महिलालाई उद्यमशील बनाउँदै इटहरीकी उपमेयर गौतम – Nepal Press

महिलालाई उद्यमशील बनाउँदै इटहरीकी उपमेयर गौतम

इटहरी। सरकारले २०७६ चैत्र ११ मा पर्याप्त तयारीबिनै बन्दाबन्दी घोषणा गर्यो । बन्दाबन्दीले इटहरी बजारमा बस्नेलाई तरकारी पाउनै मुस्किल भयो । तर, इटहरी ६ जुटविकासी रुद्रमाया घिमिरेलाई तरकारीको समस्याले सताएन । किनकि उनले पहिलेदेखि नै तरकारी ‘कौसीखेती’ गर्दै आएकी थिइन् । उनले घरको कौसीमा विभिन्न तरकारी फलाएकी थिइन् । त्यसले उनलाई बन्दाबन्दीमा पनि सहज भयो ।

बन्दाबन्दीमा तरकारीको तनाव नहुनेमा रुद्रमाया होइनन्, जुटविकासका ३२ महिलाले कौसीखेती गरेका छन् । दुई वर्षअघिदेखि कौसी खेती गरिरहेका उनीहरुलाई बन्दाबन्दीमा तरकारीको तनाव भएन ।

यसरी ३२ महिलालाई घरमै तरकारी तथा फलफूल फलाएर सहज र उद्यमशील बनाउन सहयोग गरेको हो, ‘उपमेयर आत्मनिर्भर कार्यक्रम’ले । सोही कार्यक्रमअन्तर्गत उनीहरुले कौसीखेतीको सीप र खेती गर्ने सामग्री पाए । जसले उनीहरुलाई सहज र उद्यमशील बनाएको छ ।

‘कौसीखेतीबाट मनग्य आम्दानी छैन तर, तरकारीमा हुने अनावश्यक खर्चको कटौती भएको छ’, घिमिरे भन्छिन्, ‘अर्गानिक तरकारी उत्पादन गरेर प्रयोग गर्न पाइएको छ ।’ साप्ताहिक रुपमा हटियामा गएर तरकारी खरिदमा हुने खर्च जोगिएको घिमिरे बताउँछिन् । उनी भन्छिन्, ‘कौसी खेती नहुँदा हटियामा तरकारी खरिदमा हरेक हप्ता ५०० देखी ६०० खर्च हुन्थ्यो तर अहिले आधाभन्दा कम भएको छ ।’

उपमेयर आत्मनिर्भर कार्यक्रममा जोडिएकी अर्की महिला हुन् इटहरी– ५ की जीवनकुमारी चौधरी । उनले लगभग भुलेको मौलिक कोहवर पेन्टिङलाई कार्यक्रमले सम्झाइदियो । कलाकारहरु अनुराधा थापा, सरोजा खड्गी र विक्रम श्रीलगायतले पनि कार्यक्रमअन्तर्गत निरन्तर एक महिना कोहवर पेन्टिङको तालिम दिए । १ लाख ५० हजार बजेटको तालिममा इटहरीका हरेक वडाबाट २५ थारु महिलाहरु सहभागी भएका थिए ।

सहभागीमध्येकी जीवनकुमारी चौधरी अहिले आफूमात्रै कोहवर बनाउँदिनन् । अरु थारु महिलाहरुलाई पनि बनाउन प्रेरणा दिन्छिन् । ‘हाम्रो कोहवर पेन्टिङ माटोले पोतिएका घरमा भित्तामा बनाइन्छ तर पछिल्लो समयमा कंक्रिटका घरहरु बन्न थालेपछि लोप भएको थियो’, चौधरी भन्छिन्, ‘कोहवर बनाउन छोडिएपछि सहरका नयाँ बच्चाबच्चीहरुले त लगभग बिर्सने अवस्था थियो । तालिम पाएपछि धेरैमा उर्जा आएको छ ।’ तालिममा सहभागी २५ महिलामा हाल १५ जनाले नियमित पेन्टिङ गरिरहेको चौधरी बताउँछिन् ।

कोहवर पेन्टिङको प्रयोग घरका भित्तामा मात्रै नभएर अहिले विभिन्न सामाजिक कार्यक्रमहरुमा समेत हुन थालेको छ । स्थानीय स्तरका सांस्कृतिक कार्यक्रमहरुमा कोहवर पेन्टिङका उपहारहरुको आकर्षण बढेको छ । ‘मैले बनाएको कोहवर पेन्टिङलाई सहकारीको साधारणसभामा गिफ्ट दिनदेखि काठमाडौंको मन्त्रालयमा पनि माग भएको छ’, चौधरी भन्छिन्, ‘कोहवर पेन्टिङ पहिलेपहिले घरेलु कला र सौखको रुपमा हुन्थ्यो । अब कमाइ पनि हुन्छ ।’ आफूले सामान्य कोहवर पेन्टिङलाई न्यूनतम तीन सय रुपैयाँमा बिक्री गर्ने गरेको चौधरी बताउँछिन ।

इटहरी ३ सिंहबाहिनि चौककी मन्दिरा भन्डारीले पनि सामुहिकतामा जोडिएर उद्यम गर्न थालेको एक वर्ष भयो । इटहरीमा सिर्जनशील कृषि उद्यमी महिला समूहमा आबद्ध २० महिलामा एक सदस्य भण्डारी समूहमा खेती गर्छिन् ।

उपमेयर आत्मनिर्भर कार्यक्रमबाट २ लाखको बिउ पुँजी र सदस्यहरुले प्रतिव्यक्ति पाँच सय रुपैयाँ उठाएर पैसा जम्मा गर्यो समूहले । साढे दश कट्ठा जमिन लिएर सामुहिक खेती गर्ने समूहले गत तिहारमा फूलहरु उत्पादन गरेर बिक्री गर्यो । उनीहरुले फूल बिक्रीबाट आएको पैसाबाट आलु, लसुन, राज्मालगायत खेती थाले ।

त्यस्तै कुखुरापालन र सिलाइकटाइ व्यवसाय गर्दै आएकि भण्डारीलाइ सामुहिक खेतीले थप हौसता र खुशी दिएको छ ।

३५ लाख बजेटमा पाँच सय बढी महिलालाई सिपमूलक तालिम

इटहरीमा स्थानीय सरकार आएपछिको दोश्रो वर्षबाट व्यवस्थित रुपमा सुरु भएको हो, उपमेयर आत्मनिर्भर कार्यक्रम । पहिलो बजेटमा कार्यक्रम आएपनि कार्यन्वयन भने दोश्रो बर्षबाट मात्रै भएको बताउँछिन् उपमेयर लक्ष्मी गौतम । सिप र पुँजीको अभावमा व्यवसायउन्मुख हुन नसकेका महिलालाई लक्षित गरी कार्यक्रम ल्याइएको उनले बताइन् ।

‘हामीले बजारको माग हेरेर जस्तो कार्यक्रम सुहाँउदो हुन्छ त्यहीं कार्यक्रमको तालिम संचालन गर्ने गरेको छौँ’, गौतम भन्छिन्, ‘हामीले अब आलुचप, प्याजी, पकौडा, डुनटको तालिमपनि दिँदैछौँ ।’ नेपाली गार्मेन्टका उत्पादनहरु गर्न आवश्यक तालिमहरु पनि चाँडै सुरु हुने गौतम बताउँछिन् ।

इटहरी उपमहानगरपालिकाको समाजिक विकास शाखाअन्तर्गत हुने उपमेयर आत्मनिर्भर कार्यक्रममा गत पुससम्म ५०० बढी महिला समहभागी भएका छन् । सामाजिक विकास अधिकृतका अनुसार उपमेयर आत्मनिर्भर कार्यक्रमले सामुहिक सिप र तालिम दिन्छ । तालिमसँगै आवश्यक प्राविधिक उपकरण तथा केही रकमसँग विउ दिने गरेको छ ।

सामाजिक विकास शाखाका अनुसार पुससम्म इटहरीमा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्तर्गत ५ सय बढिले तालिम लिएका छन् । तालिममा कोहवर पेन्टिङ, अर्गानिक तरकारी खेती, अफिस सेक्रेटरी तालिम, क्रिस्टल तथा मोतिमाला बनाउने तालिम, झोला बनाउने तालिम, भुजिला दालमोठ बनाउने तालिम जस्ता २३ प्रकृतिक कार्यक्रमहरु समेटिएका छन् । जसको एकमुस्ट लागत ३५ लाख २६ हजार भएको शाखाले जानकारी दिएको छ ।

जोखिम कम, ६० प्रतिशत बढी कार्यक्रम सफल

व्यक्तिगत भन्दा सामुहिक लागनीमा जोखिम समेत कम भएको समाजिक विकास शाखाकी अधिकृत माया राई बताउँछिन । व्याक्तिगत रुपमा स्थानीय सरकारले गरेको लगानीको निरन्तर निगरानी नहुने, तालिममा सहभागीहरुको छनौटमा पनि असहज हुने तर सामुहिक लगानीमा त्यो जोखिम समेत नहुने उनका भनाइ छ ।

उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत तालिम लिएकाहरुमा ६० प्रतिशत बढी सफलता मिलेको राई बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर