तनहुँको भीमादमा वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित) – Nepal Press

तनहुँको भीमादमा वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा कार्यालय अरौंदीस्थित नवदूर्गा टोलमा बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सोही वडाबासी चिरञ्जीवी खनाललाइ कुटेका हुन् ।

खनाललाई वडाध्यक्ष श्रेष्ठले मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत अपलोड भएको छ । ४० सेकेण्डमात्रै रहेको उक्त भिडियो अघिल्लो भाग काटेर आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाउन खोजेको वडाध्यक्ष श्रेष्ठको दावी छ ।

आमाको देहान्तपछि हकवालाको पत्र बनाउन आउँदा विवाद भएको खनालले बताए ।

‘वडाबाट हकवालाको सिफारिस लैजानुपर्ने थियो । त्यो पत्र बनाउन आएकोबेला उहाँ फिल्डमा हुनुहुन्थ्यो । मेरो सिफारिस हेरेर म साइन गर्दिनँ भन्नुभो,’ उनले भने, ‘एउटा जग्गा मेरो लालपूर्जा भएको जग्गामा घर बनाउन रोकिदिएको थिएँ । उहाँले एक्कासी तैंले घर बनाइदिन्छस् भने साइन गर्छु । नत्र वडामा तेरो कुनै पनि काम हुँदैन भन्नुभो ।’

खनालले अगाडि भने, ‘मैले उहाँलाई म आज इर्मेजेन्सी जानुपर्नेछ । यसमा साइन गर्दिनुस् । भन्दै थिएँ । उहाँले एक्कासी आवेशमा आएर हिर्काउनुभो । खासमा भएको त्यही जग्गाकै कारणले हो ।’

फिल्डमा पनि वडाध्यक्ष श्रेष्ठले आफैं बोलाएको खनालले बताए । ‘आज उहाँ एकदमै उग्र हुनुहुन्थ्यो । हिजोअस्ति त्यस्तो देखिनुहुन्नथ्यो । सल्लाहसुझाव दिनुहुन्थ्यो’ उनले भने ।

वडाध्यक्ष भन्छन्: फसाइयो

वडाध्यक्ष श्रेष्ठले सुकुम्बासीको नाममा वडाले घर बनाइदिन लागेको विषयमा विवाद सुरु भएको नेपाल प्रेसलाई बताएका छन् । उनले ती सुकुम्बासी महिला त्यहाँ दशकौंदेखि त्यहाँ बसिरहेको र खनालले ‘जालझेलपूर्ण’ जग्गा आफ्नो नाममा दर्ता गरेकोसमेत आरोप लगाए ।

‘ती महिला तीसौं वर्षदेखि त्यहाँ बसिरहेकी छिन् । ७२ सालले भूकम्पले घर भत्काइदिएको थियो । पहिलो किस्ता पाएर घर पनि बनाइसकेकी थिइन्,’ वडाध्यक्ष श्रेष्ठले नेपाल प्रेससँग भने, ‘तर, दोस्रो किस्ता ल्याउने बेला भाइ (चिरञ्जीवी)ले आफ्नो नाममा जग्गा भएको दाबी लिएर आए । मलाई थाहा छ त्यो पनि जालझेलले बनाएका हुन् ।’

जग्गाबारे मदालतमा मुद्धा पनि परेको, जिल्ला अदालतले जग्गा ऐलानी नै भएको फैसला गरेको तर, पछि सर्वोच्चमा मुद्दा पुग्दा सर्वोच्चले जग्गा खनालकै नाममा सदर गरिदिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

खनालले जग्गाबाट ती महिलालाई हटाउनुपर्ने निवदेन लिएर वडामा आएपछि विवाद भएको उनले बताए । ‘ती महिलाको तर्फबाट पनि निवदेन आएको छ । दुई वटा निवेदनलाई एकैचोटि अन्यायपूर्ण तरिकाले कसरी फैसला गर्न सकिन्छ ?’ उनले भने, ‘दुवैलाई राखेर कुरा गर्नुपर्यो भनेको भाइले आजै, अहिल्यै गर्नुप¥यो भन्न थाल्नु भयो ।’

विवादकै क्रममा सेवाग्राही खनालले ढुंगा टिपेर हान्न खोजेपछि आफूपनि आवेशमा आएर प्रतिकारमा उत्रेको वडाध्यक्ष श्रेष्ठले बताए । ‘भाइले कुरै नसुनेर आजै, अहिल्यै भनेर एकोहोरो झगडा गर्न थाल्नुभो । २ वटा ढुंगा टिपेर मलाई हान्न थाल्नु भो । त्यसपछि मलाई पनि रिस उठ्यो । प्रतिकार गर्नेबेला घटना घटेको हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *