कोरोनाका कारण भारतमा भयावह अवस्था, सहयोग गर्ने चीनको इच्छा – Nepal Press

कोरोनाका कारण भारतमा भयावह अवस्था, सहयोग गर्ने चीनको इच्छा

एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरले देशको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाइदिएको छ । देशभरका अस्पतालमा अक्सिजनको समेत अभाव रहँदा कोरोना संक्रमितहरु उपचार नपाई मृत्युवरण गर्नुपरेका समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

विहीबार २४ घण्टामा मात्र भारतमा ३ लाख १४ हजार ८ सय ३५ जना नयाँ संक्रमित पहिचान भएका छन् । त्यही अवधिमा २ हजार १ सय भन्दा बढीको निधन भएको छ । राजधानी दिल्लीसहित देशका मुख्य शहरका अस्पताल विरामीले भरिएका छन् र उनीहरुलाई अत्यावश्यक मेडिकल अक्सिजन पुर्‍याउन सकिएको छैन ।

भारतमा अहिलेसम्म १ करोड ६० लाखभन्दा धेरै नागरिक कोरोना संक्रमित भएका छन् । एकैदिन सबैभन्दा धेरै पहिचान हुने कीर्तिमानमा पनि भारतले अमेरिकालाई उछिनेको छ । स्थानीय सन्चारमाध्यमले भयावह स्थितिले अझै कति दिन निरन्तरता पाउने हो त्यसबारे अनुमान गर्न नसकिने बताएका छन् ।

यस्तो अवस्थामा एसियाली पावरहाउस चीनले छिमेकी मुलुकमा कोरोनाको बढ्दो संख्या र मेडिकल अक्सिजनको अभावमा चिन्ता व्यक्त गर्दै आवश्यक सहयोगको इच्छा व्यक्त गरेको भारतीय अखवार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गत साता मेडिकल अक्सिजनको आयातबारे बिचार गरिरहेको बताएको थियो । तर उनीहरुको प्राथमिकतामा चीन परेको थिएन । भारतले खाडी देश तथा सिंगापुरबाट मेडिकल अक्सिजन ल्याउने योजना बनाइरहेको बताइएको छ ।

विहीबार चीनको विदेश मन्त्रालयले महामारीसँग लड्नका लागि अत्यावश्यक सामाग्रीको अभाव हुनुजस्तो गम्भीर अवस्थामा सहयोगका लागि हात अगाडि बढाएको बताएको छ । उसले कोभिड-१९ जस्तो सामा मानव सभ्यताको साझा सत्रुबिरुद्ध अन्तर्राष्ट्रिय एकजुटता अपरिहार्य रहने पनि उल्लेख गरेको छ ।

भारतले गत वर्ष पनि चीनबाट मेडिकल उपकरण आपूर्ति गरेको थियो । दुवै देशले अन्य दक्षिण एसियाली देशहरुमा कोरोना खोप आपूर्ति गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *