स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय – Nepal Press

स्वास्थ्य मापदण्डबमोजिम चल्न थाले राजधानीका सङ्ग्रहालय

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ ।

विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताए । चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । अहिले भने कोरोना त्रासका कारण आगन्तुक घटेका छन् ।

सङ्ग्रहालय प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ । समितिका तर्फबाट प्रवेशढोकामा स्यानिटाइजर राखिएको उनले जानकारी गराए । सङ्ग्रहालयभित्र एकपटकमा २५ जनाभन्दा बढी अवलोकनकर्ता नपठाउने गरी व्यवस्था मिलाइएको छ

राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ भौतिक दूरी कायम गरेर सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार अवलोकनकर्तालाई प्रवेश दिइएको बताउछन् । कोरोनाका बिरामी बढ्न थालेपछि अवलोकनकर्ता पनि घट्न थालेको उनले बताए ।

छाउनीमै रहेको मुद्रा सङ्ग्रहालयमा पनि फाट्टफुट्टमात्र अवलोकनकर्ता आउने गरेका छन् । सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको कार्यालय प्रमुख प्रतिमा रञ्जितले नेपाल प्रेसलाई जानकारी दिए ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिअन्तर्गत चलिरहेको नारायणहिटी सङ्ग्रहालयमा पनि १० दिनअघिदेखि आन्तरिक पर्यटक घट्न थालेका छन् । समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल हाल स्वास्थ्य मापदण्ड पालना गरेर सङ्ग्रहालय र गणतन्त्र स्मारक खुला गरिएको बताउछन ।

राजधानीका सङ्ग्रहालयमा विसं २०७६ चैत ११ गते बन्दाबन्दी जारी गरेपछिदेखि नै बाह्य पर्यटक आएका छैनन् । आन्तरिक पर्यटकका भरमा चलेका सङ्ग्रहालय नयाँ भेरियन्टसहितको कोभिड-१९ का सङ्क्रमित देशका मुख्य शहरमा बढ्न थालेपछि आन्तरिक अवलोकनकर्ता पनि घट्दै जान थालेका छन् । 

(रासस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *