कोरोना जोखिम बढेपछि कुश्माका विद्यालय बन्द – Nepal Press

कोरोना जोखिम बढेपछि कुश्माका विद्यालय बन्द

पोखरा । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका विद्यालय एकसाताका लागि बन्द गरिएका छन् । बिहीबार नगरपालिकामा सरोकारवाला निकायसँग भएको छलफलले बिहीबारदेखि १७ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निष्कर्ष निकालेको नगरपालिका उपप्रमुख सीता लामछिानेले जानकारी दिइन् ।

नगरपालिका जनप्रतिनिधि, सामुदायिक तथा निजी विद्यालय प्रतिनिधिबीच बिहीबार भएको छलफलले नगरक्षेत्रका सम्पूर्ण विद्यालयहरु एकहप्ता बन्द गर्ने निर्णय गरेको उपप्रमुख लामिछानेले बताइन् । ‘पछिल्ला तथ्यांकले विद्यार्थीहरु कोरोनाको उच्च जोखिममा देखिएका छन् । त्यही भएर पनि विद्यालय बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भनिन् ।

नगरपालिकाको उच्च ओहोदामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुधबार मात्रै नगरपालिकाको कार्यालय १० दिन बन्द गर्ने निर्णय भएको थियो । पर्वतमा पछिल्लो २४ घन्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा कुश्माका एकजना र जलजला गाउँपालिका २ जना छन् ।

पर्वतमा बिहीबारसम्म ४ सय १३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये ३ जनाको ज्यान गएको छ भने १४ जना सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *