विद्युतको गुनासो लिएर रुपन्देहीका उद्योगी मन्त्रालयमा – Nepal Press

विद्युतको गुनासो लिएर रुपन्देहीका उद्योगी मन्त्रालयमा

रुपन्देही । विद्युत प्राधिकरणको गुनासो लिएर रुपन्देहीका उद्योगीहरु मन्त्रालय धाउन थालेका छन् ।

प्राधिकरणले एकलौटी ढंगबाट ट्रंक लाइन विलिङ्ग गरेको र २०७२ सालदेखिको वक्यौता बुझाउन ताकेता गरेपछि आफूहरु अन्यायमा परेको भन्दै रुपन्देहीका उद्योगी तालुकदार मन्त्रालयमा डेलिगेसन जान थालेको धेरै समय भयो ।

आफ्ना सदस्य उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही उद्योग संघको नेतृत्व र सम्बन्धित उद्योगीहरुको सहभागितामा एक टोली विभिन्न मन्त्रालय र सम्बन्धित निकायहरुमा डेलिगेसनमा गइरहेपनि समस्या समाधान भएको छैन ।

रुपन्देहीको बुटवल—भैरहवा क्षेत्रमा संचालनमा रहेका उद्योगहरुलाई नेपाल विद्युत प्राधिकरणले एकलौटी ढंगबाट ट्रंक लाइन विलिङ्ग गरेको र २०७२ सालदेखिको वक्यौता बुझाउन ताकेता गरेपछि आफूहरु पीडामा परेको पीडित उद्योगी चन्द्रमान श्रेष्ठले बताए ।

श्रेष्ठले रुपन्देहीका उद्योगहरुको समस्या देशका अन्य क्षेत्रका उद्योगहरुका भन्दा पृथक रहेको, ट्रंक लाइन जडानका लागि उद्योगीहरुले कुनै अनुरोध नगरेको र विगतमा लामो समयसम्म चरम लोडसेडिङ सहनुपरेको यथार्थ प्राधिकरणलाई जानकारी हुँदाहुँदै पनि एकलौटी ढंगबाट बक्यौता उठाउन खोजिनुले उद्योगीहरु निराश बनेको बताए ।

उनले देशका अन्य क्षेत्रका उद्योगीहरु र रुपन्देहीका उद्योगीहरुको प्रकृति फरक भएका कारण ट्रंक लाइन विलिङ्ग समस्या तत्काल समाधान गर्नुपर्नेमा तर्क गरेका छन् ।

रुपन्देही उद्योग संघले उद्योगीहरुको कुनै पनि निवेदन, माग र जानकारीविना नै प्राधिकरणले आफ्नै कारणले भार व्यवस्थापन गर्ने क्रममा ट्रंक लाइनमा परेको अध्यक्ष बाबुराम बोहोराले बताए ।

उनले कुनै उद्योगहरुमा ४ वर्षपछि र कुनैमा २ वर्षपछि एकमुष्ट रुपमा करोडौं रकम असुल्न पत्राचार गरिएको र यस्तो गतिविधिले रुपन्देहीको औद्योगिक वातावरण खल्बलिएको भन्दै सम्बन्धित मन्त्रालय र निकायहरुको ध्यानाकर्षण गराएको बताए ।

अध्यक्ष बोहोराले विगत लामो समयदेखि साधारण लाइन जडान गरी उद्योग संचालन गर्दै समयमै महसुल बुझाउनुका साथै रिबेट सुविधासमेत लिंदै आएका उद्योगहरुलाई एक्कासी एकलौटी ढंगबाट बक्यौता बुझाउन पत्राचार गरिनुले रुपन्देहीका उद्योगहरु अन्यायमा परेको र न्याय दिलाउन सम्बन्धित निकायहरुसँग विगत १५ महिना अघिदेखि पटकपटक अनुरोध गर्दा उद्योगीहरुको गुनासो सुनुवाई नगरिएको भन्दै यो समस्यालाई गम्भिरतापूर्वक समाधान गर्न माग गर्दै आएको बताए ।

टोलीले अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेल, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, डेडिकेटेड फिडर र ट्रंक लाइन बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिका संयोजक मिनेन्द्र रिजाल, विद्युत् नियमन आयोगका प्रवक्ता रामप्रसाद धिताल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग भेट गरी रुपन्देहीका उद्योगीहरुको वस्तुगत यथार्थबारे जानकारी गराएको बोहोराले बताए ।

भेटपश्चात् मन्त्रीहरु तथा सम्बन्धित निकायका प्रतिनिधिले रुपन्देहीका उद्योगीहरुले उठान गरेको विषयप्रति आफूहरु गम्भीर रहेको र समस्या समाधानका लागि पहल गर्ने आश्वासन प्राप्त भएको संघका महासचिव जीवकान्त काफ्लेले जानकारी दिए ।

डेलिगेसन टोलीमा उद्योगीहरु नवराज श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, डोलराज अधिकारी, सुमन भुसाल, विकास गोयनका, नरिश्वर पौडेल, लेखनाथ भट्टराई, चेतनारायण गौतम र भेषराज आचार्य सहभागिता रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर