा क्षति भएको छ भने १४७ को ज्यान गएको छ । यस अवधिमा ५११ गम्भीर र ४४७ जना सामान्य घाइते भएका छन् । ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको नौ महिनामा २३२ सवारी दुर्घटना हुँदा ३०७ सवारी साधनमा क्षति भएको थियो भने ११६ को ज्यान गएको थियो । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तथ्याङ्क हेर्दा यस चालू आवमा बढी सवारी दुर्घटना भएको देखिन्छ ।

बस चालक रुपेश चौधरी कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सबै सचेत बन्नुपर्ने, सर्वसाधारणले पनि ट्राफिक नियम पालना गर्नुपर्ने बताउछन् । ‘अधिकांश सवारी दुर्घटना चालकको होइन नागरिकको लापर्वाहीले समेत भएका हुन्छन् । दुर्घटना भएमा ठूलो सवारीले क्षति ब्योहोर्नुपर्ने बाध्यता छ’, सवारी चालक चौधरी भन्छन, ‘कतिपय साथीहरु अरुको गल्तीले पनि कारवाही भोग्न बाध्य छन् । त्यसैले दुर्घटनाबारे ज्ञान सबैलाई दिन आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *