प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी छैन : नेपाली कांग्रेस – Nepal Press

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी छैन : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कुनै तयारी नभएको स्पष्ट पारेको छ ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको भएपनि नयाँ सत्ता समीकरणका लागि ठोस आधार नबनेको कांग्रेसको विश्लेषण छ ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले कांग्रेसले अविश्वास प्रस्तावको तयारी नगरेको बताए । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहेका मुख्य सचेतक खाँडले राजनीतिक सहमति नजुटेसम्म अविश्वास प्रस्ताव नआउने बताए ।

‘म रुपन्हदेहीमा छु । अविश्वास प्रस्ताव ल्याउनेबारे पार्टीमा कुनै निर्णय भएको छैन । निर्णय नभइ अविश्वास प्रस्तावको तयारी हुँदैन’, खाँडले नेपाल प्रेससँग भने ।

त्यस्तै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पनि सरकारविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन नभएको बताइन् । भुसालले आफू संसदीय दलको सचेतक रहेको र अविश्वास प्रस्तावबारे थाहा नभएको बताईन् । ‘मलाई अविश्वास प्रस्तावबारे जानकारी छैन । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कुनैपनि तयारी छैन’, उनले नेपाल प्रेससँग भनिन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म नयाँ सरकार गठनको कोर्स शुरू नहुने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर