स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो) – Nepal Press

स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो)

फ्लोर क्रस गर्ने सांसदलाई पार्टीबाट निष्कासन गर्छौं

काठमाडौं । नेकपा एमालेले सांसदले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरी थप कारवाही अघि बढ्ने बताएको छ । कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएको आरोपमा एमालेले संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले स्पष्टीकरणको जवाफ आउन थालेको भन्दै त्यसलाई विश्लेषण गरी कारवाही प्रक्रिया बढाउने बताएका छन् । केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टीकरण पत्र पठाएको भट्टराईले जानकारी दिए ।

उनले भने, ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरू भएका छन् । कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहने केही व्यक्तिहरूसँग पटक-पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरू हुने, अँध्यारा कोठाहरूमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिँड्ने ? स्पष्टीकरण बुझाउने क्रम जारी नै छ । त्यसको विश्लेषण गरेर हामी थप कारवाही अघि बढाउँछौँ ।’

कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उल्लंघन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै प्रमुख सचेतक भट्टराईले बताए । ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पार्टीले निष्कासन गर्ने पनि उनले जानकारी दिए ।

‘कर्णाली प्रदेशका पाँच जना विधायकले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टीकरण सोधेको छ । उहाँहरूमाथि पार्टीले कारवाही गर्छ । पार्टीले निष्कासन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर