कोरोनाका बीच २३ करोडभन्दा बढी राजस्व सङ्कलन – Nepal Press

कोरोनाका बीच २३ करोडभन्दा बढी राजस्व सङ्कलन

बिराटनगर । कोरोनाको प्रभावमा पनि आन्तरिक राजस्व कार्यालय विराटनगरले करिव २३ करोड बढी राजस्व संकलन गरको छ ।

कार्यालयले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको हो ।

२२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा एक अर्ब ३३ करोड १० लाख ९ हजार बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ ।

अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व सङ्कलनमा प्रगति भएको र विस्तारै अन्तःशुल्क वृद्धि हुने सङ्केत देखिएको कार्यालय प्रमुख सापकोटाले बताए । अन्तःशुल्क चालु आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक सङ्केत हो ।

कार्यालयले सो अवधिमा आयकरतर्फ दुई अर्ब ४३ करोड छ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ एक अर्ब ९१ करोड २७ लाख ३६ हजार सङ्कलन गरेको छ ।

सङ्कलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो ।

गएको वर्षमा सो अवधिमा आयकरमा ८६ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १०४ प्रतिशत र अन्तःशुल्कमा ४९ प्रतिशत मात्र प्रगति भएको थियो ।

विस्तारै अर्थतन्त्रमा आएको सुधार र आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा राजस्वमा सकारात्मक सङ्केत देखिएको प्रमुख सापकोटाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर