पारस खड्का भन्छन् : त्रिविको पीच यति राम्रो पहिले देखेको थिइनँ – Nepal Press

पारस खड्का भन्छन् : त्रिविको पीच यति राम्रो पहिले देखेको थिइनँ

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले काठमाडौंमा जारी त्रिदेशीय टि-२० सिरिजमा नेपालले गरेको प्रदर्शनलाई लिएर सन्तोष व्यक्त गरेका छन् । उनले त्रिविको पिचले ब्याट्सम्यानलाई पूर्ण सहयोग गरेको र त्यसको नेपालका ब्याट्सम्यानहरुले लाभ उठाएको बताए ।

चोटका कारण टिमबाहिर रहेका पारसले नेपाल र नेदरल्यान्ड्सबीच हुन लागेको फाइनल खेलपूर्व प्रतिक्रिया दिँदै भने, ‘ब्याट्सम्यानका लागि पीच एकदमै राम्रो छ । तर, पीच मात्रै राम्रो भएर हुँदैन ब्याट्सम्यानले राम्रो खेल्नु पनि पर्छ । यो प्रतियोगितामा नेपालका ब्याट्सम्यानले उत्कृष्ट खेलिरहेका छन् ।’

आफ्नो करिअरमा नै त्रिवि मैदानमा यति राम्रो पिच नदेखेको उनले बताए ।

‘हाम्रो नेपाली क्रिकेटको इतिहास नै त्यही ग्राउन्डमा छ । त्यहाँ क्रिकेट खेलेदेखि नै यति राम्रो सर्फेस खासै पाएको थिइँन । कुनै–कुनै बेला हुन्थ्यो राम्रो, तर यति राम्रो थिएन,’ पारसले भने ।

पीच राम्रो भएकाले कारणले मात्रै नभएर ब्याट्सम्यानहरुको स्तर पनि माथि उठेको उनको बुझाइ छ । यो प्रतियोगितापूर्व भएका घरेलु प्रतियोगितामा नेपालको ब्याटिङस्तर माथि उठेको छनक मिलेको पारसले बताए ।

उनी भन्छन्, ‘एक महिना अगाडि भएको प्रधानमन्त्री कप र मेयर कपमा जसरी २४०-२५० को स्कोरहरु बनिरहेको थियो र चेज पनि भइरहेको थियो । त्यसले हाम्रो ब्याटिङ स्तरमा सुधारको संकेत गरेको थियो । अहिले जुन तरिकाले खेलाडीहरुले खेलिरहेका छन्, यो एकदमै राम्रो संकेत हो । हेर्न पनि एकदमै मजा आइरहेको छ ।’

राम्रो पिच हुने हो भने नेपालका ब्याट्सम्यानले पनि राम्रो स्ट्रोक प्ले गर्न सक्ने रहेछन् भन्ने पुष्टि भएको पारसले बताए ।

आजको फाइनललाई लिएर पारस आशावादी छन् । अहिलेसम्मको प्रदर्शन फाइनलमा पनि देखिनुपर्ने उनी बताउँछन् ।

‘म एकदमै खुशी छु । तर सबै कुरा र शनिबारको फाइनलमै ठोकिन्छ फेरि । हामी एन्ड रिजल्टमा फोकस गर्छौं । अस्ति पनि २०० भन्दा धेरै रन बनेको थियो तर चेज भयो । फाइनलमा हामीले विक्षी टिमलाई कमजोर आँक्नु हुँदैन ।’ पारसले भने ।

युवा ओपनरहरुले एकदमै राम्रो सुरुआत दिइरहेको उनले बताए । त्यसले फाइनलमा पनि निरन्तरता पाउने उनको आशा छ ।

‘फाइनलमा यस्तै प्रदर्शन दोहोरियोस् । हामीले खुशी हुनुपर्छ- हामीले होम ग्राउन्डमै यस्तो राम्रो क्रिकेट हेर्न पायौ,’ उनले भने । नयाँ प्रशिक्षक डेभ वाटमोरलाई प्रशिक्षकको रुपमा पाउनु नेपालका लागि ठूलो भाग्यको कुरा भएको उनले बताए ।

पारस भन्छन्, ‘उहाँले गर्दा पनि धेरै परिवर्तन आएको छ । उहाँले २-४ महिनाको समय हामीसँग बिताउनु भएको छ । राम्रो प्रशिक्षक टोलीमा हुनु त्यो टोलीका लागि सधैँ राम्रो पक्ष हुन्छ ।’

‘डेभ वाटमोरले एउटा छुट्टै खालको वातावरण सिर्जना गरिदिनु भएको छ । टोलीका सबै खेलाडीलाई समान व्यवहार गर्नु हुन्छ, माया गर्नुहुन्छ । सबै खेलाडीहरु उहाँसँग खुशी छन् ।’

अहिले प्रतियोगितामा भाग लिएको नेदरल्यान्ड्सको टिम सबैभन्दा उत्कृष्ट भएको उनले बताए ।

‘मलाई लाग्छ, ३–४ जना सिनियर खेलाडीबाहेक सबै पहिलो च्वाइसका खेलाडीहरु नै छन् । हामीले राम्रो गरेपछि अरुको टोली कमजोर हो कि भन्ने गरिएको छ । तर त्यस्तो होइन,’ पारसले भने ।

फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जित्न सके त्यो त्यो नेपाली क्रिकेटका लागि ठूलो स्टेप हुने पारसले बताए ।

प्रतियोगितामा आफू नहुँदा कति मिस गर्नुभएको छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘जुन खेल नेपालले जित्छ, म एकदमै खुशी हुन्छु । म बाहिरै हुँदा पनि खेलाडीहरुले जुन तरिकाले खेलिरहेका छन्, एकदमै आनन्द आइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर