त्रिकोणात्मक टि-२० सिरिज

आगो ओकल्दै नेपाली ब्याट्सम्यान, अचानक कसरी भयो कायाकल्प ?

काठमाडौं । नेपाली क्रिकेटको परम्परागत टाउकोदुखाइ हो ब्याटिङ । ब्याटिङको कमजोर स्तरले नै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको माथिल्लो स्तरमा उक्लिन रोकिरहेको छ ।

तर, हाल काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा नेपालको प्रदर्शनलाई हेर्ने हो भने ब्याट्सम्यानहरुको अर्कै रुप देखिन्छ । नेपालले खेलेका ४ वटै म्याचमा नेपालको ब्याटिङ जम्जमाएको छ । यसअघि सम्भवत कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली ब्याट्सम्यानले यसरी खुलेर खेलेका थिएनन् ।

यो सिरिजमा नेपालसँग नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल र नेदरल्यान्ड्सले शनिबार फाइनल खेल्ने तय भइसकेको छ । नेपालले खेलेका चारमध्ये तीन म्याच नेपालका लागि फुलको थुंगामा हिँडेजस्तो भयो । नेदरल्यान्ड्ससँगको एउटा म्याचमा साँघुरो अन्तरले पराजित भयो । यी चारवटै म्याचको प्रदर्शनमा नेपालको ब्याटिङ अब्बल स्तरको थियो ।

अघिल्ला दुईवटा म्याचमा नेपालले दोस्रो ब्याटिङ गर्दै समान ९-९ विकेटको जित हासिल गर्यो । पछिल्ला दुई म्याचमा पहिलो ब्याटिङ गर्दै नेपालले रनको पहाड खडा गर्न सफल भयो । नेपालले प्रत्येक म्याचमा छक्काको वर्षा गरिरहेको छ । आज एउटै खेलमा नेपालले १९ छक्का प्रहार गर्यो, जुन सर्वाधिक छक्काको विश्वरेकर्डमा छैटौं धेरै हो ।

नेपालले यो प्रतियिोगिताअघि एउटा टि-२० म्याचमा मात्रै दुई सयको आँकडा पार गरेको थियो, त्यो पनि भुटानजस्तो कमजोर टोलीविरुद्ध । तर, यही प्रतियोगितामा नेपालले दुईपटक २ सय रनको आँकडा पार गरेको छ । कुनै पनि स्तरको टि–२० क्रिकेटमा २ सयभन्दा माथिको स्कोरलाई भयानक मानिन्छ । सामान्यतया एक सय ५० स्कोर बनाउन पनि धौधौ हुने नेपालले लगालग दुई सय रन कटाउनु ब्याटिङको ‘कायाकल्प’ नै हो ।

कसको योगदान कति ?

नेपालका लागि ओपनर कुशल भुर्तेलले डेब्यू प्रतियोगितामा नै लगातार ३ वटा अर्धसतक प्रहार गर्दै किर्तिमान कायम गरे । उनी यो प्रतियोगितामा हालसम्मका उच्च स्कोरर हुन् ।

कुशलको रन स्कोरिङ मात्र नभएर स्ट्राइक रेट पनि राम्रो छ । ६७ को औसत तथा १३८ भन्दा बढीको स्ट्राइक रेटमा उनको ब्याटबाट २०१ रन निस्किसकेको छ । उनले १६ छक्का र १३ चौका प्रहार गरेका छन् ।

अर्का ओपनर आसिफ शेखले पनि एक अर्धसतकसहित ४ खेलमा १३८. रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानका सूचीमा तेस्रो स्थानमा रहेका उनले ४६ को औसत र १३४ को स्ट्राइक रेट कायम गरेका छन् ।

ओपनर जोडीपछि शानदार फर्ममा देखिएका ब्याट्सम्यान हुन् दिपेन्द्रसिंह ऐरी । तीन म्याचमा ९९ रन जोडेका ऐरीको स्ट्राइक रेट झण्डै २०० छ भने औसत ५० को नजिक छ । विष्फोटक अन्दाजमा खेलिरहेका उनले एक अर्धसतक बनाएका छन् ।

कप्तान ज्ञानेन्द्र मल्लले धेरै ब्याटिङको मौका नपाए पनि परिस्थिति अनुसार आक्रामक खेल्दै टिमलाई योगदान दिएका छन् । उनले ३ इनिङमा १७२ को स्ट्राइक रेट र ३७ औसत कायम गर्दै ८१ रन बटुलेका छन् ।

आज मलेसियाविरुद्धको खेलमा नेपालका अलराउन्डर करण केसीले ब्याटिङको ‘पागलपन’ देखाए । उनी किर्तिमानी अर्धसतकको नजिक पुगेका थिए, तर ४५ रनमा आउट हुन पुगे । ४५ रन बनाउँदा ७ छक्का प्रहार गरेका करणले तीन रन मात्रै दौडिएर लिएका थिए ।

नेपालका अन्य ब्याट्सम्यानहरुले खासै ब्याटिङको मौका पाएका छैनन् ।

प्रशिक्षकको प्रभाव र ब्याटिङमैत्री पीच

यो प्रतियोगिताअघि नेपालको चिन्ता भनेकै ब्याटिङ थियो । ओपनिङ कसले गर्ने भन्ने टुंगो थिएन ।

कोरोनाका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका ब्याट्सम्यानहरु यसै पनि दवावमा थिए । नेपालको ब्याटिङका मेरुदण्ड पूर्वकप्तान पारस खड्काले म्याचको अघिल्लो दिन चोटका कारण सिरिज गुमाउन पुगे । त्यसल नेपालको मनोबल थप खस्केको थियो ।

अन्तिम समयमा नेपालले दुई डेब्यूव्वाइ कुशल भुर्तेल र आसिफ शेखलाई ओपनरको रुपमा उतार्यो । अनुभवी ब्याट्सम्यानलाई पछाडि राखेर दुई युवालाई खुलेर पाखुरा चलाउने अख्तियारीसहित ओपनिङमा पठाउने निर्णय अन्ततः नेपालका लागि ‘मास्टरस्ट्रोक’ सावित भयो । ओपनिङ जोडीले ‘टोन सेट’ गरेपछि अरु ब्याट्सम्यानले त्यसलाई पछ्याएका छन् ।

चारवटा म्याचमा उच्चस्तरको ब्याटिङ हेरिसकेपछि धेरैको मनमा उब्जेको प्रश्न हो नेपालको ब्याटिङमा एकाएक कसरी चमत्कारिक सुधार भयो ? यसको एउटै कारण नहुन सक्छ । नेपाली ब्याट्सम्यानको फरक माइन्ड सेट, सहज पिच, विपक्षीको मामुली बलिङका मेलजोलका रुपमा यो परिणामलाई हेर्नुपर्ने हुन्छ ।

यसअघि नेपाली ब्याट्सम्यानहरु खुलेर सट हान्न हिच्किचाउँथे । विकेटमा टिक्ने कुरामा मात्रै उनीहरुको बढी ध्यान रहन्थ्यो । प्रशिक्षकले पनि ‘विकेट खेर नफाल्न’ बढी जोड दिने गर्थे । तर, नयाँ प्रशिक्षकका रुपमा डेव वाटमोर आएपछि ब्याटिङ रणनीति फेरिएको देखिन्छ ।

अर्काे कारण भनेको पिच पनि हो । त्रिवि क्रिकेट मैदानको पीच आमरुपमा ब्याटिङ फ्रेन्डली नै मानिन्छ । यद्यपि, विगतमा त्यहाँको पीचले स्पिनरलाई केही सपोर्ट गथ्र्यो । तर, यस प्रतियोगितामा स्पिनरहरुले पनि मज्जाले रन खाइरहेका छन् । सन्दिप लामिछानेसमेत महंगो सावित भएका छन् । नेपालले नेदरल्यान्ड्सविरुद्ध २ सय ६ रनको स्कोर पनि रक्षा गर्न नसक्नुले पिचमा बलरहरुका लागि केही पनि छैन भन्ने मान्न सकिन्छ ।

तेस्रो कारण भनेको विपक्षीको बलिङ पनि धारिलो देखिएको छैन । नेदरल्यान्ड्स बलियो टिम भए पनि उसको ‘स्ट्रेन्थ’ बलिङभन्दा ब्याटिङ हो । यो प्रतियोगितामा नेदरल्यान्ड्सका केही फस्र्ट च्वाइस बलरहरु अनुपस्थित छन् । त्यसको फाइदा नेपालले उठाएको छ । मलेसिया यसै पनि नेपालभन्दा कमजोर टिम हो ।

फाइनलमा के होला ?

नेपाल र नेदरल्यान्ड्स पर्सी फाइनल भिड्दैछन् । त्रिविको पिचले यदि यही स्वभाव देखाइरह्यो भने ‘हाइस्कोरिङ’ फाइनल हुन सक्छ ।

फाइनलअघिको समग्र प्रदर्शन नेदरल्यान्ड्सभन्दा नेपालको राम्रो छ । तर, हेड टु हेडमा हेर्दा दुवैले एक–अर्कालाई हराएका छन् । पहिलो म्याचमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो भने अर्कोमा नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले जितेको थियो ।

तर, यी नतिजाहरुले फाइनलमा खासै अर्थ राख्दैनन् । फाइनल जित्न फाइनलमै राम्रो खेल्नुपर्छ । मैदानमा जाँदा नेपालको मनोबल उच्च हुनेछ, तर खराब सुरुवात भयो भने तुरुन्तै दवावमा आइहाल्छ । यदि नेपालले नेदरल्यान्ड्सलाई हराएर फाइनल जित्यो भने त्यसले प्रशिक्षक वाटमोरको सुखद सुरुवात सुनिश्चित गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *