मदननगरमा यस्तो बन्नेछ एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय – Nepal Press

मदननगरमा यस्तो बन्नेछ एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुस्थित आफ्नै पूरानो कार्यालय रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गरेका छन् ।

१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिए । नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो ।

रिमालका अनुसार २ महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण शुरु गरिनेछ । सामान्यतः दुई वर्षभित्र भवन निर्माण सकिने उनले बताए । अहिले करीव १३ रोपनी जग्गाको डिजाइन तयार पारिएको छ भने एमालेले कार्यालयको क्षेत्र विस्तार गर्ने योजना पनि बनाइरहेको छ ।

२०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो । आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सन्चालन हुने गरी उद्घाटन हुँदैछ ।

आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवश पनि हो । स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो । भवनको डिजाइन अन्तिम चरणमा पुगेको र पार्टीले आफ्नै कार्यकर्ताको लेबी र सहयोगमा भवन निर्माण गर्ने केन्द्रीय सदस्य सूर्य थापाले बताए ।

एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ ।

मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ ।

निर्माण लागत र निर्माण अवधिबारे भने अझै टुंगो लागिसकेको छैन । जतिसक्दो चाँडो भवन निर्माण गरि पार्टी कार्यालय सन्चालन हुने केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए । ढिलो दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको एमाले स्रोतले जनाएको छ ।

संयोग नै मान्नुपर्छ एमालेले आफ्नो पहिलो केन्द्रीय कार्यालय भवन तत्कालीन मनमोहन अधिकारी प्रधानमत्री रहेको पहिलो नौ महिने सरकारको पालामा निर्माण थालेको थियो । मनमोहन सरकारमा गृहमन्त्री रहेका ओली अध्यक्ष तथा प्रधानमन्त्री रहेकै बेला नयाँ कार्यालय भवन निर्माणको आरम्भ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर