केपी ओली र शेरबहादुर तामाङ- ३० वर्षपछि दोहोरिएको रोचक संयोग ! – Nepal Press

केपी ओली र शेरबहादुर तामाङ- ३० वर्षपछि दोहोरिएको रोचक संयोग !

काठमाडौं । शुक्रबार दशौं महाधिवेशन आयोजक कमिटी बैठकमा आफूलाई एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको घोषणा गरेपछि शेरबहादुर तामाङ ३० वर्षअघिको ‘नोस्टाल्जीया’मा फर्किए ।

केपी ओलीसँगको उनको एकैखाले संयोग फर्कियो ३१ वर्षपछि । २०४७ सालमा एमालेको युवा संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष थिए केपी शर्मा ओली । त्यही युवा संघको कार्यालय सचिव थिए शेरबहादुर तामाङ ।

२०४६ सालको जनआन्दोलन सफल भएपछि एमालेले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गठन गरेको थियो । ओली संस्थापक अध्यक्ष र केशव स्थापित महासचिव रहेको युवा संघको कार्यालय थियो भिमसेनथानमा । अनि त्यो कार्यालय सचिव थिए तत्कालीन केन्द्रीय सदस्य तामाङ ।

ओली युवा संघको अध्यक्षबाट बिदा भएर एमालेको अध्यक्षसम्म बनिसकेका छन् भने तामाङ युवा संघको उपाध्यक्षबाट बाहिरिएका थिए ।

३० वर्षपछि ठिक त्यस्तै संयोग जुरेको छ । ओली एमालेको अध्यक्ष भएको बेला कार्यालय सचिवको जिम्मेवारी उनै शेरबहादुर तामाङले पाएका छन् । सामान्यतः कार्यालय सचिव नेतृत्वले विश्वास गरेको र नेतृत्वको राजनीतिक तथा कार्यालय व्यवस्थापनदेखि देशभरको पार्टी पंक्तिसँग सम्पर्कमा रहने पद हो ।

२०४७ यता प्रायः पार्टीभित्रको समिकरणमा ओलीभन्दा फरक बिचार समूहमा रहँदै आएका तामाङ ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भने उनको पक्षमा उभिएका थिए । माधव नेपालको माओवादीकरणले एमाले बिचारधारा कमजोर हुने भन्दै उनले ओलीलाई साथ दिएका थिए ।

तीस वर्षपछि ओलीकै नेतृत्वमा कार्यालय सचिव बन्ने मौका पाएका तामाङ त्यसबेला पनि युवासंघको नेतृत्व कुशलतापूर्वक हाँक्न कार्यालय सचिवका रुपमा आफूले ओलीलाई साथ दिएको बताए । आफ्नो योग्यता बुझेरै ओलीले ३० वर्षपछि पार्टी अध्यक्ष हुँदा पनि आफूलाई काबिल सम्झिएको हुनसक्ने आँकलन तामाङको छ ।

उनले नेपाल प्रेससँग भने- यो मेरो लागि ३० वर्षपछि जुरेको संयोग पनि हो । अध्यक्ष कमरेडले दिएको जिम्मेवारी मेरो लागि अवसर र चुनौति दुवै हो । अहिले पार्टी जटिल मोडमा छ । नयाँ कार्यालय निर्माण गर्ने, नयाँ ठाउँमा कार्यालय व्यवस्थापन गर्ने, देशभरका पार्टी कार्यालय र सम्पतिको संरक्षण गर्ने जस्ता ठूला-ठूला दायित्व छन् । म मेरो जिम्मेवारीप्रति सजग छु ।

तामाङलाई जीवनमा पहिलोपटक मन्त्री पनि ओलीले नै आफ्नो क्याबिनेटमा बनाएका थिए । अहिले उनी एमालेको वागमती प्रदेश कमिटी सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्ला इन्चार्जको भूमिकामा पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर