वाणगंगामा १ सय २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गृह निर्माणका लागि सम्झौता – Nepal Press

वाणगंगामा १ सय २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गृह निर्माणका लागि सम्झौता

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकाले १ सय २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गृह निर्माणका लागि चिनियाँ ऊर्जा कम्पनी राइजिङ्ग एनर्जीसँग सम्झौता गरेको छ । बिहीबार एनर्जी र नगरपालिकाबीच ११ अर्ब २५ करोड लागतमा गृह निर्माण गर्नका लागि सौर्य ऊर्जा उत्पादन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नगरपालिकाको कार्यालयमा चिनियाँ ऊर्जा कम्पनीका कार्यकारी निर्देशक जोउ हि क्यान र नगर प्रमुख मंगलप्रसाद थारुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नगरपालिका वडा नम्बर ७ खारखानी क्षेत्रमा सौर्य ऊर्जा उत्पादन गृह स्थापना गरिने छ । परियोजनाका लागि चिनियाँ कम्पनीसंग ३० वर्षे सम्झौता भएको छ ।

यहाँ उत्पादन भएको १ सय २५ मेगावाट विजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । लुम्बिनी प्रदेशमा ऊर्जा संकट हटाउन, रोजगारी सृजना र स्थानीयस्तरको विकासका लागि परियोजना कोसेढुंगा सावित हुनसक्ने परियोजनाका नेपाल प्रतिनिधि छविलाल सिटौलाले बताए ।

लुम्बिनी प्रदेशका सबै जिल्लालाई लोडसेडिङमुक्त गर्न र लुम्बिनी प्रदेश क्षेत्रमा उद्योग तथा कलकारखानाको विस्तारमा यो परियोजनाबाट सहयोग पुग्नेछ । परियोजनाबाट वाणगंगा क्षेत्रको सुन्दरीकरण, रोजगारी र स्थानीय क्षेत्रको विकास र प्रचारप्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख थारुले बताए ।

यो परियोजनाले कपिलवस्तुको नगरपालिकाको मुहार फेरिने लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीको भनाइ छ । उनले यो योजना निर्माण गर्न १ सय २५ विगाह जग्गा आवश्यक पर्ने भएकाले वनले नरोके समयमा निर्माण हुने बताए ।

हस्ताक्षर गर्न चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र नेपालका प्रतिनिधि राइजोन प्रतिनिधि छविलाल सिटौला बाणगंगा पुगेका थिए । २० मेगावाट स्टोरेज क्षमताले नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ ।

सहज ढंगले काम भएमा आयोजनाको निर्माण कार्य बढीमा ३ वर्षभित्र सकिने छ । नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसंगको सम्झौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले बताए । परियोजना वडा नम्बर ७ को सारेको खारखानी पार्क र पिक्निक स्पोर्ट नजिक बन्ने भएपछि वडावासी धेरै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले बताए ।

नगर प्रमुख थारुले यो नगरको लागि सबैभन्दा ठूलो उपलब्धि हुने बताए । २०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर