संसदीय समितिमा सांसद र सभापतिको रोचक सवाल–जवाफ – Nepal Press

संसदीय समितिमा सांसद र सभापतिको रोचक सवाल–जवाफ

सांसदको प्रश्नः मन्त्रीको मूल्य बढेकाे हाे ?, सभापतिको जवाफः मूल्यबारे थाहा भएन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । समितिले गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र गृह सचिव महेश्वर न्यौपाने तथा स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बैठकमा बोलाएको थियो ।

कोरोनाको दोस्रो लहरले निम्त्याएको जटिलता र नागरिकको स्वास्थ्य सुरक्षा सम्बन्धी छलफलको एजेण्डा तय भएकाले समिति बैठकमा सबै सदस्य आउने अनुमान गरिएको थियो । तर बैठकको निर्धारित समय घर्किसक्दासम्म मन्त्री आएनन् ।

गृह मन्त्रालयका तर्फबाट गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज दाहाललाई पठाए भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट स्वास्थ्य सचिव लक्ष्मण अर्यालले मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठलाई पठाए । दुवै जना मन्त्रालयका सहसचिवले आफूलाई सचिवले पठाएको जानकारी गराएपछि बैठक अघि बढ्यो । बैठकको सुरुमा दुवै जना सहसचिवले पालैपालो आफ्ना कुरा राखे ।

उनिहरुले कुरा राखिसकेपछि समिति सभापति शशी श्रेष्ठले एउटा सूचना छ भनेर जानकारी गराईन । उनको सूचना थियो, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई बैठकमा बोलाएका थियौ । उहाँसँग फोनमा सम्पर्क पनि भयो, तर मन्त्री ज्यूले सरकारले नै भिडभाडमा नजान भनेकाले आफूबाट नै भिडभाडमा नजाने नियमको पालना गर्ने भन्दै बैठकमा नआउने बताए । यदि जुममार्फत बैठक हुन्छ भने आफू सहभागी हुने भन्नुभएको छ ।’

सभापति श्रेष्ठले सूचना भन्न नपाउँदै समिति सदस्य नवराज सिलवाले प्रश्न गर्दै भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यूको मूल्य बढी भो कि क्या हो ।’

समिति सभापति श्रेष्ठले जवाफ दिदै भनिन्, ‘मूल्य त मलाई थाहा भएन ।’

सूचना बाँकी नै रहेकाले सभापति श्रेष्ठले थप्दै भनिन्, ‘गृहमन्त्री रामबहादुर थापाले फोन उठाउनुभएन, म्यासेज पनि गरेको थिएँ, रिप्लाई दिनुभएन । त्यसैले उहाँहरुलाई अनन्तकालसम्म कुर्न सक्ने कुरा भएन, त्यसैले बैठक बोलाइएको हो । बोलाइनु नै पर्छ ।’

सूचना सुनाएलगत्तै सांसदको बोल्ने पालो आयो । समिति सभापतिले पालैपालो सबैलाई बोल्न लगाइन् ।

तेस्रो नम्बरमा बोलेकी समिति सदस्य मिना पाण्डेले सुरुमा नै मन्त्री र सचिवको सहभागिता नभएको बारेमा व्याग्यात्मक प्रश्न गर्दै भनिन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले समितिको बैठक जरुरी नठाने पनि आफ्नो स्वास्थ्यप्रति धेरै चिन्तित हुनुहुँदोरहेछ । जे होस् जनताको चिन्ता भन्दा उहाँलाई आफ्नो चिन्ता बढी रहेछ ।’

त्यसपछि बोल्ने पालो आयो समिति सदस्य नवराज सिलवालको । प्रायजसो समितिका बैठकमा कडा रुपमा प्रस्तुत हुने सदस्य सिलवाल आजको बैठकमा पनि त्यसरी नै प्रस्तुत भए । भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रीले १८–२० जनाको उपस्थितिमा हुने महत्वपूर्ण संसदीय समितिको बैठकमा आउन नमानेकोमा धन्यवाद । अनि सचिव चाहीँ किन नआएको ? संसदीय समितिको बैठकमा मन्त्री र सचिवले नआउनु भनेको संसदमाथिको अवहेलना हो । यसअघिका दिनमा पनि यस्तै भएको छ । अबका दिनमा बिना मन्त्री र सचिवको उपस्थितिमा बैठक नबोलाइयोस् सभापति ज्यू ।’

समिति सदस्य रेखा शर्माले पनि बैठकमा मन्त्री र सचिव उपस्थित नभएको विषयबाटै बोल्न सुरु गरिन्, ‘बैठकमा मन्त्री र सचिवको उपस्थिति अनिवार्य थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री आउनै नमान्ने अनि गृह मन्त्री सम्पर्कमा नै नआउने यस्तो पनि हुन्छ ? समितिको बैठकलाई अवज्ञा गर्न कुनै पनि हालमा मिल्दैन । यस्तो विषयमा पनि निर्देशन दिन जरुरी छ । तर मन्त्री र सचिवको उपस्थिति बिना बैठक नै बस्नुहुन्न भन्ने पक्षमा भने म छैन ।’

समिति सदस्य महेश्वरजंग गहतराजले पनि मन्त्री र सचिवको बैठकमा सहभागिता नभएको विषयमाबाट बोल्न सुरु गरे । उनले भने, ‘यस बैठकमा मन्त्री र सचिव अनिवार्य उपस्थित हुनै पर्ने थियो, तर दुखद कुरा हुनुभएन । आगामी दिनमा बैठकमा अनिवार्य उपस्थित हुने कुरा सुनिश्चत हुनुपर्छ ।’

बैठकमा ढिलो गरी पुगेकी र अन्तिममा बोलेकी समिति सदस्य लक्ष्मी चौधरीले पनि मन्त्री र सचिव अनुपस्थित भएको विषय उठान गर्दै व्याग्यात्मक शैलीमा भनिन्, ‘माननीय पुर्व मन्त्री ज्यू, माननीय भविष्यका मन्त्री ज्यू,’

यसरी करिब २ घण्टा चलेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एजेण्डा भन्दा पनि बढी छलफल २ मन्त्री र २ सचिव उपस्थित नभएको विषयमा केन्द्रीत भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर