टोक्योसहितका तीन सहरमा संकटकाल लगाउने जापानको तयारी, ओलम्पिक प्रभावित हुने चिन्ता – Nepal Press

टोक्योसहितका तीन सहरमा संकटकाल लगाउने जापानको तयारी, ओलम्पिक प्रभावित हुने चिन्ता

काठमाडौं । टोक्यो ओलम्पिक खेल सुरु हुन तीन महिना बाँकी रहँदा जापानले राजधानी टोक्योसहित ओसाका र ह्योगो सहरमा स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ ।

कोरोनाभाइरसको नयाँ प्रजाति फैलिएर स्वास्थ्य संरचनामा चुनौति सिर्जिएपछि जापानले यी तीन ठूला सहरमा नयाँ प्रतिबन्धहरु लागु गर्न लागेको हो । ती तीन सहरमा सार्वजनिक स्थानमा कडा प्रतिबन्ध लगाउन लागिएको हो ।

ओसाकामा महामारी सुरु भएयताकै सर्वाधिक संक्रमण दर देखिएको र तेस्रो स्वास्थ्य आपतकाल लागु गर्न केन्द्रिय सरकारालाई निर्देशन दिइएको त्यहाँका मेयर हिरोफुमी युसिमोराले जानकारी दिए ।

स्थानीय संचारमाध्यमका अनुसार टोक्यो गभर्नर युरिको कोइकोले पनि राजधानीमा आपतकाल लागु गर्न निर्देशन दिएका छन् । खोप अभियान चलिरहँदा पनि जापानमा नयाँ प्रजातिको भाइरस फैलिएपछि यसले कोरोना रोकथाममा चुनौति खडा गरेको छ ।

मंगलबारसम्म जापानमा ५ लाख ४२ हजार कूल संक्रमित पुगेका छन् । सोही अवधीसम्म ९ हजार ७०० जनाको कोरोनाले मृत्यु भएको छ । चौंथो लहर आएपछि विज्ञहरुले जापानमा अवस्था भयावह हुन सक्ने चेतावनी दिएका छन् । जसले गर्दा २३ जुलाईबाट सुरु हुने भनिएको टोक्यो ओलम्पिक प्रभावित हुने हो कि भन्ने चिन्ता बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर