जसपा नेता भन्छन् : कांग्रेस-माओवादीको भर भएन, एमालेसँग काम गर्न सहज – Nepal Press

जसपा नेता भन्छन् : कांग्रेस-माओवादीको भर भएन, एमालेसँग काम गर्न सहज

‘शंकर पोखरेलविरुद्ध बनेको समीकरणको जग नै बलियो थिएन’

रुपन्देही । सन्तोष पाण्डे जनता समाजवादी पार्टीको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश सरकारको महत्वपूर्ण मानिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका युवा नेता हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वयम् उनको दल समेतले प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन उनले यो मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

पाण्डेसहित ४ जना जसपाका नेताहरू सरकारमा सामेल नभएर एमालेलाई साथ नदिएको भए शंकर पोखरेल नेतृत्वको सरकार संकटमा पर्ने निश्चित थियो । एमाले सरकारमा सहभागी भएपछि जसपा लुम्बिनी विभाजित छ ।

एउटा पक्षले पाण्डेसहित चारजना सांसदलाई कारबाहीको चेतावनी दिएको छ भने अर्को पक्षले पाण्डेसहित चारजना सांसदको निर्णय नै आधिकारिक भनेको छ । यसैबीच एमालेसँगको सहकार्य, जसपाको आधिकारिक निर्णय तथा उनका आगामी कार्ययोजनाका लागि नेपाल टकका लागि रामप्रसाद आचार्यले गरेको कुराकानी :

अविश्वासको प्रस्ताव दर्ता गरेकै दिनमा मन्त्री हुनुभयो, के हो वास्तविकता ?
जनता समाजवादी पार्टीले पहिलेदेखि नै यो विषयमा आफ्नो गृहकार्य गरेकै थियो । हामीले पार्टीको केन्द्रमा पनि प्रदेशमा हामीले कोसँग सहकार्य गर्ने भनेर लिखित पत्र पठाएका थियौं । खासगरी बाहिर भ्रम के भयो भने अविश्वासको प्रस्ताव दर्ता भएपछि तुरुन्तै मन्त्री भए त्यो होइन ।

तपाईसहित ३ जनालले त अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको होइन र ?
हो यही विषयमा भ्रम छ, म तपाईमार्फत सबैलाई प्रष्ट पार्न चाहन्छु कि मैले धेरै महिना पहिले कुनै विषयमा गरेको हस्ताक्षरलाई यो विषयमा जोडेर दुरुपयोग गरिएको छ, यसको मैले विज्ञप्तिबाट नै खण्डन गरिसकेको छु । हाम्रो पार्टीबाट संसदीय दलले वैशाख ५ गते नै सरकारमा सहभागी हुने र एमाले नेतृत्वको सरकारसँग सहकार्र्य गरेर जाने निर्णय गरिसकेको थियो । त्यो पार्टीको संस्थागत निर्णय हो ।

जसपा संसदीय दलको नेता सहश्रराम यादवले त अविश्वासको प्रस्तावमा कांग्रेस र माओवादीसँग जाने पार्टीको निर्णय हो भन्नुभएको छ त ?

वैशाख ५ गतेभन्दा पहिले उहाँ संसदीय दलको प्रमुख हुनुहुन्थ्यो । तर त्यो दिन संसदीय दलका उपनेता विजय यादवको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेतामा मलाई चुनेको छ । ६ सदस्यीय दलको बैठकमा हामी ४ जना सहभागी थियौं । त्यही भएर नै हामीले संस्थागत निर्णग गरेका छौं ।

जसपाको निर्णयविरुद्ध सरकारमा सहभागी भएकाले तपाईहरुमाथि कारवाहीको कुरा आएको छ त ?

पहिलो कुरा त कारवाही कसले गर्ने भन्ने विषय हो । हामीले पार्टी हित विपरीतको निर्णय गरेका छैनौं । अर्को, हामीलाई केन्द्रले संघीयताको मर्म अनुसार काम गर्न दिएको महशुस गरेका छौं । पार्टी केन्द्रले केही भनेको छैन । व्यक्तिले भनेर केही हुँदैन ।

अर्को कुरा लुम्बिनी प्रदेशमा हाम्रो पार्टी एकीकरण भएपछि समायोजन नै भएको छैन । त्यसैले म ढुक्क छु केन्द्रले हामीले गरेका निर्णयमाथि सकारात्मक नै मानेको छ । किनकि यो प्रदेशका महत्वपूर्ण मन्त्रालय भौतिक योजना, सामाजिक विकास, कृषिमा जिम्मेवारी पाएका छौं, यो हाम्रो ठूलो सफलता हो ।

अविश्वासको प्रस्ताव ल्याउने पार्टीहरुसँग पनि सहकार्य गरिरहनुभएको थियो किन साथ छोड्नुभयो त ?
उताबाट पाउने पनि मन्त्री नै हो तर धेरै असुरक्षित थियो उहाँहरूसँग । धेरै पार्टी मिलेको ठाउँमा सरकार पनि खिचडीजस्तो हुन्छ नि । चाहेजस्तो तरिकाले काम गर्न पाइँदैन ।

अर्कोतर्फ त्यो समूहको गणितसँग पनि ढुक्क हुन सकिएन । मैले धेरै पटक उहाँहरुसँको बसाइमा सोधें तपाईहरूले बहुमत पुर्‍याउने आधार के हो भनेर ? तर उहाँहरूको जवाफ थियो एमालेका साथीहरूले आश्वासन दिनुभएको छ फ्लोर क्रस गरेरै साथीहरुले सहयोग गर्नुहुन्छ ।

यस्तो कल्पनाको पछाडि लाग्दा धोका पाइन्छ भनेर साथ छाडेको हो । उहाँहरूको विगत पनि हेरिएको हो । कांग्रेस माओवादी यसअघि सरकारमा हुँदा तराईका मुद्दा कति सम्बोधन गरे प्रष्ट छ । सरकारमा हुँदा केही नगर्ने बाहिर बसेर ठूला कुरा गरेर हुँदैन नि । उहाँहरूले मधेसलाई आधार मानेर राजनीति गरेको भए जसपा आउने नै थिएन नि । समीकरण अस्थायी र स्वार्थअनुकुल मात्र देखेपछि साथ छाडेका हौं ।

अविश्वासको प्रस्ताव ल्याउने दलका सांसदहरुले त तपाईलाई राजनीतिक बेइमानको आरोप लगाइरहनुभएको छ त ?
ए, हामी उहाँहरुकै सति जानुपर्ने ? उहाँहरूले भनेको भए राम्रो,नभए नराम्रो यस्तो पनि हुन्छ ? जसपाले आफ्नो अस्तित्व देखाउनका लागि निर्वाचनमा गएको हो, संसदमा गएको हो । जनताले हामीलाई सांसद बनाएर पठाए । केही काम गरेर देखाउ भनेका छन् । त्यसका लागि मन्त्री आवश्यक हुन्छ नै । हामीले एमालेसँगको सहकार्यमा काम गर्न सहज देख्यौ, अवसर पनि पायौं त्यसैले यता लागेका हौ । आरोप लगाउनेहरु हुन्छन् यो उहाँहरुको नकारात्मक साेच हो ।

अविश्वासको प्रस्ताव असफल भयो त अब ?
अविश्वासको प्रस्ताव त हामी उहाँहरूसँग भएपनि सफल हुने थिएन । अब त के जवाफ दिनुपर्ला र । समीकरणको जग नै बलियो थिएन अविश्वास प्रस्तावको । तथ्यांक नै आधारहीन भएपछि कसरी पार लाग्छ ?

पार्टीको कारबाहीलाई के भन्नुहुन्छ ?
पहिलो कुरा त पार्टीमा कारबाही भन्ने नै हुँदैन । हामी जनताबाट निर्वाचित भएका हौं, जनताको कारँही स्वीकार गर्छौं नि । आर्मी प्रहरी हो र भन्या ठाउँका ठाउँ कारबाही गर्नलाई ? अनि हामीले के गल्ती गरेका छौं कारबाही भोग्नुपर्ने खालको ? दुई तिहाइ बहुमत सदस्यले गरेको निर्णयअनुसार अगाडि बढेका हौं । केही व्यक्तिले नचाहेर हुँदैन नि । हामीले संस्थागत निर्णय गरेर गएका छौं ।

सरकारमा सहकार्य गर्दा एमालेसँग अरु पनि केही शर्त छन् कि ?
त्यस्तो केही छैन । हामी काम गर्नका लागि राजनीति गरेका हौं, जनताको सेवा नै हाम्रो मुख्य जिम्मेवारी हो भन्ने ठानेका छौं । सधैभरि कोही पनि जिम्मेवारीमा रहँदैन । जिम्मेवारीमा रहँदा देखिनेगरी काम गरेर अगाडि बढ्छौं । एमालेसँग अरु विषयमा केही भएको छैन । केन्द्रबाट जे नीतिगत निर्णय आउँछ सोही अनुसार अगाडि बढ्ने हो । प्रदेशमा यहाँको आवश्यकताअनुसार अगाडि बढ्ने हो । यो संघीयताको भावना हो ।

के योजना लिएर सरकारमा जानुभयो ?
सबैभन्दा पहिले त मन्त्रालयको अहिलेसम्मको समीक्षा गर्छु । यो भन्दा अगाडि शुरु भएका कामलाई छिटो पूरा गर्ने अभियानमा लाग्दै रोकिएका कामलाई अगाडि सार्छु । त्यसका साथै नयाँ योजना बनाउने छु । आमनागरिकले प्रदेश सरकारको महशुस गर्नेगरी काम गर्नेछु ।

तराईका सीमा क्षेत्रको विकास पनि प्राथमिकतामा पर्नेछन् । १२ जिल्लाको वास्तविक अवस्था निकाले अगाडि बढ्नेछु । केही न केही सुधार गर्नेछु । योे कार्यकालमा सबै काम गर्न बजेटले पक्कै पुग्ने छैन नयाँ आउनेलाई काम गर्नका लागि सहज बनाउने छु । बीच बीचमा गरेका प्रगति तपाईहरुमार्फत जनतालाई भनिरहने छु ।

अन्त्यमा, कोरोना संक्रमण बढ्दो छ के छन् रोक्ने योजना ?
विगतमा पनि यसको त्रासबाट जोगाउन सबैभन्दा धेरै नागरिकको दैलोमा पुग्ने म हुँ भन्ने दावी गर्दछु । सरकारमा नहुँदा पनि ५० हजारलाई खाद्यान्न पुराउन घरमै पुगेको हुँ । सधै सडकमै हुन्थें सीमामै हुन्थें संयोग कोरोनाले छोएन ।

अहिले दोस्रो लहरले पनि यो प्रदेशलाई प्रभावित बनाउन थालेको छ । यसको रोकथामका लागि लागि योजना बनाएर लाग्नेछु । नेता मरे अर्को जन्मन्छ जनता मर्नुहुन्न भनेर लागिरहेको छु । यो पटक त सरकारमै छु ।कोरोनाले भन्दा अरु कारणले धेरै नागरिक मरेका छन्, त्रासमा होइन सुरक्षित बनाउने, उपचारलाई ध्यान दिने र संक्रमणलाई कमजोर बनाउन सफल हुनेछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर