ओली-नेपाल भेट : तस्बिरले झुक्यायो मात्रै, कुरा मिलेन ! – Nepal Press
टिप्पणी

ओली-नेपाल भेट : तस्बिरले झुक्यायो मात्रै, कुरा मिलेन !

काठमाडौं । पार्टी विभाजनको डिलमै पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अचानक संवादमा जुटेको कुराले बुधबारदेखि देश तरंगित छ । नेतृत्वको झगडाले आहत बनिरहेका पार्टी कार्यकर्ताले ‘आइस ब्रेक’ का कामना गरेका छन् । बुधबार करिब दुई घण्टा भलाकुसारी गरेका ओली र नेपाल दुवैले वार्ताबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएनन् । तर, ‘प्रफुल्ल मुद्रामा कुराकानी भएको’ भन्ने प्रधानमन्त्रीका सल्लाहकारहरुको प्रतिक्रियाले कार्यकर्ताहरु पनि प्रफुल्ल बने ।

आज वार्ताकै बीचमा सार्वजनिक भएको तस्बिर पनि आशा जगाउने खालकै थियो । दुवै नेताहरु रिल्याक्स्ड मुडमा मेरियट होटेलको झ्यालबाट काठमाडौंको क्षितिज नियालिरहेका थिए । वार्ता तनावरहित र सुरुचीपूर्ण रहेको सन्देश तस्वीरले दिन्थ्यो । कतिपयले चाहिँ मुल कुरा मिलिसकेर नेताहरु धरहरा हेर्दै व्यक्तिगत÷पारिवारिक कुराकानी गरिरहेकोसम्म अनुमान लगाए ।

तर, वार्ता सकिएपछि नेपालले दिएको प्रतिक्रियाले सबै आशामा तुषारापात भएको छ । कार्यकर्तालाई पनि निराशाले छोपेको छ ।संवादातालाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भने– ‘हिजो थोरै आशावादी थिएँ, आज तिक्ततापूर्ण कुरा भयो । भन्न मिल्ने गरी कुनै पनि प्रगति छैन ।’ नेता नेपालको प्रतिक्रियाबाट खिच्न सकिने सार हो– दुई दिनको वार्ताबाट ठोस परिणाम निस्केन ।

स्रोतका अनुसार आजको वार्तामा दुवै नेताले आआफ्नै अडानलाई दोहो¥याएका छन् । नेपालले भोलि हुन लागेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक रोक्न, २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन र २०७७ चैत २८ गते र त्यसयताका सबै निर्णय खारेज गर्न ओली समक्ष सर्त राखेका थिए ।

ओलीले पनि यसअघिका चट्टाने अडान दोहोर्याउँदै आफूलाई कुनै पनि सर्त मन्जुर नभएको, गुटलाई एमालेमा ‘स्पेस’ नभएको र गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिन सकिने जवाफ दिए । यही विन्दूबाट कुरा अगाडि बढ्नै सकेन । तिक्ततामा गुलियोपन बढेन । अहिले एमाले पार्टी राजनीतिक जीवनको संगीन मोडमा उभिएको छ ।

कारबाहीको पूर्वतयारी स्वरुप नेपाल पक्षका २७ संघीय र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधिएको छ । अधिकांश सांसदले तोकिएको समयभित्रै आज स्पष्टीकरणको जवाफ फर्काएका छन् । र, दशौं महाधिवशेन आयोजक कमिटीको बैठक भोलि ११ बजे डाकिएको छ । एमालेको संस्थापन पक्षले अहिलेसम्म बैठक सार्ने या स्थगन गर्नेबारे केही नसोचिएको बताएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराई स्पष्टीकरणको विश्लेषण गरेर कारबाही अघि बढ्ने बताउँछन् । कारबाही नरोकिने उनको संकेतले भोलि एमाले सग्लो रहने या नरहने सन्दर्भमा निर्णायक दिन हुने ठानिएको छ ।

तैपनि आशा र आशंका गर्न सकिन्छ– ओलीको यो पहलकदमी केका लागि हो ? केवल औपचारिकता पुरा गर्न या साँच्चै पाटी विभाजन रोक्न ?

भित्र बैठक चल्दै गर्दा मेरियट हाटेलको प्राङ्गणमा पत्रकारमाझ चर्चा थियो– ओलीको यो पहल पुस ४ को जस्तै पनि हुन सक्छ । नेकपा विभाजनको डिलतिर पुग्नै आँटेका बेला त्यस दिन ओलीले तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमै गएर भेटेका थिए । रामबहादुर थापा भेट्न मन्त्रि निवास पुल्चाकमै पुगेका थिए । वामदेव गौतमहरुसँग संवाद गरेका थिए ।

त्यसबेला धेरैको अपेक्षा थियो–अब नेकपा विभाजनबाट जोगिने भयो । तर, भइदियो उल्टो । ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे । यहीबाट नेकपा विभाजनको औपचारिक शुरुवात भयो । यही अवस्था एमालेको हकमा पनि दोहोरिन सक्छ भन्ने बिश्लेषण ओली–नेपाल संवादलाई ‘कभरेज’ गर्न पुगेका पत्रकारहरुको थियो ।

एकताका लागि अधिकतम पहल गरेको सन्देश दिनलाई वार्ताको पहल ओलीले गरेको तर कुनै पनि सर्त स्वीकार नगरिने ओली निकट बताउँछन् । त्यसलाई बुझिने गरी स्रोतले भन्यो, ‘जसरी पुस ४ गते प्रचण्डको निवास खुमलटारमै पुगेर ओलीले १९ बुँदे अभियोगपत्र फिर्ता लिन र पार्टी एकता जोगाउन आग्रह गरेका थिए, त्यसरी नै माधव नेपालसँग मेरियटमा वार्ता गरेका हुन् । एकताका लागि अधिकतम पहल गरेको सन्देश दिनलाई यो वार्ता भएको हो तर माधव नेपालका कुनै पनि सर्त मान्ने पक्षमा ओली छैनन् ।’

यस्तोमा सबै प्राधिकार ओलीको हातमा छ । बल ओलीकै कोर्टमा छ– कारबाहीका पाइला अगाडि नबढाएर एमाले विभाजन टार्ने कि वास्ता नगर्ने ? बुधबार नेपाल पक्षका नेता योगेश भट्टराईले बालुवाटारमा गएर ओलीलाई भेटेका थिए । भट्टराईले ओलीलाई ‘उदार मनका साथ सबै नेतालाई समेटेर अघि बढ्न’ आग्रह गरेका थिए । त्यसको पृृष्ठभूमिमा ओली–नेपाल संवादमा पनि जुटेका थिए ।

नेपाल पक्षसँग भट्टराईको आग्रह मानेर ओलीले ‘उदार मन’ देखाउँछन् कि भन्ने आशा छ । व्यक्तिगत रुपमा आफूसँग संवादमा आउने सबै नेतालाई समेटेर लैजान आफू तयार रहेको ओलीले बताएका छन् । तर माधव नेपाल र भीम रावलमाथि भने थप कारबाहीको मुडमा ओली रहेको समेत बताइन्छ । एमाले विग्रहकाे चुलीमा पुग्छ या जोगिन्छ– हेर्नलाई भने सम्भवतः धेरै कुर्नुपर्ने छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर