धरहरा २.० : भीमसेन थापाको स्तम्भ, केपी ओलीको नवनिर्माण – Nepal Press

धरहरा २.० : भीमसेन थापाको स्तम्भ, केपी ओलीको नवनिर्माण

प्रधानमन्त्रीले भने : धरहरा चढ्दा आइफेल टावर चढेको महसुस भयो

काठमाडौं । १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले काठमाडौंको केन्द्र भागमा एउटा अग्लो स्तम्भ निर्माण गर्न लगाए । नामाकरण गरियो धरहरा ।

त्यसयताका १९६ वर्षमा धरहराले दुईवटा ठूला चोट व्योहोर्‍यो । ९० सालको भूकम्पले ११ तल्ले धरहराको माथिल्ला दुई तल्लालाई चोइट्याइदिएको थियो । त्यसबेलाका प्रधानमन्त्री जुद्धशम्शेर राणाले बाँकी ९ तल्लालाई नै कायम राखेर जिर्णोद्वार गरे ।

भीमसेन थापाले आफ्नी महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरुप धरहराको निर्माण गर्न लगाएका थिए । यसलाई भीमसेन स्तम्भ पनि भन्ने गरिन्थ्यो । पछि यो देशकै महत्वपूर्ण सम्पदाका रुपमा स्थापित भयो ।

भीमसेन थापाले ठ्याक्कै के प्रयोजनका लागि धरहरा बनाएका थिए भन्ने स्पष्ट छैन । कतिपय इतिहासविदले अंग्रेजहरुका अगाडि आफ्नो शासकीय तुजुक देखाउन यो संरचना ठड्याएको विश्वास गर्छन् । सञ्चार प्रविधिहरुको विकास नभइसकेको तत्कालीन समयमा धरहराको टुप्पोबाट विगुल फुकेर सरकारका विभिन्न सूचना र आदेशहरुको जानकारी गराइन्थ्यो । विगुल बजेको सुनेपछि जङ्गी निजामति कर्मचारी कोतमा वा टुँडिखेलमा जम्मा हुनुपथ्र्यो ।

स्मरणीय के छ भने त्यसबेला एक वर्षको अन्तरालमा दुईवटा धरहरा निर्माण भएका थिए । १८८१ सालमा निर्मित धरहरामा भीमसेन थापाको नाम छ भने त्यसको एक वर्षपछि १८८२ मा निर्मित धरहरामा भने ललितत्रिपुरासुन्दरीको नाम रहेको छ ।

विसं १८८१ मा बनाइएको धरहरा भुकम्पले ध्वस्त भएको थियो । पछिसम्म रहेको धरहरा चाहिँ १८८२ सालको हो, जसलाई जुद्धशम्शेरले जिर्णोद्वार गरेका थिए ।

ओलीको नवनिर्माण

२०७२ सालमा आएको अर्को ठूलो भुकम्पले भने धरहरालाई ध्वस्तप्रायः बनाइदियो । धरहरा ढलेर यसको ठुटो मात्रै बाँकी रहेको थियो । भूकम्पले भत्काएको ठीक ६ वर्षपछि धरहरा फेरि उठेको छ ।

नयाँ धरहरा निर्माणको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । उनले सुरुदेखि नै धरहरा निर्माणलाई प्राथमिकतामा राखेका थिए भने पार्टीको घोषणापत्रमा पनि यसलाई समावेश गरिएको थियो ।

धरहराको पुननिर्माण भएको भन्ने गरिए पनि वास्तवमा यो नवनिर्माण हो । भीमसेन थापाले बनाएको धरहरा भूकम्पले भत्काएपछि जुनरुपमा थियो, त्यही रुपमा यथावत राखिएको छ । भूकम्पको स्मृतिका लागि भत्केको धरहरालाई यथावत सुरक्षित राखेर त्यसको छेवैमा नयाँ धरहरा निर्माण गरिएको हो ।

भूकम्प आएलगत्तै धरहराको निर्माण सरकारको प्राथमिकतामा थिएन । त्यसबेला जनताका आवास तथा अन्य सरकारी भवनहरुको पुननिर्माणको आवश्यकता टड्कारो थियो ।

भूकम्प आएको तीन वर्षपछि ओली सरकारकै पालामा नयाँ धरहराको निर्माण सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले रमन कन्स्ट्रक्सनलाई ठेक्का दिएपछि २०७५ सालको कात्तिक महिनाबाट काम सुरु भएको हो । २०७७ सालको असोज २० गते सक्नुपर्ने गरी सम्झौता गरिएकोमा कोरोनाका कारण निर्माण अवधि लम्बिएको छ ।

पुरानो र नयाँमा कति फरक ?

भीमसेन थापाले बनाएको धरहरा भन्दा ओलीले बनाएको धरहरा बृहद र आधुनिक छ । पुरानो धरहरामा ९ तल्ला थियो भने अहिले २२ तल्लामा अग्लिएको छ ।

पुरानो धरहराको उचाईं करिब २०३ फिट थियो । यसभित्र २१३ सिँढी थिए भने बाहिर २५ सिँढी थिए । १८८ सिँढी उक्लेपछि बार्दली थियो जहाँबाट काठमाडौंको दृष्यावलोकन गर्न सकिन्थ्यो ।

नयाँ धरहरा एउटा स्तम्भ मात्र नभएर एउटा ‘सम्पदा प्याकेज’ हो, जसअन्तरगत अन्य संरचनाहरु पनि रहेका छन् । आज धरहरा टावरको उद्घाटन भएको छ भने अन्य संरचनाहरु निर्माण क्रममा नै छन् । धरहरा क्षेत्रमै दुई तल्लाको अन्डरग्राउन्ड पार्किङ, मनोरम पार्क, ढुंगेधारा, म्युजिकल फाउन्टेन र चमेनागृह पनि रहनेछन् ।

पुरानो धरहरा उक्लिनलाई सिँडी चढ्नुको विकल्प थिएन । उक्त नयाँ धरहराभित्रै दुईवटा लिफ्ट जडान गरिएको छ । त्यसैले वृद्धवृद्धा र अशक्तहरुले पनि धरहराको टुप्पोमा पुग्न सक्नेछन् । प्रतिसेकेन्ड एक मिटरको गतिमा यी लिफ्टहरु चल्नेछन् ।

४२.२ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ धरहराको निर्माण लागत ३ अर्ब ४५ करोड अनुमान गरिएको छ । अहिले धरहरामा तामाको गजुरलाई सुनले लेपन गरिएको छ । धरहराको२२ औं तल्लामा सिसाको बाल्कोनी बनाइएको छ, जहाँबाट काठमाडौं नियाल्न सकिन्छ ।


प्रतिक्रिया

3 thoughts on “धरहरा २.० : भीमसेन थापाको स्तम्भ, केपी ओलीको नवनिर्माण

  1. “१९८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले”
    मिलेन:- भिमसेन थापाले निर्माण गरेको बि.सं.१८८१ मा हो।
    अनि,
    “२०७३ सालमा आएको अर्को ठूलो भुकम्पले” मिलेन ।
    “२०७२ सालमा आएको ….” हो।

  2. “त्यसयताका ९६ वर्षमा धरहराले दुईवटा ठूला चोट व्योहोर्‍यो।…”
    त्यसयता त १९६ बर्ष बितिसके।

  3. ओलीको चाकडी गर्न बिचरोले धेरै शब्दै भेटाएन जस्तो छ । सयौ बर्ष सस्तो लिजमा दिएर व्यक्तिगत रुपमा करोडौ कमाउने खड्ग ओली र छोराहरुको अभिलाषाले यो कंक्रिट टावर र विजनेस कम्प्लेक्स खडा भएको हो धेरै हनुमान गिरी नगरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *