ढलेको त्यो धरहरा बनाउने कुरा, केपी ओलीले गरे बचन पूरा (फोटो/भिडियो) – Nepal Press
ढलेको त्यो धरहरा बनाउने कुरा, केपी ओलीले गरे बचन पूरा (फोटो/भिडियो)
नेपाल प्रेस २०७८ वैशाख ११ गते १४:५५
२०७८ वैशाख ११ गते १४:५५

काठमाडौं । २०७४ सालको तीनै तहको निर्वाचनमा एमालेको घोषणापत्र जस्तै ब्राण्ड गीत बनेको थियो- बद्री पंगेनी र प्रिया भण्डारीले गाएको सैं पनि एमाले, मै पनि एमाले ।

गीतको एउटा बोल थियो- भत्किएको धरहरा बनाउने कुरा, एमालेको सरकार आए हुन्छ त्यो नि पूरा । एमालेको घोषणापत्रमा समेत समेटिएको र एमाले पंक्तिको मुखमा झुण्डिएको त्यो गीतको एउटा बोल अब पूरा भएको छ । संयोग कस्तो भने नेकपा खारेज भएर एमालेकै सरकार बनेका बेला धरहरा निर्माण पूरा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘म बनाउँछु मेरो धरहरा’ अभियान शनिवारबाट पूरा भएको छ । २२ तले धरहराको उद्घाटन गर्दै ओलीले आफूले जनता समक्ष गरेका बाचा पूरा गर्दै आएको बताए ।

भत्किएको धरहरा बनाउने अभियानको शुरु गरेका ओली २०७३ सालमा सत्ताच्यूत भएपछि धरहरा निर्माण पनि अलपत्र परेको थियो । सरकारमा ओली र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै रफ्तार लिएको धरहरा पुनःनिर्माण लगभग सम्पन्न भएको छ ।

शनिवार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेका थिए ।

२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिवार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो ।
धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ ।

त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुर्ननिर्माणमा मैलिकताको संवद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।

हेरौं धरहरा उद्घाटनपछिका केही तस्बिर :

   

 

       
 
 

तस्विर सौजन्य: राजन काफ्ले (प्रधानमन्त्रीकाे सचिवालय)