फेवातालमा माछापुच्छ्रे मिसिँदा – Nepal Press
फोटो फिचर

फेवातालमा माछापुच्छ्रे मिसिँदा

पोखरा । पोखराको फेवातालमा माछापुच्छ्रे प्रतिबिम्बित हुँदा निकै सुन्दर देखिन्छ । निलाम्मे पानीमा सेता हिउँका लस्कर देखिँदा आकाश र पातालसँगै मिलेका हुन् कि भन्ने भान हुन्छ ।

तर, त्यसरी फेवातालमा माछापुच्छ्रेको अनुहार कमैलेमात्र हेर्न पाउँछन् । यो दृश्य फेवातालको ड्यामसाइड क्षेत्रबाटमात्रै देखिन्छ । जुन कमै पर्यटकलाईमात्र थाहा छ । थाहा भए पनि मौसमको ‘अंक गणित’ नमिल्दा धेरैले यो मौका गुमाउन पुग्छन् ।

तर, जब मौका मिलेर ड्यामसाइडबाट उत्तरी दिशामा पर्यटक आँखा डुलाउँछन् । त्यहाँ उनीहरु प्रेमप्रकाश मल्लको सदावहार गीतले भनेझैं दृश्य भेट्टाउँछन् ।

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,
पोखरा त साँच्चिकैको पोखरा नै रैछ ।

केही समयअघि पोखरालगायत देशैभरिको मौसम खराब थियो । लामो समयसम्म बर्षात नहुँदा मौसममात्रै नभई हावा नै प्रदूषित भइसकेको थियो ।

दाङदेखि पोखरा आइपुगेका सरोज चौधरीलाई पोखरा पनि दाङजस्तै ‘अँध्यारो त होला !’ भन्ने लागेको थियो । तर, बिहीबार जब उनी पोखरा उर्लिए, उनको सोचाइ गलत ठहरियो । साँझ करिब ५ बजेतिर उनी पोखरा आइपुग्दा ठूलो झरीसहित पानी पर्‍यो ।

परेको पानीका कारण पोखराको आकाश उज्यालिएको छ । मौसम उज्यालिएका कारण प्रेमप्रकाशले मात्रै नभई प्रकाश श्रेष्ठले आफ्नो गीतमा भनेझैं पोखराको दृश्य देख्ने पर्यटकलाई मौका मिल्यो – ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ..’

नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँमध्ये पोखरा पनि एक हो । तर, लामो समयदेखि पोखरामा पानी परेको थिएन । जसका कारण ‘सफा पोखरा’ पनि धुलाम्मे पोखरा भएको थियो ।

मौसम सफा भएका कारण माछापुच्छ्रे लगायत अन्नपूर्ण हिम शृंखला उज्यालिएको छ भने कारण फेवाताल, शान्ति स्तुप, सराङकोट लगायत ठाउँमा आन्तरिक पर्यटकको भरिएका छन् ।

मौसममा खराबी आएका कारण रोकिएका प्याराग्लाइडिङ, अल्ट्रालाइट पनि आकाशभरि बिहानैदेखि उडिरहेको देख्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर