‘प्रधानमन्त्रीले कित्ता क्लियर गर भन्नुभयो, हामीले एमालेमै रहन्छौं भन्यौं’ – Nepal Press
नेपाल टक

‘प्रधानमन्त्रीले कित्ता क्लियर गर भन्नुभयो, हामीले एमालेमै रहन्छौं भन्यौं’

कर्णालीमा भएको फ्लोर क्रस गलत हो, एमाले फुटाउको पक्षमा जादैनौं

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाही माधव कुमार नेपाल निकट मानिन्छन् । नेकपा एमालेमा विवाद बढेसँगै उनले पछिल्लो समयमा पार्टी फूटको पक्षमा नरहेको बताएका छन् ।

नेपाल पक्षका २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधिँदा शाही लगायत ८ जना भने जोगिए । नेपालप्रेससँग कुरा गर्दै सांसद शाहीले एमालेको विकल्प एमाले नै भएको बताउँदै एमाले मिल्नुको विकल्प नै नरहेको बताए । यही सन्दर्भमा उनीसँग गरिएकाे कुराकानीको सारसंक्षेपः

तपाइहरु अहिले पनि माधव नेपाल पक्षमै हो ?

होइन यो पक्ष वा त्यो पक्ष भन्दा पनि फुटको पक्षमा लागिन्न । फुट्नमा जो कोही लागेछन् भने पनि लागिन्न । फुटको पक्षमा हामी जाँदैनौं । जहाँ सूर्य हुन्छ, जहाँ एमाले हुन्छ हामी त्यहिँ जान्छौं, त्यहिँ छौं ।

हामीले एमालेकै राजनीति गरेको हो । जनताको बहुदलीय जनवादलाई अंगीकार गर्दै राजनीति गरेका हौं । यत्रो लामो त्याग र तपस्या सहित बनेको पार्टीलाई छोड्न हामी लाग्दैनौं, छोडदैनौं र सारा एमालेका कार्यकर्तालाई फेरि पनि फूटको डिलमा धकेलेर एमालेका आम कार्यकर्ताको सपनालाई हामी टुटाउँदैनौं ।

तपाई हिजोदेखि नेपाल पक्षको सांसद, अहिले ओलीसँगको वान टू वान कुरामा के पाउने सहमति भयो र माधव नेपालको साथ छाड्नुभयो ?

हामीलाई बोलाएका थिए । हामी गएका पनि हौं । हामी पार्टी एकताको पक्षमा नै छौं, थियौं । पार्टी मिलाउनुस्, मिलाउने ठाउँमा तपाई हुनुहुन्छ भनेर प्रष्ट कुरा हामीले राखेका हौं । तपाईले मिलाउन पनि सक्नुहुन्छ, सप्राईज दिनुस् भनेर हामी आएका छौं ।

प्रधानमन्त्री ओलीले म प्रयास गर्छु भनेर भन्नु भएको छ । पार्टी अध्यक्षले पक्ष विपक्ष क्लियर गर्न भन्नु भएको हो । हामीले पार्टी एकताको पक्षमा रहेको र एमालेमै रहेको कुरा बतायौं । अन्य कुनै त्यस्तो सहमति वा सुम्झौता गरिएको होइन ।

पार्टी रहेको खण्डमा मात्रै हामी रहने हो नत्र सबै कुरा खत्तम हुन्छ । हाम्रो अन्य कुनै स्वार्थ छैन बस पार्टी एकता होस, एमाले एक ढिक्का होस भन्नेकुरा अध्यक्ष ओलीसमक्ष राखेका हों । हामी एमाले नै हौं ।

नेपाल र ओली पक्षबीच कारवाहीको दौर चलिरहँदा के दुवै नेतालाई मिलाउन सजिलो छ ?

राजनीति हो कस्तो सम्भव छ र कस्तो असम्भव छ भन्ने कुरा नै होइन । विधान पढ्ने, विधानको अर्थ लगाउने, नियमावली पढ्ने, अपानी पढ्ने अर्थ लगाउने काम गरेर एमालेको अहिलेको संकटको समाधान हुँदैन ।

के गरेर एकता हुन्छ त ?

अहिले संकट गहिरिएको छ । फेरि उच्च राजनीतिक निर्णयको आवश्यकता छ । राजनीतिक सहमति गर्न आवश्यक छ ।

तपाईले भन्न खोजको कस्तो सहमति ?

फेरि पनि पार्टी एकताका लागि सहमति गर्न आवश्यक छ । कसले कति त्याग्ने भन्ने कुरा नै मुख्य कुरा हो । को कति व्याक हुने भन्ने सहमति हुनु आवश्यक छ । विगतलाई विर्सने, कुण्ठा आग्रह छाड्ने, अहंकार छोडने, विगतबाट सिक्ने र को कति चित्त बुझाउछन बुझाउने र अघि बढने यसको विकल्प छैन ।

यो विकल्प त्यति सजिलो छ र ?

त्यहि त राजनीतिक सहमति गर्नपर्छ भनेको हो । हतियार उठाएको र हतियार बोकेको शक्तिसँग त सहमति भएको छ । शान्ति प्रक्रियामा हतियार बोकेको शक्ति आएको छ । दुई ओटा पार्टीलाई उकता गरेर दुई अध्यक्ष बनाएर पार्टी एकता गरेका थिए ।

चित्त मिलेको भए यो नेकपा रहिरहन्थ्यो । त्यहाँ विधान र नियमावली खोजेर गइएको होइन । कहिलेकाही यस्ता संकट परेको समयमा झ्याप्प नयाँ खालको, नयाँ उचाईमा उठेर नयाँ शीराबाट सहमति गरेर पार्टी जोगाउन सकिन्छ । यसकालागि शीर्ष नेताहरुले नै भूमिका खेल्न आवश्यक छ । अनिमात्र पार्टी जोगिन्छ नत्र गाह्रो हुन्छ ।

विगतमा तपाईंहरु नेपाल पक्षमा नै लागेका कारण मन्त्री बन्न पाउनु भएन नि..?..

नाई नाई, यस्तो हुन्छ के, हामी ओली कहाँ बस्ने कि नेपाल कहाँ भन्ने कुुरा भन्दा पनि पार्टी भित्र बस्ने कि बाहिर जाने भन्ने कुरा हुन्थ्यो के । त्यसो हुँदा पार्टीमै बस्ने भन्ने निष्कर्ष हो । नेताहरुका कुरा गर्दा पार्टी अध्यक्ष ओली नै छन् । अरु नेताहरु पनि छन् ।

नेतासँगको सहमति असहमति, विचार दृष्टिकोण मिल्ने नमिल्ने, विश्वास जित्ने नजित्ने नेतृत्वको कुरा भयो । नेतृत्वको व्यवहार ठीक भए सहमत हुनसक्ने, गलत भए असहमत हुनसक्ने कुरा भयो । त्यस्ता विषय रहन्छन नै । तर पार्टी को हो भन्दा एमाले नै हो नि ।

एमाले र सूर्यकालागि तपाईंले यागदान दिनु भएको छ । वैशाख तीन गते कर्णालीमा फ्लोर क्रस भएको छ, यसलाई कुन रुपमा हेर्नु भएको छ ?

पार्टी निर्णय विरुद्ध हुने कुनै पनि गतिविधि गलत हुन् । कसरी ठिक निर्णय भन्न सकिन्छ र ? दलको निर्णय विपरित भएका कामहरु यहाँ मात्रै होइन जहाँ भएपनि गलन.त नै भन्छौं । त्यो गलत नै हो ।

अब हामीले भनेर सबैकुरा बेठिक भनर मानिहाल्ने, ठिक भनेर ठिक भइहाल्ने स्थिति भएन । पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएको छ । लुकाउने कुरा भएन । तल देखि माथिसम्म अविश्वासको वातावरण छ । यो परिस्थिति आयो ।

उच्च तहमा सहमति भएको खण्डमा तल पनि सम्हालिदै जान्छ । माथिल्लो तहमा सहमति भएन भने यस्ता कामहरु भइरहन्छन् । राम्रो काम नभएपनि कसलाई रोक्न सकिन्छ र ? यसकालागि नेतृत्व नै माथि उठन पर्छ ।

आग्रह पूर्वाग्रहभन्दा माथि नेतृत्व नै उठन जरुरी छ । जिम्मेवारीमा रहेका व्यक्तिले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ । हामीले हाम्रो स्थानमा गर्ने, उहाँहरुले आफ्नो स्थानमा गर्ने, एकले अर्कोलाई दोष लगाएर भन्दा पनि सबैले यसलाई सकारात्मक ढंगबाट पाठ सिक्दै अघि बढन आवश्यक छ ।

हिजो केपी ओली र नेपाल पक्षबीच भएको वार्तालाई कसरी लिनुहुन्छ ?

वार्ता एकदमै स्वागतयोग्य छ । परिणाम के आउला त्यो अलग कुरा हो तर नेताहरुबीच छलफल हुनु पनि खुशीको कुरा हो ।

यो कसरी भएको होला ?

हेर्नुहोस, एमालेका कार्यकर्ताहरु हामी सबै कोही पनि फुट चाहदैनौं । एकपटक पार्टी फुटेका कारण हामीले धेरै ठूलो नोक्सान व्यहोरोका थियौं । अब त्यस्तो गर्नु हुँदैन भनेर हामी सबैले राजनीतिक नेतृत्वलाई दबाब दिइरहेका छौं ।

अझ भन्ने हो भने विगतको भन्दा फरक दृष्टिकोण अहिले एमालेका नेताहरुमा बढिरहेको छ । पार्टी एकता जोगाउने पक्षमा नेताहरुलाई सबैले दबाब दिइरहेका छौं । यस्तो गर्नुको मुख्य कारण भनेकै एमालेले मात्रै यो देशका जनताको माग सम्वोधन गर्नसक्छ, जबजको आधारमा समाजवादसम्म पुग्न सकिन्छ र जनताका न्यूनतम मागहरु, इच्छाहरु पुरा गर्न सकिन्छ भन्ने नै हो ।

विगतमा एक नेताले अर्को नेतालाई आफ्नो स्वार्थ अनुकुल कुरा लगाउने प्रचलन थियो, त्यो तोडिएको छ । अर्थात अहिले सबै पार्टी एकतामा लागेका कारण नेताहरु पनि कार्यकर्ताको साथ र चाहना बमोजिम सहकार्य गर्न तयार हुनु भएको हो । फेरि पनि एमालेको विकल्प एमाले नै हो । एमाले बनाउन जति समय लागेको थियो, त्यसलाई ध्वस्त पार्ने छुट हामी कार्यकर्ताले एकाध नेतालाई दिनु हुँदैन भन्ने मत हामीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर