नेपाल पक्ष एमालेमा जिम्मेवारी विहिन, खनाल भन्छन्–यो गुटको अबैधानिक क्रियाकलाप हो – Nepal Press

नेपाल पक्ष एमालेमा जिम्मेवारी विहिन, खनाल भन्छन्–यो गुटको अबैधानिक क्रियाकलाप हो

काठमाडौं। दुई दिनसम्म चलेको नेकपा (एमाले)को महाधिवशेन आयोजक कमिटीको बैठक शुक्रबार सकियो । बैठकले स्थायी कमिटीको गठनदेखि नेताको जिम्मेवारी बाँडफाँटसम्मको निर्णय गर्यो । तर, बैठकमा सहभागि नभएको एमालेको नेपाल पक्षले भने कुनै जिम्मेवारी पाएन ।

१९ सदस्यीय स्थायी कमिटीमा नेपाल पक्षका कुनै पनि नेतालाई राखिएन । त्यस्तै जिम्मेवारी हेरफर गर्दा केन्द्रदेखि जिल्लासम्म नेपाल पक्षलाई कुनै जिम्मेवारी दिइएन । यसबारे संवादाताले राखेको प्रश्नमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा फर्किए नेपाल पक्षलाई पनि जिम्मेवारी दिने कुरामा कुनै समस्या नभएको बताए।

तर, नेपाल पक्षका नेता झलनाथ खनाल यसको कुनै अर्थ नभएको बताउँछन् । यसलाई गुटको क्रियाकलप भन्दै उनी यो अवैधानिक भएको दावी गर्छन् । ‘यो सबै एउटा गुटको अबैधानिक क्रियाकलाप हो,’ खनालले नेपाल प्रेससँग भने, ‘त्यो पार्टीको बैठक होइन ।’

पार्टीको विधानले आयोजक कमिटी नचिन्ने उनले दावी गरे । ‘हाम्रो पार्टी विधानले आयोजक कमिटि चिन्दैन,’ खनाले भने, ‘यो गुटका बैठकले के–के गर्छन त्यसको कुनै औचित्य छैन् । उपाध्यता छैन् । कुनै महत्व पनि छैन् ।’

जेठ २ मा फर्किदा मात्रै पार्टी एकता जोगिने खनालको भनाइ छ। ‘हामीलाई सर्वोच्च अदालतले जेठ २ गते फर्काएको हो,’ उनी भन्छन्, ‘त्यो वास्तविकतालाई स्वीकार गरेर केन्द्रीय कमिटीको पूर्ण बैठक आयोजना गर्यो भने हामी जान्छौं र पार्टीलाई एकतावद्ध गराएर अगाडि बढाउनु राम्रो हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर