धरहराबाट खसेकी रमिला : मैले जस्तै यसले पुनःजीवन पायो, यहीँ रोजगारी पाऊँ (भिडियो) – Nepal Press

धरहराबाट खसेकी रमिला : मैले जस्तै यसले पुनःजीवन पायो, यहीँ रोजगारी पाऊँ (भिडियो)

‘आम्मै’, मलाई त डर लागो !

रमिला श्रेष्ठले दुवै हातले मुख छोप्दै भनिन् । उनका आँखाहरु नवनिर्मित धरहराको टुप्पोतिर सोझिएका थिए ।

सुन्धारा क्षेत्रमा आज अरु दिनभन्दा बाक्लो थियो मानिसहरूको चहलपहल । मोटरसाइकलमा हुइकिँदै आउनेहरू टक्क अडिन्थे र खल्तीबाट मोबाइल निकाल्थे । अनि, मुस्कुराउँदै धरहरालाई पृष्ठभूमिमा राखेर तस्वीर/सेल्फी खिच्न थाल्थे । पैदल यात्री पनि एक-दुई स्न्याप हानेर मात्रै अघि बढ्थे ।

केही दिनदेखि धरहराका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । भूकम्पले भत्केको ऐतिहासिक संरचनाको सफलतापूर्वक पुनर्निमाण गरेकोमा सरकारले जनताबाट धन्यवाद खाइरहेको छ । कसैले चाहिँ धरहरा बनाउने पैसाले ‘यतिवटा अस्पताल बन्थे’ भनेर हिसाब पनि निकालिरहेका छन् ।

यता, रमिलाको मनमा चाहिँ अर्कै हलचल छ । उनको मानसपटलमा अहिले घुमिरहेका छन् आजभन्दा ६ वर्षअगाडिका परिदृष्यहरू । २०७२ सालको वैशाख १२ गते पनि उनी यहाँ आएकी थइन् । धरहरा चढेकी थिइन् । माथि पुगेर उल्लासित बन्दै चिच्याएकी थिइन् । त्यसपछि भने के-के भयो न उनी सम्झिन सक्छिन्, न सम्झिन चाहन्छिन् ।

हो, भूकम्पले देश हल्लाएको क्षण रमिला धरहराको टुप्पोमा थिइन् । धरहरा ढलेसँगै उनी भूइमा बजारिएकी थिइन् । तर, बाँचेकी थिइन् ।

भूकम्पले भत्केको धरहराको ठूटो अहिले पनि त्यही अवस्थामा छ । त्यो ठूटोलाई चिनोका रुपमा यत्तिकै छोपछाप पारेर अर्को धरहराको नवनिर्माण भएको छ । नवनिर्मित धरहराको उद्घाटन हुने अघिल्लो दिन रमिला यहाँ आएकी छन् ।

नयाँ धरहरा देख्दा कस्तो लाग्यो उनलाई ?

‘खुशी लाग्या छ,’ आँखाको कालो चश्मालाई टाउकोमा धकेल्दै भनिन्, ‘तर, कस्तो डर पनि लागिराख्या छ ।’

‘तपाईंले त धरहराबाट खसेर पुनःजीवन पाउनुभएको है !’

उनी थोरै मुस्कुराइन् र सहमतिमा मुन्टो हल्लाइन् । अनि धराहरातर्फ औंल्याउँदै भनिन्, ‘मैले मात्र हैन, ऊ… त्यसले पनि पुनःजीवन पायो ।’

धरहराबाट खसेपछि चोटग्रस्त भएको रमिलाको खुट्टा पनि भर्खरै ठीक भएको छ । एक वर्षअगाडि उनले खुट्टामा राखिएको स्टिल झिकेकी थिइन् ।

‘म पनि उभिएँ, धरहरा पनि उभियो,’ उनले गर्वको भावमा भनिन् ।

‘अब कहिले चढ्ने नयाँ धराहरा ?’

मानौं प्रश्नले नै रमिलालाई अत्यायो ।

‘नाइँ-नाइँ नचढ्ने ! डर लाग्छ मलाई…,’ उनी साँच्चिकै नर्भस् देखिइन् ।

०००

त्यसदिन साथी सञ्जीव श्रेष्ठसँग रमिला सुन्धारा घुम्न निस्किएकी थिइन् । एकोहोरो हिँडिरहेका उनीहरूले अगाडि धराहरा देखे ।

सञ्जिबले भने- चढ्ने हो ? रमिलाले सहमति जनाइन् ।

दुवै उत्साहसाथ धराहरातर्फ लागे । टिकट काटे । अनि, रमिला साथीको अघिअघि सिँढी उक्लिइन् । माथि रेलिङमा पुगेर काठमाडौं नियाल्दै रमाए उनीहरू । तर केहीबेरमै अचानक धरहरा हल्लिन थाल्यो । उनीहरुले केही मेसो पाउन नसक्दै धरहरा गल्र्याम्गुर्लुम् भयो ।

९ तले धरहराबाट उछिट्टिएर उनीहरु तल भूइँमा बजारिएका थिए । रमिला बेहोश थिइन् ।

‘होस आउँदा त म हस्पिटलमा थिएँ । अरुको फोन मागेर घरमा खबर गरेकी थिएँ । होस जाने आउने भइरहेको थियो,’ रमिला सुनाउँछिन् ।

उनको गोडा भाँचिएको थियो भने उनका साथीको हात । त्यही गोडा ठीक हुन निकै समय लाग्यो रमिलाको । टाउको र अनुहारका भागमा पनि चोट लागेका थिए ।

एक महिना अस्पताल बसिन् रमिला । अस्पताल बस्दा पनि पराकम्पनहरू आइरहन्थे । उनको सातो जान्थ्यो । ज्यान बाँच्दाको खुसी त थियो नै । पटक-पटक पराकम्प आउँदा अब बाँचिन्न कि भनेझैं भइरहन्थ्यो ।

अस्पतालमा पहिलोपटक गोडाको शल्यक्रिया बिग्रियो । जसले गर्दा उनले थप दुःख झेलिन् । पछि गोडामा स्टिल राखिएको थियो । झण्डै डेढ वर्ष त वैशाखी टेकेर हिँडिन् ।

‘स्टिल निकालेको एक वर्ष भयो । तर, पूरा निको भएको छैन । बेला-बेला दुखिरहन्छ,’ उनी सुनाउँछिन् ।

घरको आर्थिक अवस्था बलियो थिएन । सुरुमा सरकारले उपचार गरे पनि सबै खर्च आफैंले व्यहोर्नुपर्यो । बुवाले ऋण-धन गरेर उनको उपचार गराए ।

धराहराबाटै खसेका एक जनासँग उनको पछि भेट भयो । त्यो भेटले उनको मन नराम्ररी हतासियो ।

‘उहाँको त खुट्टा नै काटेको रहेछ । त्यो देख्दा आफूलाई भाग्यमानी सम्झिएँ,’ उनले भनिन् ।

भूकम्प जाँदा रमिला कक्षा ९ मा पढ्थिन् । घाइते शरीरका कारण एक वर्ष पढाइ छुट्यो । अहिले उनले प्लस टुको परीक्षा सिध्याएकी छन् । ब्याचलर पढ्ने तयारीमा छिन् ।

०००

हरेक वर्ष जब वैशाख १२ आउँछ, त्यतिबेला मिडियामा रमिलाको खोजी हुन्छ । बाँकी अरु दिन कसैले सम्झिँदैन । यसमा रमिलाको ठूलो गुनासो छ ।

‘मलाई अब अन्तर्वार्ता दिन पनि मन लाग्दैन । जति अन्तरवार्ता दिए पनि कसैले केही गरेको होइन । न उपचार खर्च पाएँ, न रोजगारी । मिडियाले पनि हाम्रो दु:ख देखाएर भ्यूज कमाउँछन्, तर सहयोग गर्दैनन्,’ रमिलाले हामीलाई नै झटारो हानिन् ।

उनलाई यतिबेला रोजगारी चाहिएको छ । बुवाको सामान्य खेतिकिसानीले परिवारको भरणपोषण गाह्रो हुँदै गएको उनले बुझेकी छन् । भाइ सानै छ । त्यसैले आफैंले कमाएर परिवारलाई सहारा दिन चाहिन्छन् । सँगसँगै पढाइलाई पनि निरन्तरता दिनु छ ।

‘घरमा बा आमा हुनुहुन्छ । उहाँहरू उकालो-ओरालो गर्न सक्नुहुन्न । शरीर कमजोर भएको छ । अब त मैले पनि केही गर्न पाए हुने,’ उनी मलिन सुनिइन् ।

रमिलाले हामीसँग आफ्नो एउटा इच्छा सुनाइन् ।

‘धरहरामा यत्रो काम भइरहेको छ, मलाई पनि सरकारले यहीँ रोजगारी मिलाइदिए हुन्थ्यो’ उनले भनिन्, ‘लौन, तपाईंहरुले पनि भनिदिनु ।’

जुन धरहराबाट खसेर पनि उनको ज्यान बाँच्यो, त्यही धरहरामा रोजगारी गर्ने रमिलाको इच्छा अर्थपूर्ण थियो । के उनलाई यहाँ काम लाग्दैन ।

‘एक-दुई दिन पो डर लाग्ला । सँधै डराएरै बस्न पनि त भएन,’ उनले भनिन्, ‘म यहाँबाट खसेर बाँचेकी छु, अब मैले यहीँ काम पाउनुपर्छ ।’

भोली हुने धरहराको उद्घाटनमा ‘आउनुपर्छ है’ भनेर पुनर्निमाण प्राधिकरणबाट उनलाई फोन आएको छ । निम्तो कार्ड पनि आउने बताइएको भए पनि उनले पाएकी छैनन् ।

‘खोइ जाऊँ कि नजाऊँ,’ उनले अन्योल मुद्रामा भनिन् ।

भिडियो हेर्नुस् :

फोटो/भिडियो : विजय गजमेर


प्रतिक्रिया

2 thoughts on “धरहराबाट खसेकी रमिला : मैले जस्तै यसले पुनःजीवन पायो, यहीँ रोजगारी पाऊँ (भिडियो)

  1. यो बहिनीलाई रोजगारी दिनु पर्छ सरकारले

  2. इन्टरभ्यू मात्र लिएर भएन वहाँ को जागिर गर्ने जुन ईच्छा छ त्यो पुरा गर्न लाई सम्पूर्ण मिडिया मार्फत सहयोग को अपेक्षा राख्दै छु । माता जानकी किशोरी जी ले वहाँ लाई रक्षा गरूण 🙏🙏

Leave a Reply to birat karki Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर