‘संक्रमण नियन्त्रणमा राज्य प्रभावकारी भएन, नागरिक जिम्मेवार बनौं’ – Nepal Press

‘संक्रमण नियन्त्रणमा राज्य प्रभावकारी भएन, नागरिक जिम्मेवार बनौं’

देशभर एकैपटक लकडाउन गर्नु जरुरी छैन, भारतबाट आउनेलाई कडाइ भएन’

काठमाडौं । विज्ञले कोभिड-१९ को नयाँ प्रजातिलाई फैलिन नदिन धेरै ढिला भैसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले समुदायस्तरमै भाइरस फैलिसकेको बताउँदै कडाइका साथ मापदण्ड कार्यान्वयन र अनुगमन गर्न पनि सुझाएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सरकारले लागू गरेका मापदण्ड कार्यान्वयन फितलो भएको बताउँदै परिस्थिति जटिलतातिर उन्मुख भएको बताए ।

‘मन्त्रीपरिषद्को निर्णय सकारात्मक छ । यो निर्णय केही पहिले गर्नुपर्ने थियो । समुदायमा फैलिइसकेपछि त्यस्तो निर्णय गर्नु निकै ढिला भयो’ उनले भने, ‘भारतबाट जहाज चढेर काठमाडौं आइसकेपछि ज्वरो आएर अस्पतालमा भर्ना भइरहनुभएको छ पजेटिभ भएका मान्छेहरु । भारतबाट आउनेलाई क्वारेन्टिनमा कडाइ पनि भएको छैन ।’

घरेलु उडानमार्फत मुलुकभर संक्रमण फैलिइरहेको र त्यसलाई कडाइ गर्नुपर्ने पनि उनले सुझाए ।

‘राज्य जहाँ प्रभावकारी छैन, त्यहाँ नागरिक सचेत नभइ उपाय नै छैन’ सुवेदीले भने, ‘आफू जोगिन र अरुलाई सर्न सक्ने भएकाले जोगिनुपर्‍यो । गैरजिम्मेवार हुनुभएन ।’

अस्पतालमा चापहरु धेरै हुँदै गए र आइसीयू पाइन छाड्ने परिस्थिती भए लकडाउनको विकल्प नभएको उनले बताए ।

‘लकडाउन गर्दा देशभर एकैपटक गर्नु जरुरी छैन । केही स्थानीय निकायले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था राम्रो गरेका हुन सक्छन् । यस्ता ठाउँमा महामारी बिना लकडाउन पनि नियन्त्रण हुन सक्ला’ उनले भने ।

संक्रमणको आँकडा र परिस्थिति अनि स्वास्थ्य उपलब्धता हेरेर मात्र लकडाउन गर्नुपर्ने उनको सुझाव छ ।

भाइरस संक्रमणको पिक समुदायमा भाइरस नियन्त्रणमा हुने काममा निर्भर हुने उनको भनाई छ । सरकारले आगामी नौ साता निकै जोखिमपूर्ण रहेको र जेठ-असार पिक हुनसक्ने बताइसकेको छ । स्वास्थ्यका मापदण्डलाइ अहिले नै कडाइ गरे संक्रमणको रफ्तार स्लो हुने उनले बताए ।

पहिलेको तुलनामा यूके भेरिएन्ट भाइरसले बढी संक्रमण तुल्याउने भएकाले बढी घातक भएको सुवेदीले बताए । ‘बढी फैलिँदा संक्रमण पनि बढ्छ’ उनी भन्छन्, ‘मृत्युदर बढी नभएपनि बढी संक्रमणशील हुँदा मृत्युदर पनि बढ्ने गर्छ ।’

बढी मान्छे संक्रमित हुँदा र स्वास्थ्य सुविधा उपलब्ध नहुँदा मृत्युदर बढ्ने उनको अनुमान छ ।

एकथरी भेरिएन्ट निको भएर पुनः संक्रमण देखिएको बताउँदै सुवेदीले भाइरसले स्वरुप परिवर्तन गरेसँगै नयाँ-नयाँ लहर वर्षौंसम्म रहन सक्ने विश्लेषण गरेका छन् ।

भियतनाम, ताइवान, अष्ट्रेलियाजस्ता मुलुकले लिएका मापदण्डलाई कार्यान्वयन गर्दा संक्रमण निर्मुल हुनसक्ने उनको सुझाव छ । ती मुलुकले बन्दाबन्दी बिनै भाइरसलाई नियन्त्रण गर्न सफल रहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर