सगरमाथामा कोरोना फैलिएको अन्तर्राष्ट्रिय मिडियाको प्रचार, सरकार भन्छ : लेक लागेको हो – Nepal Press

सगरमाथामा कोरोना फैलिएको अन्तर्राष्ट्रिय मिडियाको प्रचार, सरकार भन्छ : लेक लागेको हो

काठमाडौं । बसन्तकालिन आरोहण सुरु भएसँगै अहिले केही अन्तर्राष्ट्रिय मिडियाको ध्यान पुनः एकपटक विश्वको सर्वोच्च शिखर सगरमाथातर्फ मोडिएको छ । ती सञ्चारमाध्यमले सगरमाथा आरोहीमा कोरोनाभाइरस संक्रमण देखिएको भन्दै आरोहण बन्द गर्नुपर्ने लविङ गरेका छन् ।

सगरमाथा आधार शिविरसम्म पुगेका नर्वेली आरोही अर्नेल्ड नेसले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याईएको थियो । अहिले आफ्नो अवस्था ठीक भएको उनले बताएका छन् । उनको आरोहण दललाई अहिले बेस-क्याम्पमै निर्माण भएको क्वारेन्टिनमा राखिएको छ ।

यसैलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा सेकेन्ड-वेभ सुरु भएसँगै सगरमाथा भाइरसको ‘सुपर-स्प्रेडर इभेन्ट’ बन्न सक्ने बताएका छन् । सगरमाथामा भाइरस संक्रमण पुष्टि भएको पहिलो खबर गत बुधबार आउटसाइड अनलाइनले प्रकाशित गरेको थियो ।

वासिङ्टन पोस्टले शुक्रबार हेडलाइन लेखेको छ- कोरोनाभाइरस सगरमाथा आधार शिविरमा पुग्यो । सुपर-स्प्रेडर इभेन्ट सिर्जना भएको छ ।’ उक्त अमेरिकी अखबारले नेपालका लागि विदेशी मुद्रा आर्जनको माध्यम बनेका हिमालमा सुरक्षाको बहस सुरु भएकोसमेत उल्लेख गरेको छ ।

यस्तै बीबीसीले आरोही नेससँग एक भोजमा सहभागी शेर्पा आरोहीहरु पनि भाइरसबाट संक्रमित भएको दावी गरेको छ । बीबीसीले लेखेको छ- आरोहणमार्फत पैसा कमाउने मौसममा नेपाललाई यो घटनाले ठूलो धक्का लागेको छ ।’

नर्वेली आरोही नेसले भने आफूलाई ठ्याक्कै कुन ठाउँबाट भाइरस लागेको भन्ने यकिन नभएको बताएका छन् । काठमाडौं उपत्यकाको कुनै एउटा चिया पसलबाट भाइरस सरेको हुनसक्ने उनको आशंका छ ।

नेसले बीबीसीसँग भनेका छन्, ‘मैले ट्रेक गर्दा कसैले पनि मास्क लगाएको देखिँन । म आफैले पनि हात धुने र मास्क लगाउन सक्थेँ । म अहिलेसम्म गरेर तेस्रोपटक संक्रमित भएको हुँ । सगरमाथा ट्रेकमा कसैले पनि भाइरसको सुरक्षा मापदण्ड पालना भएको देखिँन ।’

अन्तिम समयमा बसन्तकालिन आरोहण स्थगित गरेको अमेरिकी आरोहण कम्पनी अल्पेनग्लो एक्सिपिडिसनका संस्थापक एड्रिन बालिङ्गरले वासिङटन पोस्टसँग भने, ‘परीक्षण नगरिएका र लुकाइएका धेरै संक्रमित केसहरु सगरमाथामा अझै हुनसक्छन् । यो सुपर-स्प्रेडर इभेन्टका लागि एउटा सही मौका पनि हो ।’

नेपाल र छिमेकी मुलुक भारतमा बढिरहेको कोरोनाको दोस्रो वेभको कारण पदयात्रामा जाने भरिया र याकका गोठाला पनि संक्रमणका वाहक भएको हुनसक्ने उनको ठम्याइ छ ।

हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले हेडलाइन लेखेको छ- पर्यटक पुनः खुला गर्ने नेपालको निर्णयमा कोरोनाभाइरसको धक्का ।’

भाइरस संक्रमण भए उपचार गर्न कठिन हुने परिस्थिती हुँदाहुँदै पनि नेपालले बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्न नरम खाले क्वारेन्टिन नियम ल्याएको यो अखबारले उल्लेख गरेको छ ।

संक्रमित व्यक्ति नेससँग अन्तर्वार्ता लिएको नर्वेली टेलिभिजन एनआरकेले उनीसँगै पर्वतारोहण भोजमा सामेल भएका अन्य शेर्पा सदस्यहरुलाई पनि संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

‘यदि कोही ८ हजार मिटरभन्दा माथिको स्थानमा छ भने हेलिकोप्टरबाट उद्धार गर्न पनि कठिन हुन्छ । अग्लो स्थानमा श्वास फेर्न स्वभाविकरुपमा मुस्किल हुन्छ । त्यो ठाउँमा भाइरस संक्रमित हुनु भनेको निकै खतरापूर्ण कुरा हो,’ आरोही नेसले उक्त टेलिभिजनसँग भनेका छन् ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले चिकित्सकले सगरमाथामा भाइरस संक्रमण पुष्टि भएको र पर्यटन उद्योग खुला गर्ने नेपालको कदममा यो दुःखद संकेत भएको लेखेको छ । काठमाडौंस्थित सीआइडब्लुइसी अस्पतालमा अन्य केही पर्वतारोहीलाई पनि भाइरस पुष्टि भएको जनाउँदै न्यूयोर्क टाइम्सले अस्पताल निर्देशक प्रतिभा पाण्डेको भनाई उद्वृत गरेको छ ।

‘हामीले आरोही र उनीहरुका सदस्यहरुको सुरक्षा कसरी अपनाउने भन्ने बारेमा स्वास्थ्य मन्त्रालयसँग पनि छलफल गरिरहेका छौं’ पाण्डेले भनेकी छिन् ।

आधार शिविरमा रहेका सरकारी चिकित्सकले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तीनजनालाई काठमाडौं पठाइएको र एकजनालाई भाइरस पोजेटिभ भेटिएको उल्लेख छ । अन्य पर्वतारोहीलाई पनि भाइरसजस्तै लक्षण देखिएकाले काठमाडौं पठाइएको तर, थप जानकारी नआएको उक्त अखबारले लेखेको छ । पर्वतारोही कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले केही पर्वतारोहीलाई भाइरस पुष्टि हुँदैमा पर्वतारोहण नरोकिने बताएका छन् ।

सरकार भन्छ : लेक लागेको हो

नेपाल सरकारले भने सगरमाथामा भाइरस अहिलेसम्म पुष्टि नभएको जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले अहिलेसम्म भाइरस पुष्टि नभएको र अन्तर्राष्ट्रिय मिडियाले लेख्दैमा त्यो कुरा सत्य नहुने बताइन् ।

‘विदेशी मिडियाले लेखिरहेका छन् र हामीले पढिरहेका छौं । त्यो कुरा सत्य होइन’ उनले भनिन् । आचार्यले संक्रमण पुष्टि भएको भनिएका ती नर्वेली आरोहीलाई हाइ–अल्टिच्युड सिकनेस (लेक लागेको) भएको बताइन् ।

‘ती आरोहीलाई हाइ–अल्टिच्युड सिकनेस भएको र सोसँग सम्बन्धित लक्षण मात्र हो । कोरोनाभाइरस भेटिएको पुष्टि अहिलेसम्म भएको छैन,’ उनले भनिन् ।

सगरमाथा शिविरमा भाइरस पुष्टि भएका नर्वेली आरोही आर्नोल्ड नेस काठमाडौंस्थित अस्पतालमा ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले मिडियामा आएका सूचनाबारे आफूहरुलाई अवगत भए पनि यसबारे टिप्पणी गर्ने अधिकार नभएको बताए ।

पर्वतारोहण शाखाकी निर्देशक आचार्यले अहिलेसम्म भाइरस पुष्टि नभएपनि भविष्यमा हुनसक्ने सम्भावनालाई ख्याल गर्दै सगरमाथामा जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गरिराखिएको बताइन् । उनका अनुसार एउटा आरोही दललाई अर्को आरोही दलको टेन्टमा जान रोक लगाइएको छ र मास्क अनिवार्य गरिएको छ ।

आरोहण अनुमति लिनुपूर्व पीसीआर परीक्षणको नतिजा नेगेटिभ हुनुपर्ने अनिवार्य गरिएको समेत उनले बताइन् । तर, विज्ञहरु चाहिँ कतिपय अवस्थामा पीसीआर नेगेटिभ आउँदा पनि भाइरसको संक्रमण हुने अवस्था विद्यमान हुने बताउँछन् ।

सरकारी अधिकारीहरुले सगरमाथामा भाइरस संक्रमणको आधिकारिक पुष्टि नगरेपनि संक्रमित भएका व्यक्तिले श्रव्यदृश्य सन्देशमार्फत यसबारे वर्णन गरेका छन् । नर्वेली आरोही नेसले भाइरस पत्ता लागेपछि आफूलाई हेलिकोप्टरबाट काठमाडौं अस्पतालमा ल्याइएको र अहिले काठमाडौंस्थित शेर्पा साथीहरुको घरमा रहेको जनाएका छन् । उनले आफ्नो अवस्था ठीक रहेको बताउँदै चिन्ता नगर्न भनेका छन् ।

‘खुम्बु कफ’ भनिने हाइ–अल्टिच्युड (लेक लाग्ने) समस्या र भाइरसको लक्षण करिब उस्तै हुने भएकाले भाइरस संक्रमण पहिचान हुन जटिल हुने जनाइएको छ । बुधबारसम्म पर्यटन विभागले ३७७ जना आरोहीलाई सगरमाथा आरोहणको अनुमति दिइसकेको छ ।

विज्ञ भन्छन्ः मापदण्डमा कडाइ गरौं

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी विदेशबाट आउने मानिसलार्ई कडाइका साथ क्वारेन्टिनमा राख्नुपर्ने र त्यसको कडा अनुगमन गर्नुपर्ने बताउँछन् ।

‘जहाजबाट सीधै आएर समुदायमा सोझै जाने क्रमलाई रोक्नुपर्छ र पर्यटनजस्ता क्षेत्रमा यो मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्छ’ नेपाल प्रेससँग सुवेदीले भने, ‘पर्यटकहरु पनि संक्रमणको वाहक हुनसक्छन् र सम्बन्धित निकायले यो पक्षलाई गम्भिररुपमा लिनुपर्छ ।’

सरकारले घोषणा गरेका स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र त्यसो नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्नुपर्ने उनको सुझाव छ ।

चीनले उत्तरी मोहडाबाट यसवर्ष पनि सगरमाथा आरोहणमा रोक लगाएपछि नेपालको रुट हुँदै आउने पर्वतारोहीको संख्यामा वृद्धि भएको छ । पाकिस्तानस्थित माउन्ट केटु आरोहण गरेर फर्किएको नेपाली आरोही दललाई काठमाडौंमा स्वागत गर्दै पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले कोरोनाले थलिएको नेपाली पर्यटन क्षेत्रलाई उकास्न अबको ध्यान केन्द्रित हुने र आठ हजारमाथिका हिमाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने मुख्य प्राथमिकता रहेको बताएका थिए ।

नेपालले यो सिजनमा यसअगाडि नै आरोहण रोयल्टीबापत ३.८ मिलियन डलर रेभेन्यु कमाइसकेको छ । नेपालमा शुक्रबारसम्म २ लाख ९४ हजार ६०१ जना कोरोनाभाइरसबाट संक्रमित भैसकेका छन् । नेपालमा अहिलेसम्म ३,११२ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *