हान्न खोजेको थिएँ.. बल राम्रो आयो र कीर्तिमान बनेन : करण केसी – Nepal Press

हान्न खोजेको थिएँ.. बल राम्रो आयो र कीर्तिमान बनेन : करण केसी

काठमाडौं । ‘बिग हिटर’ करण केसी अद्भुत इनिङका लागि नेपाली क्रिकेटमा प्रख्यात छन् । नेपाललाई एकदिवसीय मान्यता दिलाउँदै गर्दा नेपालका लागि गेम चेन्जर बनेका करणको शानदार इनिङ आज पनि त्रिवि क्रिकेट मैदानमा देखियो ।

ट्राईनेसन्स टी-२० अन्तर्राष्ट्रिय सिरिजको लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो सर्वाधिक २१७ रनको योगफल तयार गर्‍यो । नेपालको यो इनिङमा सबैभन्दा धेरै व्यक्तिगत स्कोर करण कै नाममा रह्यो । १३ बलको सामना गरेका करणले १२ बलमा नै ७ छक्कासहित ४५ रन बनाइसकेका थिए । ट्वान्टी-२० मा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा छ ।

तर, आज करणले त्रिवि क्रिकेट मैदानमा गरेको छक्काको वर्षा हेर्दै गर्दा त्यो कीर्तिमान तोडिने वा बराबरी हुने अनुमान सबैले गरे । तर, मलेसियन बलर साइद अजिजले फालेको २०औं ओभरको दोस्रो बलमा अनवार रहमानले शानदार डाइभिङ क्याच गरेसँगै करण कीर्तिमान बनाउन असफल रहे । हुनत! कीर्तिमान बनाउनबाट चुके पनि नेपाललाई शानदार २१७ रनको योगफलतर्फ डोर्‍याउन सफल भएका करणलाई आफू ब्याटिङमा जाँदा कीर्तिमानबारे थाहा थिएन ।

‘मलाई त थाहा थिएन । तर, बाहिरबाट एउटा छक्का अझै भनिरहेका थिए, त्यसो हुँदा मलाई महसुस भइसकेको थियो कि केही न केही कीर्तिमान पक्कै होला,’ करण भन्छन्, ‘हान्छु भनेर सोचेकै थिएँ । तर, राम्रो बल आयो ।’

आज एउटा मौका गुमे पनि खेलिरहेसम्म यस्ता मौका फेरि पनि आउनेमा करण विश्वस्त छन् ।

‘आज मैले मौका गुमाएको भन्दा पनि.. जहिलेसम्म खेलिन्छ, मौका पाइन्छ । आज एउटा मौका गुम्यो,’ उनले भने, ‘भविष्यमा पक्कै लाग्छ । नराम्रो महसुस भएको छैन । राम्रै भयो । लागेको भए अझै राम्रो हुन्थ्यो ।’

टोलीमा आफ्नो रोल नै ठूला सट गरेर खेल सकाउने रहेको र त्यसै अनुसार क्रिजमा उत्रिएको करण सुनाउँछन् ।

‘मेरो रोल नै हिटिङ गरेर (ठूला सट प्रहार गरेर) गेम फिनिस गर्ने हो । म आज क्रिजमा उत्रिँदा तीन ओभर बाँकी थियो,’ उनले भने ‘पहिलो बलमै बाउन्ड्री चाहिँ लिन्छु भन्ने सोचेर गएको थिएँ । त्यसपछि… कहिले काहीँ हुन्छ, लागेपछि लागेको लाग्यै नि बल ब्याटमा कनेक्ट भइरह्यो ।’

२०० कटाउने लक्ष्य लिएर क्रिजमा उत्रिएको करणले सुनाए, ‘म क्रिजमा उत्रिँदा नेपालले १४८ रन बनाइसकेको थियो र तीन ओभर बाँकी थियो । र, मैले जसरी पनि २०० रन कटाउँछु भन्ने सोचेर गएको थिएँ ।’

आफ्ना ठूला सट खेल्नका लागि पावर चाहिने र त्यो पावर फिजिकल फिटनेसबाट आउने करण बताउँछन्, ‘फिजिकल फिटनेसको राम्रो प्रयोग गरिरहेको छु ।’

करणको इनिङले गद्‍गद् भएका कप्तान ज्ञानेन्द्र मल्ल पनि आज एक मौका गुमेको तर फेरि त्यो मौका आउन सक्ने बताउँछन् ।

‘डग आउटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमानको कुरा थियो । त्यो समयमा हामी २०० रनभन्दा माथिको योगफल तयार गर्न सक्छौं कि सक्दैनौं जस्तो भइरहेको थियो,’ कप्तान ज्ञानेन्द्र भन्छन् ।

नेपालले लगातार विकेट गुमाइरहेका बेला करणले इनिङ सम्हालेको र नेपालले २०० रन भन्दा धेरैको योगफल तयार गर्न सफल भएको कप्तान ज्ञानेन्द्र बताउँछन् ।

‘ब्याक टु ब्याक एकै ओभरमा विकेट गइसकेपछि गेम स्लो हुन्छ कि जस्तो लागेको थियो । तर, करणले जसरी छक्काहरू प्रहार गरेर स्टार्ट लियो, त्यसले गर्दा हामी २०० भन्दा माथिको योगफल तयार गर्न सफल भयौं,’ उनी भन्छन्, ‘जसले अझै एउटा मनोवैज्ञानिक लक्ष्य थियो भनौं २०० रनभन्दा धेरै बनाउने । त्यो पनि मिट भयो । सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान पनि बढ्छ जस्तो लागेको थियो । तर, हार्ड लक । अर्को पटक करणले गर्न सक्छ जस्तो लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर