लोकतन्त्र दिवस

खुसी छैनन् जनआन्दोलनका घाइतेहरू‍‍…

२०६२ चैत २८ मा जनआन्दोलन उत्कर्षमा थियो । धनगढीमा ठूलो संख्यामा आन्दोलनकारीहरूको उपस्थिति थियो । चैत २४ मा धनगढीमै होरीलाल राना थारुको ज्यान गएपछि आन्दोलन थप सशक्त बनेको थियो ।

चैत २८ मा हजारौँको संख्यामा आन्दोलनकारी जुलुससहित धनगढीको क्याम्पस चोकबाट चौराहातिर आउँदै थिए । जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा प्रहरीले काँडे तार तेस्र्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुगेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भयो । झडपमा परी १ सय ८२ जना घाइते भए ।

त्यो दिनको स्मरण गर्दै जन–आन्दोलनका घाइते नारायणदत्त भट्टले भने, ‘मलाई त मार्ने उद्देश्यले नै आक्रमण भएको थियो तर पत्रकार मानवअधिकरवादीहरूसँगै भएकाले प्राण मात्रै लिन सकेनन् ।’

चैत २४ मा ज्यान गुमाएका धनगढीका होरीलाल रानालाई हत्या गरिएको भन्दै भएको प्रदर्शनीमा भट्ट पनि सहभागी थिए ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहेडीमा बस्दै आएका भट्ट नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । प्रहरीको आक्रमणबाट भट्टको दायाँ खुट्टा फ्याक्चर भयो । ‘टोटल हिप रेप्लिेसमेन्ट’ गर्नुपर्ने भयो ।

सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि लखिपुरको सलुजा नर्सिङ होमा १२ दिन उपचार गरे । त्यसपछि ४५ दिन घरमा आराम गरेका भट्ट पटक पटक दिल्लीको एपोलो अस्पताल र काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार गराइरहे ।

‘अहिले सामान्य रूपमा ठीक छु । तर राम्रोसँग हिँड्न मिल्दैन । मोटरसाइकल चलाउन मिल्दैन,’ भट्टले भने, ‘जनआन्दोलनमा घाइते भएपछि जीवन नै सकिएजस्तो भयो ।’

यस्तै, अवस्था छ जनआन्दोलनका अर्का घाइते लक्ष्मीराम आचार्यको पनि । आचार्य चैत २८ मा घाइते भएका हुन् । ‘गोली चल्यो, भागाभाग भयो। १०–१५ जनाको प्रहरीको समूहले घेरा हालेर मलाई कुट्नसम्म कुटे,’ ती दिनको स्मरण गर्दै आचार्यले भने, ‘सकी नसकी नजिकैको बाँसको झाडीमा हाम फालेँ, ज्यान त जोगियो तर अचेत भएछु ।’

कैलालीको गौरीगङ्गा नगरपालिका–३ लकुचैनीका आचार्य राष्ट्रिय जनमोर्चाका कैलाली पूर्व जिल्ला अध्यक्ष हुन् । २०६२/०६३ को जनआन्दोलनताका उनी संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समिति कैलालीका संयोजक थिए ।

प्रहरीको कुटाइबाट बेहोस भएका आचार्यलाई धनगढीको सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि भारतको लखनउस्थित विवेकानन्द हस्पिटल लगिएको थियो । उनको सात दिनसम्म होस खुलेन । सात दिनपछि होस खुल्दा अस्पतालमा थिएँ’ भावुक हुँदै उनले भने, ‘त्यो बेला मैले पुनर्जन्म पाएको आभास गरेँ ।’

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका स्थानीय प्रयागराज जोशी पनि जनआन्दोलनका घाइते हुन् ।

प्रहरीले आन्दोलनकारीमाथि लाठी बजार्दा उनी गम्भीर घाइते भएका थिए । लाठीचार्जले नाकमा चोट लाग्दा उनले सुँघ्ने शक्ति समेत गुमाए । प्रहरीको कुटाइले जोशीको कम्मरमा समेत गम्भीर चोट लागेको छ ।

घाइतेका दुःख
प्रत्येक वर्ष वैशाख ११ मा देशभरि हर्षोल्लास मनाइरहँदा कैलालीका जनआन्दोलन घाइतेहरूमा भने कुनै उत्साह छैन । उनीहरू व्यवस्था फेरिए पनि अवस्था उस्तै रहेको बताउँछन् ।

जनआन्दोलनका घाइते लक्ष्मीराम आचार्य अहिले केरा खेतीमा व्यस्त छन् । उनी भन्छन्, ‘हामीले लडेर ल्याएको लोकतन्त्र केही सीमित व्यक्तिहरूका लागि रोजाइ गर्ने थलो भयो ।’

आफ्नो प्राण माया मारेर शान्ति र समृद्धिका लागि आन्दोलनमा होमिएका आचार्य अहिले आफूलाई जनआन्दोलनको घाइते हुँ भन्न पनि लाज लाग्ने बताउँछन् । उनले गुनासो पोखे, ‘हाम्रो बलिदानी खेर गएको जस्तो लाग्छ त्यसैले हामी जनआन्दोलनका घाइते हौँ भन्न पनि अप्ठ्यारो मान्छौँ ।’

उनले सरकारले उपलब्ध गराएको जनआन्दोलन घाइते परिचयपत्र समेत च्यातिदिएका छन् । ‘हामीलाई आन्दोलनका घाइते भन्ने परिचय चाहिएको छैन,’ उनले भने, ‘बरु देशलाई लोकतन्त्र आएको परिचय दिए पुग्छ ।’

आन्दोलनका अर्का घाइते प्रयागराज जोशी पनि परिचय पत्र त्याग्ने योजनामा रहेको बताउँछन् ।

‘देशमा परिवर्तन ल्याउन्न हामी सडकमा उत्रिएका थियौँ । परिवर्तन त आयो तर हामीले सोचेजस्तो भएन,’ जोशीले दुःख व्यक्त गर्दै भने, ‘परिचय पत्र राखेर के गर्नु ,केही उपलब्धि छैन । त्यो पनि त्याग्ने योजनामा छु ।’

जनआन्दोलनका घाइते नारायणदत्त भट्ट आफूलाई लागेको चोटबारे धेरैलाई बताउन चाहँदैनन । ‘सम्झियो भने पीडा हुन्छ,’ उनले भने, ‘कसैले सोधे दुर्घटना भयो भन्दिन्छु । आफूहरूको बलिदानीबाट आएको लोकतन्त्र आफूहरू जस्ता सर्वसाधारणले प्रत्याभूति गर्न नपाएकोमा उनलाई खिन्नता महसुस हुन्छ ।’

आजको दिनमा उत्साह मनाउनु भन्दा पनि उपलब्धि जोगाउन ध्यान दिनुपर्छ । उनी भन्छन्, ‘आन्दोलनको उपलब्धि गुमाएर दिवसमा उत्साह मनाउनुको केही अर्थ छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *