शेखर गोल्छाले लन्च गरे रोमान्टिक गीत, भन्छन्- कोरोनाले थलिएको फिल्म क्षेत्रलाई उकास्छौं – Nepal Press

शेखर गोल्छाले लन्च गरे रोमान्टिक गीत, भन्छन्- कोरोनाले थलिएको फिल्म क्षेत्रलाई उकास्छौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताएका छन् ।

द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर…’ म्यूजिक भिडियोलाई शुक्रबार राजधानीमा सार्वजनिक गर्दै उनले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित हुन पुगेको बताए ।

“तङ्ग्रीन लागेको पर्यटन र चलचित्र क्षेत्र फेरी कोरोनाको मारमा परेको छ, पर्यटन र चलचित्र क्षेत्रमा परेको समस्या समाधानका लागि महासङ्घले पहल गर्छ”, उनले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताए । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको उनको भनाई थियो ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं म्युजिक भिडियोका निर्माता आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकासका लागि वार्षिकरुपमा विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

महासङ्घअन्तर्गतको चलचित्र क्षेत्रका संयोजकसमेत रहेकाअधिकारीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने उल्लेख गरे ।

चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधान, नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सापकोटा, उमा फिल्मस् प्रालिका अध्यक्ष उमा गिरी, नेपाली सेनाका मेजर डीबी खड्कालगायतले राष्ट्रप्रति आस्था र योगदान झल्केको उक्त म्यूजिक भिडियोलाई राष्ट्रिय महत्वको गीतमा समावेश गर्नुपर्ने बताए ।

चलचित्र र पर्यटन क्षेत्रलाई जोडेर निर्माण गरिएको उक्त देशभक्ति गीत राराताल वरपर छायाङ्कन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *