टि-२० मा नेपालको हालसम्मकै उच्च स्कोर, फाइनलमा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य – Nepal Press

टि-२० मा नेपालको हालसम्मकै उच्च स्कोर, फाइनलमा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य

काठमाडौं । युवा ओपनर कुशल भुर्तेलले आफ्नो शानदार फर्मलाई फाइनलमा पनि निरन्तरता दिएपछि नेपालले नेदरल्यान्ड्सलाई २३९ रनको चुनौतिपूर्ण लक्ष्य पेश गरेको छ । टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर २३८ बनायो ।

प्रतियोगितामा तेस्रोपटक नेपालले २ सय रनको आँकडा पार गरेको हो । यो टि–२० मा नेपालले हालसम्म बनाएको सबैभन्दा ठूलो स्कोर पनि हो । यसअघि नेपालले सन् २०१९ मा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

कुशलले आफूले खेलेको पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरेका हुन् । ७७ रनको इनिङमा उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका हानेका थिए । सुरुमा संयमित भएर ब्याटिङ गरेका उनले अर्धसतकको नजिक पुगेसँगै आक्रमक रुप लिएका थिए ।

भुर्तेलपछि मध्येक्रमका ब्याट्सम्यान कुशल मल्लले पनि विष्फोटक अर्धसतक बनाए ।  उनले २४ बलमा ५ छक्का र २ चौका सहित ५० रन बनाएका थिए ।

पाचौं नम्बरमा आएका दिपेन्द्र सिंह ऐरीले भने अर्धसतकबाट दुई रन टाढा रहे । केवल १८ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ४८ रन बनाएर नटआउट रहे ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रनको योगदान दिए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । ओपनर आसिफ शेख ८ बलमा १६ रन बनाएर आउट भए ।

नेदरल्यान्ड्सका कुनै पनि बलरले नेपालका ब्याट्सम्यानलाई शान्त राख्न सकेनन् । फिलिप बोसेभेनले सर्वाधिक २ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *